घाेकाउने हाेइन सिकाउने शिक्षक बन्न चाहन्छु
सन् २०१६/१७ मेरो जीवनको अहिलेसम्मकै अप्ठेरो समय रहन गयो । जुनबेला मैले काम छोड्नुपरेको थियो, एक अंग्रेजी दैनिक पत्रिकाबाट । म त्यहाँ रिपोर्टर थिएँ । त्यहि साल मेरो बुबालाई मस्तिष्कघात भएर पक्षघात हुन गयो । त्यसको दुई महिनापछि आमाको मुटको शल्यक्रिया गर्नुपर्यो । र हुँदाहुँदा म मास्टर्सको पढाइमा फेल भएँ । धन्न पछि परीक्षा दिएँ र पढाइ पूरा गरे ।
यी सबै कुराहरुले एकै साथ दुःख दिइरहेको बेला थियो । जिन्दगीमा कसरी अगाडि बढ्ने, के गर्ने, कसरी बाँच्ने ? बुबा आमालाई अब के हुन्छ ? चिन्तै चिन्ताले डर झनै बढाउँथ्यो । म कामको खोजीमा थिएँ । त्यो बेला भएभरको जेसुकै कामको विज्ञापन आउँदा पनि फारम भर्थें । त्यहि शिलशिलामा मैले टिच फर नेपालमा पनि आवेदन दिएको थिएँ । धेरै ठाउँबाट म छनोट भएका खबरहरू आउन थालेका थिए । केही दिनको समय राखिएको हुन्थ्यो । त्यहीमध्येको एक थियो टिच फर नेपाल पनि । मसँग विकल्प थिए, अब के रोज्ने भन्नेमा । मेलै निकै विचार गरें ।
मिडियाको अनुभव भइसकेकाले अरु नै क्षेत्रमा जान मन लाग्यो । नयाँ अनुभव पनि सँगाल्नुपर्छ भन्ने सोच पनि आइराखेको थियो । मलाई लेख्न एकदमै मनपर्ने भएकाले लेखक बन्ने मन पनि थियो । जुन चाहना अहिले पनि छ र पछि पनि रहिरहनेछ ।
मैले सन् २०१३ तिर उपन्यास लेखेँ र छाप्ने सन्दर्भमा मणी शर्मा दाईलाई भेटेँ । उहाँले नेपाली भाषामा मात्र छाप्ने बताएपछि म घर फर्किएँ । र पाँच दिनमै नेपाली टाइप सिकेर एक हप्ताभित्र त्यसलाई नेपालीमा अनुवाद गरेँ ।
केही दिनपछि दाईसँग भेटेँ । काठमाडौंको गणेशथानमा चिया खाँदै हामीले गफ गर्यौं । त्यसक्रममा दाइले मलाई अहिल्यै लेखिनहाल्न बरु धेरैभन्दा धेरै पढ्न र सम्भव भएसम्म धेरै ठाउँमा घुम्न सुझाव दिनुभयो ।
मैले पढ्ने क्रम बढाएँ । नेपाली पुस्तकहरू किनेर सक्दो धेरै पढेँ । मलाई पढ्ने बानी लगाउनुमा उहाँको ठूलो हात छ । मैले टिच फर नेपालमा पनि उहाँलाई रिफरेन्स राखेर आवेदन दिएको थिएँ । म छनोट भएपछि जिल्ला छान्ने क्रममा पनि उहाँले सकेसम्म पहाडी जिल्लामा जान सुझाव दिनुभयो । त्यहाँ जाँदा धेरै कुरा थाहा पाइने र नयाँ नयाँ कथाहरु पाइने उहाँको भनाइ थियो । अर्को कुरा तराई त अरुबेला पनि जान सकिन्थ्यो । पहाड जान सोचेजस्तो सजिलो नहुने दाइको भनाइ थियो । वास्तविक कथाहरू भेट्ने अभिलाषा समेत बोकेर म सिन्धुपाल्चोकमा पढाउन जाने निर्णयमा पुगेँ ।
दुई वर्षसम्म मैले सिन्धुपाल्चोकको श्री तेर्से मावि तालामाराङमा पढाएँ । ती दुई वर्ष मेले जानेका कुरा त विद्यार्थीलाई बाँडे नै तर त्यसभन्दा धेरै मैले नै सिक्न पाएँ । काठमाडौंमै जन्मे/हुर्केको म काठमाडौं बाहिर भनेको जम्मा विरगञ्ज गएको थिएँ । धेरै कुरा केही नै थाहा थिएन मलाई ।
सिन्धुपाल्चोकमा मैले केही नयाँ खालका काम पनि गरें र विद्यार्थीलाई मसँगै सहभागी पनि गराएँ । मैले ‘विद्यालय क्यान्टीन’ शुरु गरेँ‚ जसमा विद्यार्थी आफैँले सामान किन्थे । आफैँ भाँडा ल्याउँथे । आफैँ दाउरा खोजेर ल्याउँथे, आफैँ परिकार बनाएर विद्यालयमा बेच्थे । नाफाको पैसा आपसमा बाँड्थे । विद्यालयमा क्यान्टीन शुरुवात भयो ।
मैले त्यहाँ दिनदिनै सिकेका र गरेका कुराहरुको भ्लगिङ्ग शुरु गरेँ । मेरो दैनिक जीवनको भिडिओ बनाएर युट्युब र फेसबुकमा अपलोड गर्थें । त्यसले विदेशीहरुको पनि ध्यान तानेछ । मेरो भिडिओ हेरेर सिगांपुरका नागरिक मेरा साथी भए र मलाई भेट्न सिन्धुपाल्चोकमै आए । हाम्रो विद्यालयमा लाइब्रेरी बनाइदिए । अमेरिकाबाट यता स्वयंसेवकका रुपमा काम गर्न आएकाहरुले पनि सँगै काम गर्न प्रस्ताव पनि राखे । हामीले सहकार्य गर्यौं ।
करिअर एक्सपोजर टाइपको पढाइ मलाई पहिलेदेखि नै चित्त बुझ्दैन थियो । विद्यालयमा प्रायः शिक्षकहरुले धेरै नम्बर ल्याउने र पाठ घोक्ने विद्यार्थीलाई मात्र ध्यान दिने र किताबी पढाइमा अलि कमजोर र औसत खालको विद्यार्थीमा शिक्षकको ध्यान कमैमात्र जाने गर्नाले त्यस्ता विद्यार्थी सधैँ पछाडिको पछाडि नै रहन्थे । मलाई यो कुरा फिटिक्कै मन पर्दैन थियो । म पनि एक औसत विद्यार्थीमात्र थिएँ विद्यालयमा ।
यसो हुनुमा ममात्र दोषी हुँ कि मेरा शिक्षकहरू पनि ? त्यो मलाई थाहा छैन । सन् २००७ मा पहिलो श्रेणीमै एसएलसी पास गरेँ । तर मलाई यो कुराले पिरोलिरहन्थ्यो कि कुनै न कुनै शिक्षकले ममा पनि कुनै उत्सुकता जगाइदिए, जिन्दगीको अर्को आयाम र पाटो देखाइदिए कस्तो हुन्थ्यो होला भन्ने लागिरहन्थ्यो । पढाइमा औसतमात्र भएपनि केही न केही बन्न सकिने भन्ने कुरामा प्रोत्साहन गरेको भए, अलिकति हौसला बढाइदिएको भए शायद जिन्दगीले आज अर्कै मोड पो लिएको हुन्थ्यो कि भन्ने सोचेरै मैले म शिक्षक बनेपछि त्यो कुरामा खुबै ध्यान पुर्याएँ ।
मैले मेरा सबै विद्यार्थीलाई बराबरी प्रोत्साहन गर्छु भन्ने अठोट लिएँ । र मैले नपाएको त्यो वातावरण म मेरा विद्यार्थीलाई उपलब्ध गराउँछु भनेर अगाडि बढेँ । एसएलसी दिएपछि मेरा विद्यार्थीलाई मैले उनीहरुको करियरलाई विचार गरेर विभिन्न ठाउँमा लैजाने र सम्बन्धित मानिसलाई भेटाइदिने योजना बनाएँ । मैले पढाउने विद्यालय दुर्गम भएकाले त्यहाँबाट सबैलाई भेट्न सम्भव थिएन । विद्यार्थी र अभिभावकले मात्र पनि त्यो पहल गर्न सम्भवै थिएन । मैले यसमा अग्रसरता लिएँ र प्रधानाध्यापकबाट अनुमति लिएँ । मैले मेरो एकजना अमेरिकी साथीलाई यसबारेमा सुनाएँ‚ उसले योजना मन परायो ।
मैले त्यस्ता ठाउँहरू खोजेँ‚ जहाँ मेरा विद्यार्थीले आफ्नो भविष्यको पढाइ र काम अर्थात् आफ्नो करियरबारे थाहा पाउन् र निर्णय गर्न सकुन् । धेरै ठाउँमा प्रस्ताव राखेँ । कतिपयले एकदमै राम्रो सहयोग गर्नुभयो भने कतिपयले भेट्न पनि मान्नुभएन । कतिपयले अनुमति दिनुभएन । मैले आइडिया सेयर गरेकामध्ये कतिपयले सहयोग पनि गर्नुभयो । कतिपयले हौसला दिनुभयो त कतिपयले यो पार लाग्दैन भनेर हतोत्साही पनि बनाउनुभयो ।
२०७६ को वैशाखमा ५० जना विद्यार्थीलाई काठमाडौंका १७ वटा ठाउँमा लिएर गएँ‚ जहाँ उनीहरुले ती कामहरूबारे विस्तृतमा जानकारी पाउँथे । त्यो पहिलो पटकको प्रयास सफल भएपछि त्यहि वर्षको भदौ र पुसमा ५०/५० गरी १०० जना विद्यार्थीलाई फेरि काठमाडौंमा लगेँ । गएको वर्ष अर्को तीनवटा ट्रिप गरियो । यो पाली हामीले सिन्धुपाल्चोक जिल्लाको ५ वटा विद्यालयका विद्यार्थीलाई लग्यौं । यो करिअर एक्सपोजर ट्रिपलाई धेरैजनाले मन पराउनुभयो र साथ दिनुभयो । ६ पटक गरेर ३०० जना विद्यार्थीले अवसर पाए । र केही कुरा सिक्न पाए । आ-आफ्नो क्षेत्रमा राम्रो काम गरिरहेका प्रभावशाली व्यक्तित्वहरुलाई उनीहरुले भेट्न पाए, उहाँहरुका कुरा सुने र प्रश्नहरु पनि सोध्न पाए । यसले धेरै नै कुरा सिक्न पाएको भनेर विद्यार्थी अभिभावक र शिक्षक साथीहरु पनि खुशी हुनुभयो । सबैको सहयोगले यो सम्भव भएको थियो । मलाई यसपछि धेरैजनाले अवसर दिने शिक्षक भनेर बोलाउँछन्‚ एकदमै खुसी लाग्छ ।
मेरो कामलाई मन पराएर इस्लिङ्टन कलेजका संस्थापक सुलभ बुढाथोकी सरले पाँचजना विद्यार्थीलाई जेभियर कलेजमा छात्रवृत्तिमा प्लस टूसम्म पढ्ने व्यवस्था गरिदिनुभयो । गेट कलेजका संस्थापक खेम लकाईं सरले ४० जना विद्यार्थीलाई आफ्नै कलेजमा छात्रवृत्ति मिलाइदिनुभएको थियो तर कोरोनाका कारण त्यसले सार्थकता पाउन सकेन । आशा छ कि आउने दिनमा उहाँले यस्ता अवसर फेरि पनि दिनुहुनेछ ।
म सिंगापुरका राष्ट्रपति ली क्युनबाट धेरै प्रभावित छु । उहाँको किताब फ्रम थर्ड वर्ल्ड टू फर्स्टले किनै प्रभाव पारेको छ । मलेसियाले छाडेको त्यस्तो गरिब क्षेत्रलाई ४० वर्षमा उनले कहाँ पुर्याए ? परिवर्तन त सम्भव रहेछ नि ! मलाई यस्ता कुराहरुले धेरै प्रेरणा दिन्छ । म यस्तै कुराहरू मेरा विद्यार्थीलाई पनि सुनाउने र देखाउने गरेको छु ।
यस्ता केही कुराहरू गर्न सक्दा अलि फरक प्रभाव पर्ने रहेछ । आखिर शिक्षक भनेको सिकाउने मान्छे हो । पुस्तकमा भएका कुरा पढाउने वा रटाउने र कण्ठ गरेको सुन्नेमात्र त होइन नि भन्ने मलाई लाग्छ । म यसैअनुसार अघि बढिरहेको छु ।
सिन्धुपाल्चोकको तालमाराङ्गमा हुँदा त्यहाँका प्रधानाध्यापक र शिक्षकहरू, विद्यालय व्यवस्थापन समिति र अभिभावकहरू सबैको सहयोग पाएको थिएँ । विद्यार्थीहरू पनि उस्तै मेहनती र उत्सुक थिए । म सधैं उनीहरुलाई सम्झिरहेको हुन्छु ।
सिन्धुपाल्चोकको बसाइ सकिएपछि अहिले फेरि म पढाउन/सिकाउन माथिल्लो डोल्पाेको कृस्टल माउन्टेन विद्यालयमा पुगेको छु । यता आएको दुई महिना भयो ।
यसक्रममा मैले पढाउने वा सिकाउनेभन्दा पनि धेरै सिक्ने अवसर पाइरहेको छु । यसबारेमा मैले मकालुखबरमा एउटा ब्लग लेखेको थिएँ । त्यो पढेर पनि धेरैजनाले मलाई हौसला दिनुभयो । यसले म झनै प्रोत्साहित भएको छु ।
यहाँका विद्यार्थीलाई पनि त्यस्तै अवसर दिने चाहना छ । मैले उनीहरुलाई त्यो पुरानो करिअर इक्स्पो ट्रिपको भिडिओहरू देखाएँ । उनीहरू खुसी भएका छन् र उत्साही पनि । उत्सुक हुनु विद्यार्थीको राम्रो गुण हो । कुनै पनि कुरामा जब मानिस उत्सुक हुन्छ तब मात्र उसले सिक्न सक्छ र मनैदेखि मन लगाएर सिकेको कुरामात्रै उसको दिमागमा रहिरहने हो ।
पुरै नेपालभरका विद्यार्थीलाई यस्ता अवसरहरू उपलब्ध गराउन सके केही हुने थियो भन्ने लाग्छ । शैक्षिक भ्रमणहरुलाई अझ प्रभावकारी बनाउन नसकिएको जस्तो लाग्छ । कतै जाने घुम्ने र रमाउनेमात्र होइन‚ सिक्ने कुरामा पनि जोड दिन जरुरी छ ।
प्रभावशाली व्यक्तित्वहरुका कुराकानी सुन्दा‚ उनीहरुका प्रेरणा सुन्दा विद्यार्थीको दिमागमा गहिरो छाप पर्न सक्छ । यस्ता अवसर, हौसला र प्रेरणा पाए भने जस्तोसुकै विद्यार्थीलाई पनि हौसला मिल्छ । जिन्दगीमा केही न केही गर्न सक्छ । मलाई कुनै पनि विद्यार्थी कमजोर हुन्छ भन्ने लाग्दैन । सबै विद्यार्थीमा केही न केही प्रतिभा लुकेकै हुन्छ । त्यसलाई पहिल्याउन सके र त्योअनुसार उसलाई गाइड गर्न सके जस्तोसुकै विद्यार्थी पनि चमत्कार गर्न सक्छ भन्ने कुरामा विश्वास गर्छु म । यसका लागि उनीहरुलाई केवल हौसला र अवसर आवश्यक पर्छ र त्यो हामी शिक्षकले, अभिभावकले दिन सक्छौं ।
मलाई सधैंभरी शिक्षा क्षेत्रमा लाग्न मन छ । केही योजनाहरु पनि छन् । विद्यार्थीलाई नै प्रशिक्षण दिएर उनीहरुलाई नै शिक्षक बन्न लगाउने । अवसरहरू प्रदान गर्ने । उनीहरुको रुची थाहा पाउने र त्यसका लागि कहाँ जाने, कसलाई भेट्ने, के गर्ने भन्ने खालका कुरामा सहजीकरण गरिदिने । सबैलाई डाक्टर वा पाइलट वा इन्जिनियर बन्ने सपना देख्न बाध्य नबनाउने । आफ्ना सपनाहरू उनीहरुमाथि नलाँद्ने । स्वतन्त्र रुपमा छोडिदिने ।
कोही शिक्षक बनून्‚ त कोही व्यवसायी । कोही प्रहरी बनून् त कोही मिडियातिर लागुन् । कोही चलचित्रतिर जाउन् त कोही खेल क्षेत्रमा आफूलाई चिनाउन् । आफूलाई मन लागेको क्षेत्रमा लागून् । हामी उनीहरुलाई सहयोग गरिरहन पाऊँ‚ अनि पो एउटा शिक्षक पनि शिक्षकजस्तो हुन पाउँथ्यो होला त ।
मलाई पढाउने वा रटाउने‚ सोध्ने अनि नजाने ठटाउने खालको होइन‚ सिकाउने खालको शिक्षक बन्न मन छ । के सकौँला र ?
शिक्षा भनेको व्यवहारिक र जीवन भर काम लाग्ने हुन पर्छ घोकन्ते हैन, जिवनपरक हुन पर्छ ।
हुनत म पनि पेशाले एक शिक्षिका हुँ। लामो अनुभव त छैन मेरो तर सोच भने सधैँ विधार्थीको चाहाना लाई बुझि सोहि अनुसारको वातावरण बनाईदिने कोशिस गरिरहेको छु।हजुरको कुरा अनि अनुभव लाई सुनिरहदा असम्भावनाको मात्रा कम हुदै गएको र आफ्नो काम प्रति अझ सकरात्मक हुने उर्जा मिलिरहेको महसुस भइरहेको छ। आगामि दिनहरुमा पनि यस्तै कामहरुको अपेक्षा राख्दै कृस्टल माउन्टेन विद्यालयको अर्को अनुभव बाड्नुहुनेछ भन्ने कुरामा मा बिश्वास्त छु।