शासकको जाल, जनताको काल
दुईजना गँजडी किसान मिलेर उखु खेती गर्ने निधो गरेछन् । पहिलो किसानले भन्यो‚ ‘साथी ! उखु छिप्पिएर खाने बेला भएपछि म सधैं एउटा लाँक्रो खान्छु ।’ दोस्रो के कम, उसले अझ फूर्तिसाथ भन्यो‚ ‘म त झन् दुई लाँक्रा खान्छु ।’
पहिलोले अपमान सहन सकेन र दावी पेश गर्यो‚ ‘अहँ, त्यसो भए म तीनवटा खान्छु ।’ अर्को बम्कियो‚ ‘त्यसो भए म चारवटा खान्छु ।’ रोप्दै नरोपेको उखुमा उनीहरुको दावी बढ्दै गयो । पहिलोले सोध्यो‚ ‘तैंले मभन्दा एक बढी खानुपर्ने चाहिँ किन ?’ दोस्रो भन्छ‚ ‘योग्यता, क्षमता र दक्षताका कारण मैले धेरै पाउनुपर्छ ।’ पहिलो दोस्रोको तर्कमा सहमत हुँदैन । गाउँका भद्रभलाद्मी राख्दा पनि समस्याले निकास नपाएपछि झगडा अदालतमा पुग्यो । दुवै पक्षका कुरा सुनेपछि न्यायाधीश फैसला सुनाउँदै भन्छन्‚ ‘तिमीहरुले मेरो खेतमा उखु रोपेर खुब धेरै उखु खाएछौ । लौ अब जनही पाँच पाँच हजार जरिवाना तिर ।’
बिहान नेतासँग भत्ता बुझेर दिउँसो सदाचारको नारा दिने कार्यकर्ताबाट पालित-पोषित लोकतन्त्र नै त हाम्रो असली परिचय हो ।
केपी ओली, पुष्पकमल दाहाल, शेरबहादुर देउवा, माधव नेपालको कुर्सी प्रहसन राजहाँसको बेञ्चमा पुगेको भए सम्भवतः फैसला यही हुन्थ्यो होला । राजनीतिको बर्को ओढेर बर्दीका लागि गरिएको शताब्दीकै यसखाले असभ्य र भद्दा दृश्य संसारमा विरलै देख्न पाइएला । पिलो निचोर्न अस्पताल जाँदा समेत बिरामी तलमाथि भएमा त्यसको जिम्मेवारी लिनेगरी परिवारका सदस्यले ल्याप्चे लगाउनुपर्छ । तर शरीरको मिर्गौला फेर्दासमेत मुलुकको कार्यकारी प्रधानमन्त्री पद २४ घण्टा छोड्न नसक्ने केपी चरित्रबाट उदारताको अपेक्षा गर्नु आफैंलाई धोका दिनुजस्तै हो ।
आफूलाई गणतन्त्र र संघीयताको भीष्मपितामह ठान्ने प्रचण्डले ‘नेपालमा गणतन्त्र आउनु बयलगाढा चढेर अमेरिका पुग्नुजस्तै हो’ भनेर खिसिटिउरी गर्नेसँग अस्तित्वको भिक्षा माग्नुपरेको छ । यो जनवाद धनवादमा बिक्री गरेवापत प्रचण्डले पाएको दण्ड हो । केपी–पीके पार्टी विलयको त्यस्तो तमसुक हो, जसको संसारका कुनै न्यायालयले वैधानिकता पुष्टि गर्न सक्दैन ।
प्रचण्ड चिल त हुन् तर पार्टी विलय भएपछि उनी एमालेको ओथारोमा पुगे । एमालेका चल्लाहरुले घेरेपछि उनले उड्ने कला बिर्सिए । आफूलाई काग ठान्ने प्रचण्ड ओली नामको कोइलीको जालमा परे । हुँदा हुँदा हुर्किएका कागका बच्चा कोइलीले निजीकरण गर्यो ।
बिग्रिएको घडीले पनि दिनको दुईपल्ट सहि समय बताउँछ । तर बद्लिएको व्यवस्थाका नबद्लिएका नेताहरुले जिन्दगीभर आफ्नो नामबाहेक अरु केही साँचो बताउने भएनन् । यी प्राइभेट लिमिटेड पार्टीका महाप्रबन्धकहरुले सहमतिको आवरणमा यस्तै तोरीलाउरे गफमा वर्षौंदेखि समय मिल्काइरहँदा देश अस्थिपञ्जर बन्दै गइरहेको छ । पहिला पहिला सरकारी बैंकहरुमा नोगजा (नोट गर्न जान्ने) एउटा पद थियो । नेपालका हरेक निकायका मुखियाले अघोषित रुपमा नोट गन्न जान्ने कारोवारी राखेका हुन्छन् । यो वा त्यो व्यवस्था र व्यक्तिको विषय नभएर यो खुल्ला सत्य हो । पुलिसको चौकी इन्चार्ज–आईजीपी, डिठ्ठा–प्रधानन्यायाधीश, वडा सदस्य–प्रधानमन्त्रीसम्म यो मामलामा कोही निरपेक्ष छैनन् । काम गर्न सजिलो या नैतिक मर्यादाका कारण नभई आफू अनुकूलको किलो गाड्न यस्ता कसरत हुने गरेका छन् ।
यिनीहरु महादेवको घाँटीमा बेरिएको सर्पजस्ता हुनुको कारण स्वामीभक्ति नै हो । जब एउटा वडा सदस्य पदमा बाजी मार्न लाखौंको सौदा गर्नुपर्छ भने देशभरिका कार्यकर्ताको मुखिया हुने काम नेताहरुका लागि सजिलो छैन ।
राष्ट्रिय पार्टीको हेडसर हुनु भनेको सानोतिनो राष्ट्र बैंकको शाखा बराबरको आर्थिक औकात राख्नैपर्छ । नेपालमा एउटै मान्छे उम्रेदेखि खुम्रेसम्म किन पार्टीको शासक बन्छ भन्ने प्रश्नको उत्तर यही मनोविज्ञानसँग गाँसिएको छ । बिहान नेतासँग भत्ता बुझेर दिउँसो सदाचारको नारा दिने कार्यकर्ताबाट पालित-पोषित लोकतन्त्र नै त हाम्रो असली परिचय हो । ओली, दाहाल र देउवा यस्ता पात्र हुन्, जो आफ्नो ताज बचाउन अरबमा सौदा खेल्न सक्छन् । अरबौं हान्न सक्छन् । करोडौं बाँड्न सक्छन् । ती पार्टीका अरु नेतामा यो कौशल शून्य छ । त्यसैले रोग, भोक र शोकले जति गाँजेपनि उनीहरुको साम्राज्य एकछत्र छ । माधव नेपालको इतिहास बैंक जागिरेबाट शुरु भएपनि उनी कुशल म्यानेजर कम, खजाञ्ची ज्यादा देखिए । रामचन्द्र पौडेलको क्यालकुलेटरले हजारभन्दा माथिको हिसाब गर्नै जान्दैन ।
जब नेताहरु पुलिसको सुरक्षा र साइरनमा आफूलाई अभ्यस्त गराउँछन्, त्यो दिनदेखि उनीहरुको पतन शुरु भयो भनेर जाने हुन्छ । देशमा नैतिकता र राष्ट्रियताको चुरो कमजोर बन्दै गएपछि मानमर्दनका खेल स्वाभाविक बन्दै जान्छन् ।
नेपाललाई असफल राष्ट्र बनाउने डिजाइनमा मतियारको भूमिकालाई हरेक पार्टी नेताले घोषित अघोषित शैलीमा सघाएका छन् । यो महाअभियानलाई कसैले बोलेर सघाएका छन् भने कसैले मौन बसेर । जसरी फलाम आफूभित्रै निस्कने खियाबाट सखाप हुन्छ, त्यसरी नै देशलाई अधोगतितर्फ लान यहिँका गतिविधि जिम्मेवार छन् । अरुलाई दोष दिनु भनेको आफ्नो कमजोरी छोप्ने धृष्टता सिवाय केही होइन ।
इतिहास साक्षी छ– राजा त्रिभुवनका सेक्रेटरी गोविन्दनारायण भन्ने भारतीय नागरिक थिए । त्यसबेला तराईका पाठशालामा हिन्दी भाषामा पढाइ हुन्थ्यो । देशभर भारतीय मुद्राको विनिमय सहज थियो । प्रत्येक मन्त्रालयमा भारतीय नागरिक सल्लाहकार थिए । प्रधानन्यायालयको स्थापना भारतीय नागरिक हरिप्रसाद प्रधानलाई प्रधानन्यायाधीश बनाएर गरिएको थियो । उत्तरी चेकपोस्टमा भारतीय सुरक्षाकर्मी राखिएका थिए । प्रत्येक मन्त्रालयमा भारतीय सल्लाहकार थिए । अरु त अरु मन्त्रिपरिषद्को बैठकमा समेत भारतीय दूतको उपस्थिति रहन्थ्यो ।
अहिले यी निकायमा नेपालीको प्रतिनिधित्व छ । सार्वभौम नेपाली जनताले जिताएर पठाएकाले सरकार चलाएका छन् । देश-विदेश पढेका उम्दा प्रतिभाहरु राष्ट्रसेवक छन् । भाषा, साहित्य, संस्कृति समृद्ध छ । चेतनाको स्तर कोहीभन्दा कम छैन । तर दलालीको प्रतिशतको पारो यसरी बढेको छ कि त्यो घोषित अवस्थालाई अहिलेको अघोषित अवस्थाले लाभाले जस्तै खग्रास बनाएको छ ।
तिनै भारतीय भनिने हरिप्रसाद प्रधानले सर्वोच्च अदालतको मानमर्दन गरेको अभियोगमा डिल्लीरमण रेग्मीजस्ता राजनीतिज्ञलाई ६ महिनाको जेल सजाय सुनाएका थिए । चार पासेले ढपक्कै ढाकेको प्रधान न्यायालयमा कानुनमा स्नातक नगरेकालाई अयोग्य करार गरी न्यायालयको प्राज्ञिक मर्यादा माथि उठाए । विवाहित छोरीलाई सन्तान नठान्ने कानुन खरानी बनाएर छोरीलाई अपुताली सम्पतिको हकवाला बनाए ।
सात दशकअघि न्यायालयमा गरिएका यस्ता सुधार कसैका लागि अनुकरणीय भएन । बरु कानले हेरेर न्याय दिने संवेदनशील ठाउँका न्यायमूर्तिहरुको नियुक्तिको मापदण्ड पावर, पैसा र राजनीतिक प्रभावलाई बनाइयो । न्यायालयमा रोपिएको विषवृक्षमा फलेको फलले विरुवा हुर्काउने नर्सरीवालाहरु नै शिकार बन्ने निश्चित छ । त्यो बेला निलकण्ठ विष आफूले खाएर कल्याण गर्ने महादेव यो धरामा निस्कने छैनन् ।
राजनीतिभित्र पसेको राक्षसी सोचका कारण आज हरेक सर्वसाधारण दिनमा दर्जनौं पटक मरेर बाँच्न बाध्य छन् । कलेजका प्राध्यापक कुटिएका छन् । हाकिमलाई पियनले लघारेका छन् । प्राध्यापकहरु आफ्ना छोरा उमेरका तिते भुराको अपमान सहन बाध्य छन् । देउता खुसी पारेर पेट भर्ने पुजारी देउतैको मूर्तिको मोलमोलाईमा उम्लिएका छन् । चालकहरु पाखा लागेका छन्, हरेक गाडीको स्टेयरिङ खलाँसीले समाएको छ । अस्पतालमा रोगी भर्नाका लागि समेत सोर्स लगाउनुपर्छ ।
जताततै न्याय मरेको छ । सत्यको पक्षमा बोल्नु भनेको अपराध गर्नु हो भन्ने बुझाइले आम मानिसमा घर गर्दै गएको छ ।
अबोलाको पीडा बोल्ने सञ्चार जगत समाचार कम, त्रास बाँड्न व्यस्त छ । त्यही भएर देशका ठूला मिडिया हाउसभन्दा युट्युब चलाउनेहरुमाथि जनताको भरोसा बढ्दो छ । केपी ओलीले उर्दी लगाउँदा सय रुपैयाँ नझिक्नेहरु भाग्य न्यौपाने, कृष्ण कँडेल, शिशिर भण्डारीजस्ता युटुबमार्फत सूचना सम्प्रेषण गर्नेहरुलाई करोडौंको पोको जिम्मा लगाउन थालेका छन् ।
हो, आत्मनिरीक्षणको खाँचो यहीँ छ । पहिला सित्तैमा समोसा खान पत्रकार बन्नेहरु थिए भने अहिले गोरखधन्दामा अनुवाद भएको छ ।
अरु त अरु राजनीतिक अराजकताको प्रभाव नेपाली भाषामा पनि परेको छ । प्राज्ञिक समुदायको विशिष्ट थलो मानिने प्रज्ञा प्रतिष्ठानले निकालेको बृहत शब्दकोषबाट धेरै शब्दावलीको चिरहरण भएको छ । कुखुराको फुल र गुलाफको फूल समान बनाइएको छ । एक वर्षअघि त्यही शिक्षकले पढाएको नियम घोकेका विद्यार्थी एक वर्षपछि सरले नियम बदल्दा रणभूल्ल परेका छन् । यसरी खेलाडी नालायक भएको दोष खेलको नियम फेरेर कमजोरी लुकाउने नौलो संस्कृति हावी बन्दै गएको छ ।
जब नेताहरु पुलिसको सुरक्षा र साइरनमा आफूलाई अभ्यस्त गराउँछन्, त्यो दिनदेखि उनीहरुको पतन शुरु भयो भनेर जाने हुन्छ । देशमा नैतिकता र राष्ट्रियताको चुरो कमजोर बन्दै गएपछि मानमर्दनका खेल स्वाभाविक बन्दै जान्छन् । नेता श्रद्धेय, बन्दनीय बन्न राष्ट्रियताको जग मजबुत हुनुपर्छ । चारवटा गणले छेकिएका राजा वीरेन्द्र र रानी क्षतविक्षत भएर मारिए । तर उनीहरुको सुरक्षामा बसेकाहरुले प्रतिकारमा तिहारमा पड्काउने जत्रो पड्का पनि पड्काएनन् । आफ्नै आँखाले यस्तो कटु सत्य देखेका, भोगेका नेताहरुका लागि एउटै मात्र जीवन सूत्र हो– नैतिकता ।
नेताले लोकप्रिय बन्नुपर्छ, चर्चित होइन । जनताका नेतालाई घरबास चाहिँदैन । उनीहरुलाई आफ्नो मजेत्रो ओढाएर जनताले चिसो तातोबाट बचाउँछन् । उरुग्वेका पूर्वराष्ट्रपति जोस मुजिका यति सरल छन, तीनवटा कुकुर र दुईजना पुलिसको सुरक्षामा बस्छन् । जीर्ण फर्म हाउसमा बास बस्ने उनी कुवाबाट आफैँ पानी भर्छन् । कपडा आफैँ धुन्छन् । फूलको खेती आफैँ गर्छन् । असल हुने मान्छे हो, पद होइन ।
अमेरिकाजस्तो वैभवशाली राष्ट्रका तात्कालीन राष्ट्रपति जोन अफ केनेडी देशको पैसा जोगाउन चिठ्ठीको खाम थुक लगाएर बन्द गर्थे । अरु देशमा पनि राजनीति अस्थिर छ । मान्छे मारिएका छन् । श्रीलंकामा डेढ लाख मानिस मारिए ।
अफगानिस्तान, पाकिस्तान, इजरायल जताततै मान्छे मारिएका छन् । भीडन्त भएका छन् । तर त्यहाँको शिक्षा र प्रशासन संयन्त्र अलिकति पनि हल्लिएको छैन । सानो देश भएर के भयो, श्रीलंकाको शिक्षा एसियामै उत्कृष्ट छ । हाम्रो चाहिँ देशका सम्पूर्ण संयन्त्र खरानी पार्नैपर्ने, आखिर किन ?
नेताहरुले आफूले जे गर्यो, त्यसैलाई लोकसम्मत ठान्ने अहम् नत्यागेसम्म फलाममा लागेको खियाले फलाम सिध्याएजस्तै हरेक दलका नेता आफ्नै कार्यकर्ताको कठघराबाट मुक्त नहुने निश्चित छ ।
महाभारत युद्ध सकिएपछि हस्तिनापुर राज्यमा शान्ति र अमन चयनको अपेक्षा सबैमा थियो । युद्धमा मारिएकाहरुका लालाबाला, विधवाका पीडामा जित्नेहरुले मलम पट्टी लगाउलान् भन्ने भरोसा थियो । तर परिस्थिति सोचेभन्दा ठ्याक्कै उल्टो भयो । युद्ध जितेकाहरू एकाएक वैराग्यको वशीभूत भए । युद्धपछि स्वर्णराज्य बनाउलान् भनी आशा गरिएका युधिष्ठिरमा एकान्तवासको इच्छा प्रवल बन्दै गयो ।
महाभारत युद्धका सूत्रधार श्रीकृष्ण युद्ध मैदानमा जसरी सुरिए, राज्य सञ्चालनमा भने मौन बसे । महारानी गान्धारीले घटनाको जिम्मेवार ठहर्याउँदै श्रीकृष्णलाई वंश विनासको श्राप दिइन् । आश्चर्य ! वीर श्रीकृष्णले श्रापप्रति मौन स्वीकृति जनाए । उनी यो जञ्जाल र दायित्वबाट मुक्त हुने बाटोको खोजीमा थिए ।
आफैँले मारेका कौरवपक्षीय योद्धा कर्ण सहोदर दाजु भएको रहस्य खुलेपछि युधिष्ठिर द्रवित भए । प्रचण्ड महाभारतका किंकर्तव्यविमूढ पाण्डव पात्रजस्तै बन्न पुगेका छन् । पार्टीका हुक्के, ढोके, चम्चे, छातेहरुको कुतर्के प्रतिवादलाई कान थुनेर उनको अन्तरआत्माको आवाजको मूल्यांकन गर्ने हो भने उनी महाभारत अन्त्यपछिको श्रीकृष्णजस्तै जोक्कर भएका छन् ।
जसरी युगपुरुष श्रीकृष्ण गान्धारीको श्रापलाई समेत शिरोधार्य गर्ने अवस्थामा पुगे, त्यसरी नै प्रचण्डमाथि पनि बाग्लुङका व्यापारीको सेते घोडा चोरीदेखि राष्ट्रिय सम्पति रित्याउनेसम्मको आरोप लागेको छ । गाउँ त के एक चपरी पनि दिन नमान्ने कौरव शैलीका शासकबाट राज्य सत्ता थुत्न सफल माओवादीका लागि राज्य प्राप्ति भोको बाघलाई मासु पैंचो लगाएजस्तै भयो । झ्याल र जस्केलाबाट पसी दूध घोप्ट्याएर उपद्रो मच्चाउने कांग्रेस एमालेको बिरालो शैलीलाई उछिनेर माओवादीले मूलढोकाबाटै पसेर ढुकुटीमा धावा बोल्यो ।
नेताहरू चरम विलासी बन्दै गए । सिसाको घरमा बसेर गिट्ठा, भ्याकुर, क्रान्ति गफमा जनता भुलाउने उनीहरुको खेल दिन दुईगुना, रात चारगुनाका दरले बढ्दै गयो । राजामहाराजालाई सामन्ती भन्दाभन्दै कार्यकर्ताका नजरमा नेताहरू महासामन्ती बन्दै गए । नेताहरुको जीवनशैली, आहारविहार बद्लियो । सातु र ठेट्ना मकैबाट शुरु भएको इतिहास पपकर्न र काजु किसमिसतर्फ रुपान्तरण भयो ।
राजनीतिमा जसले बढी जाली कुरा गर्नसक्छ, त्यो ठूलो नेता बन्ने नजिर स्थापनामा सबै दलका नेताहरुलाई प्रतिस्पर्धामा उतार्न प्रचण्ड सफल भए । नेताहरुले आफूले जे गर्यो, त्यसैलाई लोकसम्मत ठान्ने अहम् नत्यागेसम्म फलाममा लागेको खियाले फलाम सिध्याएजस्तै हरेक दलका नेता आफ्नै कार्यकर्ताको कठघराबाट मुक्त नहुने निश्चित छ ।