यो जन्जिरबाट बाहिर निस्कनैपर्छ
नीति कथामा कतै पढेको थिएँ- एक जना प्रसिद्द कलिगढ थियो, जसको काम थियो जन्जिरहरुको निर्माण गर्नु । किनभने राजाले उसलाई लागएको काम थियो त्यो । उसको पहिचान के थियो भने ऊ संसारका अरु सबै कालिगढले बनाएका जन्जिर खोलिदिन्थ्यो तर उसले बनाएको जन्जिर कसैले पनि खोल्न सक्दैनथ्यो । त्यसकारण उनको ठूलो ख्याती र चर्चा थियो ।
एकदिन उनको गाउँमा दुस्मनले आक्रमण गरे । उलगायत सबै गाउँलेलाई पराजित गरी जन्जिरले बाँध्न थाले | सबै गाउँले रुवाबासी गरिरहँदा कलिगढ मुसुमुसु हाँसिरहेको थियो । त्यो देखेर कतिपय गाउँले ऊसँग रिसाए पनि । तर, ऊ ढुक्क थियो कि ‘म आखिर यी जन्जिरहरु खोलिहाल्छु ।’ शत्रुले, बाँधिएका सबैलाई एकान्त जंगलमा छाडेर गए ।
जब गाउँलेले भने अघि त तिमी हाँसिरहेका थियौ, ल ! अब हामीलाई जन्जिर खोलेर मुक्त गर । कालिगढ जन्जिर खोल्न लाग्यो । तर लगत्तै ऊ जन्जिर खोल्न छाडेर डाँको छोडेर रुन थाल्यो । गाउँलेले सोधे किन रुन्छौ ? छिटो हामीलाई मुक्त गर । जंगली जनावारले हामीलाई खानुअघि नै जन्जिरबाट मुक्त गर । तब कालिगडले उत्तर दिएछ, ‘मलाई माफ गर साथीहरु म अरु कसैले बनाएको जन्जिर भए सजिलै खोल्न सक्थेँ तर यो त मैले नै बनाएको जन्जिर पो रहेछ । यसलाई बनाउन त मैले बनाएँ तर खोल्न भने म सक्दिनँ ।’
केपी ओली व्यक्तिमात्र होइन, प्रवृत्ति पनि हो । जसले भक्तहरुको ठूलो झुण्ड निर्माण गर्ने महाअभियान नै संचालन गरिरहेका छन् र धमाधम उत्पादन भइरहेका छन् भक्तहरू ।
नेपाली राजनीतिका कालिगड प्रचण्डलाई भनिदिनुस् र विचार गर्नुस् अहिले आफैँले निर्माण गरेको जन्जिरमा बाँधिन विवश एक पात्र ।
नीति कथाको कालिगढ त्यो जन्जिरबाट निस्कियो, उम्कियो, वा त्यतिकै सकियो कुनै अत्तोपत्तो छैन तर हाम्रो राजनीतिका कालिगढ जन्जिरबाट उम्किए हुने थियो । यो व्यक्ति विशेषको माया, अनुग्रह वा मोह होइन, किनभने हाल जकडिएको राजनीतिक प्रश्नको जवाफ प्रचण्डले दिनुपर्छ, आखिर उनले किन यस्तो जन्जिर निर्माण गरे ?
हामीलाई राम्रैसँग थाहा छ कि केपी ओलीलाई गणतन्त्र, धर्म निरपेक्षता, संघीयता, समानुपातिक र समावेशिता केही मन पर्दैन तर, अहिले उनी कहाँ छन् ? दुनियाँ जान्दछ । उनलाई त्यहाँ गोरुगाडामा सवार गराएर पुर्याउने को हो ? जसले संविधान मान्दैन, कानुन मान्दैन, उसलाई हामीले मानिरहनुपर्ने यो नियतिमा कसले पुर्यायो ?
हुँदा-हुँदा संविधानका धाराहरुलाई हठात मिच्दै, कुल्चिँदै गणतन्त्र र संविधानको हुर्मत लिने कार्यमा ओली आफू त लागे नै सँगसँगै राष्ट्रपतिजस्तो गरिमामय पदमा बस्ने श्रीमती विद्यादेवी भण्डारीलाई पनि यसमा समावेश गराए । उनी पनि ओलीको कदममा कदम मिलाउँदै छम्छम् नाचिरहिन्, उदाहरण: राष्ट्रपतिले प्रधानमन्त्रीलाई सपथ गराएको त्यो दृष्य काफी छैन र ?
यति निर्लज्ज रुपमा राज्य शक्तिको चरम दुरुपयोग र मनोमानी नेपाली इतिहासमा शायदै कसैले गरे होलान् ?
केपी ओली व्यक्तिमात्र होइन, प्रवृत्ति पनि हो । उनले नेपाली समाजलाई र राजनीतिलाई आफ्नो प्रवृत्तिमा ढाल्दै लगिरहेका छन् । जसले भक्तहरुको ठूलो झुण्ड निर्माण गर्ने महाअभियान नै संचालन गरिरहेका छन् र धमाधम उत्पादन भइरहेका छन् भक्तहरू । अरु त अरु, ओलीको पदमार्ग पच्छ्याउनेहरुको नैतिकता र विवेक सबै कसरी बन्धकीमा बस्छ भन्ने राम्रो दृष्टान्त त सुवास नेम्वाङ्ग र प्रदीप ज्ञवालीलाई नै हेरे पनि पुग्छ | हिजोसम्म वैचारिक राजनीतिक र इमान्दार छवि बनाएर आएका नेताहरू कसरी ओलीको लाचार छायाँमा रुपान्तरण भए यो युग जान्दछ ।
हुन त पक्ष र प्रतिपक्षी कसैले पनि जनअपेक्षाअनुरुप काम गर्न सकेनन् । यतिमात्र नभएर अपराधिक कर्ममा लीन भए । आफ्नो र आफ्नो झुण्डको स्वार्थका लागि, कुर्सी रक्षाका लागि सत्ताका मठाधिशहरुले बलात्कार र हत्याजस्ता घटनालाई सामान्य घटनाको उपमा दिँदा सुन्नसमेत नसकेर लोकको नै कान झस्किएको हुनुपर्छ ।
सबै घटनाहरुको बेलिबिस्तार लगाउँदै जाँदा लामै फेहरिस्त बन्न जान्छ । तर दुनिया जान्दछ कि काण्डै काण्डले घेरिएको सरकारले संविधान र कानुनलाई मान्न सामान्य कर्मकाण्ड पनि पुरा गरेन । कामचलाउ सरकारले गर्नु/नगर्नु गरिरहेको टुलुटुलु हेरेर दुनियाँ सुस्केरा काडिरहेको छ ।
प्रतिनिधिसभाको पुन: विघटन गर्न पुगेका ओली-राष्ट्रपति गठबन्धनले केमात्र गरेन ?
१२ बजे राति राष्ट्रपति भवनमा चियापान आयोजना, राति १ बजेसम्म राष्ट्रपति कार्यालय खुला र विज्ञप्ति जारी, मन्त्री नियुक्ति कुन धाराअन्तर्गत भएको भन्न नसक्ने अवस्था, गम्भीर विषयमा परामर्श र परख होइन मनलाग्दी निर्णय अनि यस्तो किन गरिएको भनेर सोध्दा मानमर्दन भएको जिकीर ? राष्ट्रपतिमाथिको नैतिक प्रश्नलाई झनै पेचिलो बनाउने यी कदमहरुबारे इतिहास लेखिने नै छ ।
भन्नलाई जे भनियोस् तर, नेपाल संघीय लोकतान्त्रिक गणतान्त्रिक मुलुक भइसकेपछि त्यो गणतन्त्र नागरिकको जीवनमा कसरी अनुवाद भयो ? विद्यालय, अस्पताल, खेतबारी, गोठ, पँधेरी, बाटो वा दोबाटोमा गणतन्त्रले आफ्नो कस्तो अनुहार देखायो ? यो प्रश्नको जवाफ कसैले दिन सकेन ।
हामीलाई राम्रैसँग थाहा छ कि केपी ओलीलाई गणतन्त्र, धर्म निरपेक्षता, संघीयता, समानुपातिक र समावेशिता केही मन पर्दैन तर, अहिले उनी कहाँ छन् ? दुनियाँ जान्दछ । उनलाई त्यहाँ गोरुगाडामा सवार गराएर पुर्याउने को हो ? जसले संविधान मान्दैन, कानुन मान्दैन, उसलाई हामीले मानिरहनुपर्ने यो नियतिमा कसले पुर्यायो ?
चुट्किला, उखान र मजाक वा दाबी वा चेतावनी वा यस्तै अरु केहीभन्दा बढी कसैले दिन सकेनन् । जबकी रुपान्तरित राज्य व्यवस्थाले सामाजिक अन्तरविरोधहरुको हल गर्न सकेन र जनताको दैनिक जीवनसँग त्यो जोडिएन भने त्यसको अन्त्यका लागि धेरै समय कुरिबस्नु पर्दैन । राज्यले जतिसुकै नयाँ बन्दुकसहितका सैनिकलाई टुँडिखेलमा उफारे पनि जब अत्याचारले सीमा नाघ्छ, त्यसपछि केहीले पनि काम गर्दैनन् । एक थान संविधान नामको चिर्कटो नेपाली जनताको अगाडि मिल्काएर गणतन्त्रको जिम्मेवारी पूरा हुँदैनथ्यो र भएन पनि । बरु त्यसले कम्युनिस्ट आवरणमा सत्तारोहण गर्न पुगेका ओलीले नै उनी कम्युनिस्ट हुन् कि हिन्दु अहंकारी ब्राह्मणवादी भन्ने पेचिला प्रश्नहरु जन्माउदै लगिरहेका छन् ।
राज्यको प्राथमिकता ठोरीमा रामको सालनाल खोज्ने हो कि चेपाङ बस्तीमा कुपोषित बालबालिकाका लागि खाद्यान्न ? पशुपतिमा स्वर्ण झल्लर टक्र्याउने हो कि कोभिडविरुद्द लडिरहेका नागरिकको जीवन रक्षा ?
तपाईं कताबाट सोच्नु हुन्छ ? के मेरो राज्यले मलाई घरभित्र थुनेर भोकै मर भनिरहँदा म डिजिटल पर्दामा राष्ट्रपतिले खर्कुंडामा धारो खोलेर मेलम्चीको पानी उद्घाटन गरेको दृश्य हेरेर थपडी बजाउन सक्छु ? तपाईं सक्नुहुन्छ ? धरहराको टुप्पोबाट प्रधानमन्त्रीले देश हेर्दा म धरहराको फेदमा बलात्कृत भएर ताली बजाउन सक्छु ? यी प्रश्नहरुको उत्तर फेरि पनि वा राजनेता, राष्ट्रवाद, समृद्धि वा निर्वाचन हुन सक्दैनन् ।
छिमेकी भारतका हिन्दु अहंकारवादी प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो परिवार नभएकाले कसैका लागि सम्पत्ति जम्मा गर्नुपर्ने बाध्यता नरेहेको र भ्रष्ट्राचार नगर्ने बताएलगत्तै आवरणमा फरक तर अन्तर्यमा उस्तै मत राख्ने ओलीको भनाइ पनि उस्तैगरी आयो । मेरो को छ र सम्पति जम्मा गर्ने ? यसले निर्माण गर्न खोजेको भाष्य के हो ?
महिलाप्रतिको, सन्तानप्रतिको धारणा के हो ? दुर्भाग्य हाम्रा महिला अधिकारकर्मी यसबारे मौन रहे । हुन त एनजीओ शैलीका अधिकारकर्मीहरुको जिम्मामा मानव अधिकार कैद भएको वर्षौं बितिसकेको छ ।
त्यागी र आफ्ना सन्तान नभएको योग्यता देखाएर प्रधानमन्त्रीले भ्रष्टाचार नहुने हुंकार गरिरहँदा उनका मानस पुत्र बाँस्कोटाहरू करोडौंको कमिसन डिल गर्दै थिए । त्यही अडिओ टेपमा राष्ट्रसेवक मानिने कर्मचारीमाथि प्रयोग गरेको शब्दले कोहि ‘राष्ट्रसेवक’लाई झस्काएन । उनीहरुको मौनताले देखाउँछ कि हाम्रो कर्मचारीतन्त्र कति दास, लम्पट र निकम्मा, भइसकेको छ भन्ने ।
घटनाविशेषलाई लिएर आलोचना वा विश्लेषण गर्नुभन्दा पनि केपी ओलीको भनाइ र गराइको बिचमा कतै पनि तालमेल छैन । अझै दुःखको कुरा, अन्य नेताहरू पनि उनीभन्दा फरक र भिन्न हुन सकेनन् कम-बढीमात्र भए ।
नेपाली राजनीतिलाई नयाँ गति र प्राण हाल्ने हो भने हालसम्मका उपलब्धिलाई संस्थागत गर्ने हो भने यो सिन्डिकेटिभ चंगुलबाट राजनीतिलाई बाहिर निकाल्नुको विकल्प छैन ।
नेपाली राजनीतिलाई नयाँ गति र प्राण हाल्ने हो भने हालसम्मका उपलब्धिलाई संस्थागत गर्ने हो भने यो सिन्डिकेटिभ चंगुलबाट राजनीतिलाई बाहिर निकाल्नुको विकल्प छैन । तर यो सजिलो पनि छैन । यस पछाडिका धेरै सबैभन्दा डरलाग्दो वास्विकता के हो भने हरेक पार्टीभित्रका मठाधीशहरुको निर्माण गरेको अराजनीतिक भक्तहरुको विशाल झुण्ड, जो आवरणमा पार्टी कार्यकर्ता देखिएपनि अन्तर्यमा दास मनोवृत्तिबाट नराम्रोसँग ग्रसित छन् ।
कोरोना महामारीबाट भयभित समाजलाई घरभित्र थुनिन बाध्य बनाएर गरिएका औपचारिक अपराधको शृंखला धेरै लामो छ । निरन्तर झुट-झुट र फेरि झुटको पुलिन्दा पस्किन सिपालु र तल्लीन सरकारी वकपत्रले नेपाली समाजको आर्थिक, सामाजिक, राजनीतिक, अन्तरविरोधलाई जस्ताको त्यस्तै राखेर कस्तो खालको समृद्ध नेपाल सुखी नेपाली निर्माण गर्छ ? यो प्रश्नबाट निरन्तर भागिरहने राजनीतिले दलाल पूँजिवादको पन्जाबाट आफूलाई किमार्थ बाहिर निकाल्न सक्दैन । यो यथार्थ जग जाहेर हुँदा हुँदै पनि दुनियाको आँखामा छारो हाल्नका लागि सार्वजनिक खपतका लागि चर्चित नारा लगाउने प्रपञ्च अझै केहि समय चलिरहनेछ ।
अन्त्यमा, परिवर्तनका खुंखार विरोधी पात्र केपी ओलीलाई अगाडि लगाएर सिन्दुर यात्रा गर्दै बालुवाटारमा पदासीन गराउन लैबरी गाउँदै हिँडेका नेकपाका विचार शून्य झुण्डलाई अहिलेको ओली जयजयकार जत्तिकै प्रिय लागेपनि यो झनै सेलाएर जानेछ र अलिकति पनि अलोचनात्मक राजनीतिक चेत बोकेका तमाम युवाहरुले फेरि एकपटक राजनीतिक प्रणालीमाथि निर्मम बहस गर्नेछन् र समाजको गति जहिल्यै अगाडि जानेछ ।
आफैँद्वारा निर्मित जन्जिरले बाँधिएका राजनीतिक कालिगढहरू आफैँ उम्कन नसकिने राजनीतिको माखेसाङ्लो बुन्नुअघि हजारपटक सोच्नेछन् अन्यथा समय व्यतित हुँदैमा बुद्धी पलाउँछ भन्नु मुर्खतासिवाय केहि होइन, हुने छैन ।