कसारजस्ताे साह्राे छैन असार
प्यारी लिली,
झरीले मकैको पातमा संगीत भरिरहँदा जीवन र जगतका रील घुमेझैं भइरहेको छ । तप् तप् पानीको बाछिटा संगीतको सारेगम भन्दा कम छैन । असार मानो रोपेर मुरीको सपनामा बाँच्ने महिना हो । अर्को भाषामा भन्दा सिर्जना हो असार । ए साँच्ची तिमीलाई म संगीतको कुरा भन्दै थिएँ । हाम्रा इतिहास पुरुष जंगबहादुर तिमीहरुकी महारानी भिक्टोरियाको निम्तोमा बेलायत गएका थिए । उनले दैनिक पूजाआजा गर्न पिपल र गाईसंगै लगेका थिए भन्ने सुन्दा तिमीलाई अनौठो लाग्ला । हो, जीवनलाई अनुशासनमा अनुवाद गर्नेहरु यस्तै कठिन ब्रतमा विश्वास गर्छन् ।
अंग्रेजी नबुझ्ने जंगबहादुरलाई महारानीले अंग्रेजी गीत बजाएर भोज ख्वाइछन् । गीत सुनेर जंगबहादुर पनि मच्ची मच्ची नाचेछन् । यो देखेर सवैलाई आश्चर्य लागेछ । अनि तत्काल सोधिएछ- ‘अंग्रेजी नबुझ्ने तपाईं कति न बुझे नै जसरी किन मच्ची मच्ची नाच्नुहुन्छ ?’ जंगबहादुरको चलाख प्रतिप्रश्न थियो- ‘तपाईं चराले बोलेको बुझ्नुहुन्छ ?’ अहँ । तर तपाईंलाई चराको आवाज त मिठो लाग्छ नि हैन ? हो, मलाई नबुझेकै संगीतले पनि आनन्द दिएको छ । पढेका मूर्खहरुले यस्तो चलाखी जवाफ देलान त लिली ? इतिहासको पोको पनि विचित्र छ है ! कति इतिहास कहालीलाग्दा हुन्छन् भने कति चार्लिन च्याप्लिनको सिनेमा हेरे जस्तो । हामी यतिबेला झरीको रौसमा छौं । हिलोको व्याकरणमा रोपोको गीत गाउनेहरुको रहर आफैमा विचित्र छ । हो, हामी प्रकृतिका पूजक हौं । माटोमा यज्ञ गर्नु धर्म, कर्म दुवै हो । प्रकृतिका दुई उत्सव गर्मी र जाडो हाम्रा लागि उस्तै छ । हो, ज्ञानी मान्छेले प्रकृतिका यी सुन्दर उपहारलाई समान रुपमा लिनुपर्छ रे !
रातोमा भन्नु त्यो गेरु माटो पहेँलो बेसार
पूर्वको ढोका उघारी हेर्दा लागेछ असार
असारलाई कुटेको चिउरा कति दिन साँचुला
सौताको हात दुई कुड्की भात म कति बाँचुला ?
असारको माटोमा हाम्रो संगीत यसरी पोखिन्छ । आजभोलिको समय वर्षाको समय । गर्मीले उकुसमुकुस भएको वातावरणमा पानीका छिटाहरु यसरी बर्सदैछन, मानौं त्यहाँ जीवन बर्सिरहेको छ । आलसतालस बिरामीलाई सलाईन चढाएर नयाँ स्फूर्ति दिएजस्तै । प्रकृति तिर्खाएको छ । मान्छेहरु पनि तिर्खाएका छन् । तृष्णै तृष्णाले गाँजिएको छ समय । राजनीति तातेको छ । घटनाक्रमहरु तातो पोलाई बनेका छन । गणतन्त्रदेखि गणतन्त्र नै हायलकायल छ । आस्थाका बगैंचाहरुमा खडेरी पर्न थालेको छ । सबै सबैतिर एउटा अतृप्त तिर्खा दिनदिनै बढिरहेको छ । र, यो बेला तप्लक तप्लक खसिरहेका शितल छिटाहरु पानी मात्र नभएर संजीवनी जस्ता लागिरहेका छन् । खडेरीमा राहत बनेको छ वर्षा । रोपाइँ गर्न कस्सिएका रोपाहार र बाउसेहरुलाई मात्र हैन, सवैलाई एउटा उत्साह र आशा बनेको छ वर्षा । र, पानीको दर्केनीले कतै टाढा पुगेको आफ्नो मान्छेको सम्झनालाई अझ ताजा र जीवन्त बनाएको छ ।
काटेर खानु सुपारी दाना बेल खानु फोरेर
हाँस खेल गर ए कान्छी नानी के लान्छ्यौ मरेर
कतिमा जाती खेतका मालिक मुहार हँसिलो
बोली र बचन त्यस्तै छ मिठो जिउडाल कसिलो ।
असार यसको नामजस्तो निस्सार र खोक्रो छैन । सारपूर्ण छ । नत्र असार दही चिउरा खाने पर्वका रुपमा स्थापित हुने थिएन । असार रसपूर्ण पनि छ । खेतको हिलोमा घुँडा घुँडासम्म चोपलिँदै असारेको भाका तन्काउनेहरु सहनाई, ट्याम्को, दमाहा, नरसिंहा र ढोलकहरुको तालमा बेठी लगाउँदै अन्न अनुष्ठानको शुभारम्भ गर्नेहरुलाई सोध त, असार कति आल्हादपूर्ण छ ? झम्झम् पानी परिरहेका बेला एक्लै घोत्लियौ भने रोमाञ्चक भावनाहरु आउँछन् । तिमीलाई केही लेखौं लेखौं लाग्नेछ । ठोकेर भन्छु- थाहै नपाई तिमी गुन्गुनाउन थाल्नेछ्यौ । र पानीको दरर्र आवाजसंगै कविता जन्मन्छन् । गीत कोरलिन्छन् । हार्मोनियममा सारेगमको छन्द ओल्टाइपल्टाई गर्दागर्दै एउटा नयाँ धून निस्कन्छ । क्यान्भासमा रंगीन कुचिहरुको नृत्य शुरु हुन्छ । अनि, तिमी आफ्नो सिर्जनादेखि आफै फुरुङ्ग पछ्र्यौ ।
वर्षा प्रकृतिको जीवनदायिनी उपहार पनि हो । मेघमालाहरु प्रेम र स्नेहका खानी पनि हुन् । लाग्छ, आकास र बादलका गुत्थीहरु आँखा र आँखाका नानीहरु हुन् । र, वर्षा बादलकी रानीले बर्साएको हर्षाश्रु हो । झरी उनै रानीको गीत गुञ्जन हो । कहिलेकाहीँ झडङ्ग रिसाउँदा त्यही गीत मुसलधारे वर्षा बनेर ओइरिन्छ । तर, चोखो र स्नेहपूर्ण छ बादलको अनुकम्पा । असार हरेक वर्ष त्यो आशिर्वाद लिएर आउँछ । कहिले गीत बनेर आउँछ । कहिले संगीत बनेर आउँछ । जब झम्झम् झरीसंगै धर्तीका पाटा पाटा भिज्न थाल्छन् अनि मानो रोपेर मुरी फलाउनेहरुको खेतका आलीआलीमा मार्चपास शुरु हुन्छ । असार प्रकृतिको भाषा हो । प्रकृतिको अनुकम्पा बुझाउने भाका पनि हो । अनुहारको भावभंगिमा जस्तै, आँखाको भाकाजस्तै निधारको खुम्चाई र ओठको चाल जस्तै ।
असारले त्यस्तै अनुभूतिजन्य थुप्रै भाकाहरु बोकेको छ । तिमी आँखाको भाका कतिको बुझछ्यौ कुन्नि ? एक्लै हुँदा मन खोलेर बोल्ने ती प्रिय मान्छेहरु समूह वा अरुका अघिल्तिर बोल्न हिच्किचाइरहेका हुन्छन् । त्यतिखेर नियालेर आँखामा हेर त्यहाँ थुप्रै अभिव्यक्तिहरु पाउँछ्यौ । आँखाले प्रश्न गर्छ । जवाफ दिन्छ । र, आँखाको जिज्ञासाले अधैर्य बनाउँछ मान्छेलाई । धेरैजसो मनको भाका आँखाले नै प्रकट गर्छ । चाहनालाई अठोटका रुपमा रुपान्तरित गर्ने मन, रुचि र छनोटलाई उद्देश्य र संकल्प बनाउने मन । त्यो पनि आँखाबाटै बोलिरहेको हुनसक्छ । त्यस्तै आँखा हो असार । त्यो आँखा मान्छेको आँखाजस्तै भावपूर्ण बनोस् । असार इन्द्रेणीजस्तै बनोस् । इन्द्रेणी असारजस्तै बनोस् । ऊ नजिकै कतै पियानो बजिरहेको छ। असार पियानाको धून र मनको आवाजजस्तै सुस्वादिलो बनोस् । पियानोको कर्णप्रिय धूनले पारखीले लठ्याएजस्तै असार सुरुचिपूर्ण बनोस् ।
तिमीलाई माया गर्ने…