पूर्वप्रधानमन्त्री खनाललाई थप उपचारका लागि दिल्ली लगियो
काठमाडाैं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि दिल्ली लगिएको छ । साेमबार नर्भिक अस्पताल भर्ना गरिएका खनाललाई थप उपचारका लागि बुधबार दिउँसाे दिल्ली लगिएको हो । कोभिड संक्रमण भएर निको भएका खनाललाई फोक्सोमा पानी जमेको र रगतमा संक्रमण भएको नर्भिक अस्पतालले जनाएको छ ।
खनालको ज्वरो घटेको छैन भने लगातार खोकी लागिरहेको छ । उनलाई अस्पताल भर्ना भएदेखि अक्सिजनको सहयोगमा राखिएको थियो । पहिलेदेखि नै दिल्लीकाे एपाेलाे अस्पतालमा उपचार गराइरहेकाले परिवारले उतै लैजाने इच्छा व्यक्त गरेपछि उतै लगिएको नर्भिक अस्पतालले जनाएको छ ।
हिजो खनाललाई २ पिन्ट रगत चढाउन खाेजेकोमा शरीरले एक पिन्ट भन्दा बढी नलिएको अस्पतालका जनसम्पर्क अधिकारी सोमनाथ बास्तोलाले जानकारी दिए । खनालकाे मिर्गौलामा यसअघि नै समस्या देखिएको थियो । पछिल्लाेपटक गरिएका स्वास्थ्य परीक्षणका रिपोर्टहरु आउन बाँकी नै रहेकाे पनि उनले बताए ।
गत वैशाखमा खनाललाई कोरोना संक्रमण भएको थियाे ।