दुई दिनपछि खुल्यो जयपृथ्वी राजमार्ग
काठमाडौं । सडक माथिबाट पहिरो खस्दा अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग दुई दिनपछि सञ्चालनमा आएको छ । बैतडीको खोड्पेदेखि बझाङको चैनपुर जोड्ने उक्त राजमार्गको पुर्चौडी नगरपालिका–६ स्थित ढोल्यामोडमा सडक माथिबाट पहिरो खस्दा सोमबार रातिदेखि अवरुद्ध बनेको थियो ।
लगातारको वर्षाका कारण खुलाउन समस्या भएकोमा वर्षा कम भएपछि स्काभेटर र जेसिबीको सहयताले बुधबार दिउँसोपछि सडक सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।
सडक माथिबाट ठूलो पहिरो खसेको र पहिरो पन्छाउन समस्या भएको थियो । उनले भने, “पानी पर्ने क्रम रोकिएपछि सडक विभागको स्काभेटर र जेसीबी लगाएर सडकमा खसेको पहिरो पन्छाइएको छ, अहिले सडक खुलेको छ ।”
बझाङबाट धनगढी, महेन्द्रनगर, काठमाडौँ, डडेल्धुरा, बैतडी र बझाङ भित्रिने ५० भन्दा बढी सवारी साधन र १०० भन्दा बढी यात्रु पहिरोका कारण रोकिएका थिए ।
अवरुद्ध राजमार्ग सञ्चालनमा आएपछि दुई दिनदेखि बीचबाटोमै रोकिएका एम्बुलेन्स, मालवाहक सवारी साधन र अत्यावश्यक कामका लागि हिँडेका यात्रुहरू आआफ्नो गन्तव्यमा हिँडेका छन् । पहिरोका कारण जयपृथ्वी राजमार्ग बेलाबेला अवरुद्ध हुने गरेको छ ।