त्रिशूली नदीमा माछा मार्न गएका एक जना चार दिनदेखि बेपत्ता
काठमाडौं । त्रिशूली नदीमा माछा मार्न गएका यहाँका एक व्यक्तिलाई चार दिन बितिसक्दा पनि घर नफर्किएपछि परिवारजन चिन्तित भएका छन् ।
आँबुखैरेनी गाउँपालिका–४ स्थित पूर्वबेँसी निवासी २३ वर्षीय चिरन गुरुङ घर नफर्किएपछि परिवारजन चिन्तित भएका हुन् । यही जेठ २३ गते साँझ ८ बजेको समयमा माछा मार्न भनी हिँडेका गुरुङ घर नफर्किएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।
गुरुङ घर नफर्किएपछि सोमबारदेखि आफन्तका साथमा खोजी गरे पनि भेट्टाउन नसकिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास थापाले जानकारी दिए।
वर्षायाम भएकाले नदीले बगायो कि भनेर खोजी गर्दै जाँदा नदी किनारमा निजले लगाएको चप्पल, कपडा, माछा मारेर राख्ने भाँडोलगायतका सामग्री भेटिएकोले बगाएको आशंका गरिएको उनले बताए ।
मुग्लिनबाट करिब पाँच किलोमिटर दूरीसम्म खोजी गरिए पनि फेला पार्न नसकिएको र मातहतका प्रहरी कार्यालयमा पनि यस विषयमा जानकारी गराइएको उनले बताए ।