घरको रोटी खाएर डाक्टर बन्ने सपना पूरा हुँदैछ
म नेपालकै दुर्गम जिल्ला जुम्लामा जन्मिएँ । मेडिकल डाक्टर बनौंँला भन्ने सोचेकै थिइनँ । जुम्लामा जन्मेर त्यो सपना देख्नु शायद नाजायजजस्तै थियो । तर पढ्दै जाँदा डाक्टर बन्ने कोशिस गरिहेरौँ न भन्ने भयो । परीक्षा दिएँ‚ धरानमा गएर छात्रवृत्तिमा पढ्न पाएँ । धरानमा पढाइ सकेर म मेरै जुम्लामा काम गर्छु भनेर फर्किएँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आबद्ध भएँ र काम गर्न थालेको तीन वर्ष भयो ।
यसपटकदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिकल पढ्न विद्यार्थीलाई २० सिट छुट्याउने निर्णय भएको छ । यो एकदमै खुसीको कुरा हो । तर यो प्राप्त गर्न प्रतिष्ठानले स्थापनाकालदेखि अथक प्रयास र ठूलो संघर्ष गर्नुपरेको थियो । अस्ति शुक्रबार बसेको चिकित्सा शिक्षा आयोगको बैठकले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एमबीबीएस अध्ययनका लागि २० सिट दिने निर्णयले आफ्नो दिलोज्यान लगाएर अहोरात्र काम गर्ने यहाँका चिकित्सक, नर्स, कर्मचारी, यसका लागि लड्ने व्यक्तीहरू, सबै कर्णालीबासी, जुम्लाका स्थानीय सबैलाई खुसी बनाएको छ ।
विगतमा जुम्लामा एमबीबीएस अध्ययन असम्भव छ भन्नेहरुलाई यो निर्णय र सफलताले ठूलो झड्का दिएको छ । र आज एमबीबीएस कसले ल्यायो भनेर जस लिन खोज्नेहरुको पनि लामो लाइन लागेको छ । कसैले यो मेरो कारणले गर्दा मात्र सम्भव भएको हो भन्छ भने त्यो संकीर्ण मानसिकताको उपज हो । यो कुनै एकजना व्यक्ति विशेषको योगदानले आएको उपलब्धि होइन । यसको श्रेय नेपाल सरकार, चिकित्सा शिक्षा आयोग, नेपाल मेडिकल काउन्सिल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान परिवार, प्रतिष्ठानका पूर्व र वर्तमान पदाधिकारीहरू, स्थानीय नेताज्यूहरू र सम्पुर्ण कर्णालीबासीको संयुक्त प्रयासले यो कुरा सम्भव भएको हो ।
मेरो नजरमा यो काममा बलियो इँट्टा थप्नुमा चाहिँ डा. गोविन्द केसी महत्वपूर्ण हुनुहुन्छ । उहाँले जुम्लामा यथाशीघ्र एमबीबीएस पढाउनुपर्छ भनेर दुई पटक सत्याग्रहमा बस्नुभयो । डाक्टर केसीले बारम्बार सरकारसँग जुम्लामा चिकित्साशास्त्र अध्ययन र अध्यापन सुरु गनुपर्छ भन्दै विद्रोह गर्नुभएको थियो । सरकारले उहाँको अनसन तोड्न ज्यादतीपूर्ण तरिका प्रयोग गरेको थियो । त्यसमा डा. केसीलगायतका अरु चिकित्सकलाई लाठीचार्ज गरेर घाइते पनि बनाइएको थियो । घाइते हुनेमध्येको एक म पनि हुँ । त्यतिबेलासम्म कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान कस्तो हो, के हो र कहाँ छ भन्नेबारे समेत कसैलाई थाहा थिएन ।
डा. केसीको सत्याग्रहले त्यो चिनाएन मात्र एमबीबीएस पढाइका लागि चर्को दबाब सिर्जना पनि गर्यो । सरकारलाई निरन्तर खबरदारी गर्न भने डा. केसीको सत्याग्रह नै कडीको रुपमा रह्यो । हुन त सत्याग्रहले मात्रै सम्भव भयो भन्नेहरु पनि छन् । डा. केसीले सत्याग्रह नगरेको भएपनि आयोगले ढिलो चाँडो सम्बन्धन त दिन्थ्यो नै‚ तर यति छिटो चाहिँ हुने थिएन ।
सञ्चारमाध्यमले महत्वका साथ यो विषय उठान गरिदिनाले स्वदेश तथा विदेशमा रहेका नेपालीले कर्णाली स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानबारे बुझ्न पाए ।
तीन वर्षअघि नेपाल मेडिकल काउन्सिलको ईन्सपेक्सन टिमले आवश्यक पर्ने कुराहरुको सुझाव दिएको थियो । अहिले चिकित्सा शिक्षा आयोगले निरीक्षण गरेपछि आवश्यक भौतिक संरचना र सामग्रीहरुको परिपूर्तिको काम अझैपनि भइरहेको छ । भौतिक पूर्वाधारको आवश्यकताको कुरा त थियो नै‚ मानव संशाधन र जनशक्ति जुटाउने काम पनि त्यति नै चुनौतिपूर्ण थियो । त्यस कार्यमा प्रतिष्ठानका पदाधिकारीहरुले सबै बेसिक साइन्स र क्लिनिकल बिषयका जनशक्ति ल्याउने काम गरिरहेका छन् ।
अर्काे महत्वपूर्ण कुरा र हामी सबैको लागि फाइदाको कुरा के हो भने अब गरिबका छोराछोरीले पैसा नभएकै कारण डाक्टर बन्ने सपनालाई त्याग्नुपर्ने छैन । दुर्गमका गरीबका छोराछोरीले मेडिकल शिक्षा सहुलियतमा पढ्न पाउनु भनेको सानो उपलब्धिको कुरा होइन । यसमा सरकारले पनि सहयोग नगरेको भए सम्भव हुने थिएन । जुम्लालाई सरकारले विशेष स्थानमा राखेर हेर्यो । अब अहिले पनि २० जनाको कोटामा ७५ प्रतिशत छात्रवृत्तिका लागि छुट्याइनेछ । त्यसमा पनि प्रतिष्ठानको ऐनले ४५ प्रतिशत आरक्षण कर्णालीका पाँचवटा जिल्लालगायतका १३ वटा जिल्लाका विद्यार्थीका लागि छुट्याइन्छ । यसले गर्दा ‘ठुला’ र ‘नामी’ स्कुलमा पढेका विद्यार्थीहरुसँग सरकारी स्कुल पढेका विद्यार्थीले प्रतिस्पर्धा गर्नुपर्ने अवस्था रहँदैन र नाम निकाल्न सहज हुनेछ ।
यही विकट भूगोलका विद्यार्थीले डाक्टर भइसकेपछि दुर्गममा डाक्टर जान मान्दैनन् भन्ने समस्यालाई समाधान गरिदिन्छन् । यो प्रतिष्ठानमा जति विद्यार्थी छात्रवृत्तिमा पढ्न पाउँछन्‚ उनिहरू प्रतिष्ठानबाटै खटाइन्छन् । र उनीहरुले नाइँनास्ती गर्न पाउँदैनन् । आफ्नै घरमा आमाले पकाएको रोटी-आँटो खाएर कोही मान्छे चिकित्सक हुन पाउँछ, बिरामीको सेवा गर्न पाउँछ भने त्योजस्तो भाग्यको कुरा अरु के हुन सक्ला र ?
कोरोना महामारीको कारण इन्ट्रान्स सुरु हुन केही ढिला भएको छ । तर अरु सबै तयारी तिव्र गतिमा भइरहेको छ ।
चिकित्सा शिक्षा आयोगले अब इन्ट्रान्स लिइहाल्छ र बिस्तारै पढाइ पनि सुरु भइहाल्छ । अहिले प्रतिष्ठानमा जटिल शल्यक्रिया पनि यहीँ हुने र सिटिस्क्यान मेसिन खरिद गर्ने काम सम्पन्न भएको छ । कालिकोट र मुगुलगायतका विकट जिल्लाहरुमा ओपिडी सेवा सञ्चालन गरेर बिरामीसँग राम्रो कनेक्सन निर्माण गरिएको छ । अहिले प्रतिष्ठानले हरेक जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सकहरू पठाएर गुणस्तरीय सेवा दिने काम गरिरहेको छ । अहिले नागरिकको विश्वास बढ्दै गएपछि बिरामीहरू सुर्खेत, नेपालगञ्ज जान छोडेर जुम्ला आउन थालेका छन् । तर अहिलेसम्म पनि डोल्पा, हुम्ला, मुगु र जाजरकोटको माथिल्लो भेगतिर जोड्ने स्तरीय सडकको भने अभाव छ ।
अब हामीले बिरामीलाई विश्वास दिलाएर अस्पतालसम्म आउने वातावरण मिलाउन थप काम गर्न बाँकी छ । अस्पतालमा बिरामीको कमी भयो भने यसले भोली विद्यार्थीलाई सिकाइमा समस्या हुन सक्ने भएकाले बिरामीलाई प्रतिष्ठानमा निको भइन्छ भन्ने थप विश्वास दिलाउनुपर्ने आवश्यकता छ ।
एमबीबीएसको पढाइ सुरु हुनेबित्तिकै यहाँ २० जना विद्यार्थी पढ्न आउँछन् । काठमाडौं, विराटनगर, पोखराजस्ता शहरका विद्यार्थीहरू पनि जुम्ला आउँछन् । त्यसैले सरकारले बाटो र विमानस्थलको व्यवस्था राम्रोसँग गर्नुपर्छ । अबको मुख्य आवश्यकता नै त्यही हो । अनि विद्युतको समस्या छ‚ त्यसलाई समाधान गर्नुपर्यो । विद्युतको राष्ट्रिय प्रशारणको लाइन जुम्लासम्म पुर्याइयोस् । यतिमात्र हुन सकेपनि धेरै नै राम्रो हुने थियो । जे होस्‚ जुम्ला मेडिकल शिक्षाको क्षेत्रमा पनि अब चिनिने तरखरमा छ । यो यहाँका मानिसका लागि खुसीको कुरा त हो नै‚ सिंगो देशले नै गर्व गर्नुपर्ने विषय पनि हो ।
(कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान डेन्टल सर्जन डा. काफ्लेसँगको कुराकानीमा आधारित)