बाका बुढी औँला !
‘ओहो ! ए बुढा, ए बुढा समाचार हेर्नु त ! मेलम्ची घरघरमा पस्यो रे ! लौन फोन गर्नु न घरमा आमाबाको अवस्था के भो होला त, यी हेर्नु त अनलाइन खबरहरुमा मुख्य समाचार नै यही नै छ । लौन कतिलाई बगायो होला नि, कतिको बिजोक हुनेभो फेरि ! उफ…!
लौन नि के हुन् यी ? बाका औँलाजस्ता पो उस्तै दुरुस्तै छन् त, किन ल्याउनुभाको बाका औँला ?
बुढीको कुरा सुनेर झर्को मान्दै जवाफ फर्काउँछ ‘आsss…छोड्देऊ न है, के चिन्ता लिनु । यो घर बनाउँदा हाम्रो अंश सबै बेचेर ल्याइसकेको हो । आमाबा बस्या घर नि के गतिलो छ र चित्राले छाएको सानो झुप्रो त हो । त्यो कान्छो छोरालाई दिने भन्थे दिउन्, उसले पालोस् । विदेशबाट आएर हाम्रोजत्रै ठूलो घर बनाउँछु र आमाबा पाल्छु भन्थ्यो रे । रोग नलागे अनि अशक्त नभए त ठिकै हो तर रोगी भए भने त कम्ता टेन्सन हुन्छ बुढाबुढी पाल्न । भन्न पो सजिलो । पहिला जग्गा बेचेर यता पैसा ल्याउनेबेला त काठमाडौंमा छोराकै घरमा बस्ने हो किन चाहियो यो जग्गा अब भन्दै थे बुढाबुढी ।
भन्न पो सजिलो सबैथोक किनेर खाने ठाउँमा कम्ता गाह्रो छ, मान्छे पाल्न भन्ठानेर मैले नै नाई आउनुपर्दैन यता दिन कटाउन गाह्रो हुन्छ । गाउँमा बसिरा’को बानी परेको मान्छेलाई भनेर भन्दिएको हुँ । अनि अरिएर उतै बसेका त हुन् नि बुढाबुढी ।
यस्तो तर्क वितर्क हुँदाहुँदै सिन्धुपाल्चोक प्रहरी ठानाबाट फोन आउँछ, ‘तपाईं हर्कमानको छोरा हो ? यहाँ तपाईंको आमाबालाई बाढीले पुर्यो । सेनाको प्रयासमा बल्ल बल्ल शव निकालिएको छ, चाँडै आउनुस् र शव बुझ्नुस् ।
यति सुनेपछि ऊ बाइक लिएर मेलम्ची पुग्यो । प्रहरी ठानामा शवको मुचुल्का उठाएर उसले बाआमाको शव बुझ्यो । त्यहीँका मानिस मिलेर खोलाको किनार छेउमा दाहसंस्कार गर्ने कर्म सम्पन्न भयो । ऊ त्यही दिन काठमाडौं फर्कियो । उसले श्रीमतीलाई झोला थमाउँदै काने खुसी गर्यो ‘ओई ! यो साँचो लाउने ठाउँमा राख है, बच्चाहरूले नभेटुन् ।’
झोलाभित्रको पोको फुकाउँदै उसकी श्रीमती आत्तिएर सोध्छे ‘लौन नि के हुन् यी ? बाका औँलाजस्ता पो उस्तै दुरुस्तै छन् त, किन ल्याउनुभाको बाका औँला ?’
उसले जवाफमा भन्छ— ‘हिउँद लागेपछि खोलो सुक्छ, डोजरे विकास शुरु हुन्छ अनि बाआमाको त्यो झुप्रो बगाए पनि त्यो जग्गा पछि डोजरले सम्याएपछि मोटो भाउमा विक्री हुन्छ । त्यसैले बाआमा जिउँदै हुँदा बनाएको नामसारी कागज भन्नलाई एउटा वकिल बोलाएर नामसारी कागज लेख्न लाउनुपर्छ अनि त्यसमा बाको ल्याप्चे हान्न चाहिन्छ क्या बाका यी बुढी औँला ।’
उनीहरुको छोरो ढोकाको चेपबाट कुरा सुनिरहेको थियो ।
—डा. रेणुका सोलु