सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ ।
यही जेठ २७ गते प्रशेदसभा बैठकमा प्रदेश प्रमुख गंगाप्रसाद यादवले पेश गरेको नीति तथा कार्यक्रम आइतबार बहुमतले पारित भएको हो । सभामा निर्णयार्थ पेश भएको वार्षिक नीति तथा कार्यक्रमको पक्षमा बहुमत देखिएपछि सभामुख अर्जन थापाले आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे ।
प्रदेश सरकारको नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मौन समर्थन जनाएको थियो । नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्नुअघि मुख्यमन्त्री त्रिलोचन भट्टले छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिएका थिए ।
यसअघि आइतबार बिहान एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो । सुदूरपश्चिम प्रदेशमा एमाले माधव नेपाल पक्ष र माओवादी केन्द्रको संयुक्त सरकार छ ।
नीति तथा कार्यक्रम पारित भएसँगै प्रदेश सरकारलाई आगामी आर्थिक वर्षको बजेट ल्याउने बाटो खुला भएको छ ।
प्रदेश सरकाले आगामी असार १ गते मंगलबार दिउँसो ४ बजे प्रदेश सरकारको आगामी आर्थिक वर्षको २०७८/७९ को राजस्व र व्ययको वार्षिक अनुमान सभासमक्ष प्रस्तुत गर्ने सभामुखले घोषणा गरे ।