सङ्गीतमा राज गर्दै राजनराज
काठमाडौं । हजुरबुबा बाँसुरी जम्मा गर्न रुचाउने । घरमा धेरै बाँसुरी जम्मा गर्ने अनि गाउँतिर निस्किएर तिरिरी बाँसुरीको धुन बजाउने । परिवारमा सङ्गीतप्रतिको लगाव जम्माजम्मी यति नै थियो । तर उनी निस्किए हजुरबाको बिँडो थाम्ने नाती । उनमा गीत सङ्गीतप्रतिको अनुराग बढी नै थियो । रेडियोमा एकपटक भए पनि आफ्नो नाम आए हुने भन्ने सोच्ने उनलाई किशोर अवस्थामा आफ्नो नामले चिनिने रहर बढ्न थाल्यो । नामबाट चिनिने क्रममा उनले रोजे संगीतलाई, किनभने उनीभित्र संगीतप्रतिको सम्मोहन अरु कुराभन्दा धेरै थियो । उनी अर्थात राजनराज शिवाकोटी, जो पछिल्लो पुस्ताका चर्चित सङ्गीत सर्जक हुन् । गीत लेख्न सङ्गीत भर्न र गाउन पनि उनी उस्तै अब्बल छन् ।
विद्यालय पढ्दासम्म चुपचाप राखेको सङ्गीतप्रतिको प्रेम उनले कक्षा १० सकिएपछि हिम्मत गरेर परिवारका सदस्यलाई सुनाए । प्राध्यापक बाबुका छोरा राजनको यो रुचीलाई परिवारले खासै मन पराएन । ‘पढेरै केही गर्नुपर्छ’ अर्थात् जागिर खानुपर्छ भन्ने परिवारको मान्यता थियो । हुन त उक्त समय गीतसङ्गीतमै लागेर केही गर्न सकिने स्थिति पनि थिएन । परिवारले भविष्य ‘सुरक्षित’ बनाउन उनलाई सुझाव दियो ।
आफ्नो रहर चटक्कै माया मारेर उनले बाटो मोडे । मन लगाएर पढ्न थाले । स्नातकोत्तरको पढाइ सके । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जागिर समेत खाए । १२ वर्ष बितिसकेको थियो उनले सङ्गीतलाई आफ्नो जीवनबाट टाढा राखेको । गुनगुनाइरहनुभन्दा बढी उनले संगीतमा केही गरेका थिएनन् ।
राजन उनको साङ्गीतिक क्षेत्रको सुरुवाती दिनदेखि आजसम्मको यात्रालाई अभ्यास भन्न रुचाउँछन्
१२ वर्षमा खोलो फर्किन्छ भनेजस्तो उनीभित्र संगीतका सुरहरुको शब्दका बान्कीहरुको र स्वरका आलापहरुको खोलो फर्कियो । जागिर खाइरहेपनि जाँगरलाग्दो नभएको र आत्मसन्तुस्टी नै नमिल्ने भएपछि उनी त्यसलाई हाप्ने निर्णयमा पुगे ।
‘बुबाआमाले भने झैँ पढाई सकेको र जागिर पनि खाएका थिए उनले ।
सोचे– ‘अब आफ्नो मनको मर्जीको काम गर्नुपर्छ ।’
बल्ल सङ्गीत सिक्न थाले ।
तर उमेर निकै भइसकेको थियो । पढाइ सकिएको र काम पनि थालिसकेकाले एक हिसाबले ‘भविष्य सुरक्षित’ थियो । त्यसैले सुरक्षित भविष्य छाडेर ‘अनिश्चित भविष्य’ अर्थात् संगीत कर्ममा लाग्ने कि नलाग्ने अलमल थियो एकातिर भने अर्कातिर मनले चाहेको गर्न नपाउँदा मनभित्र उकुसमुकुस बढ्दो थियो ।
उनी सङ्गीतकर्मी न्य्हू बज्राचार्यलाई भेट्न गए । उनैसँग संगीत पढिरहेका थिए राजनराज । राजनले न्ह्यू गुरुलाई आफूले साङ्गीतिक क्षेत्रमा केही गर्न सक्छु कि सक्दिनँ भनेर सोधे । विद्यार्थीको यो जिज्ञासा सम्भवतः न्य्हूलाई पनि नयाँ लाग्यो । उनले राजनको गीत, सङ्गीत र आवाजलाई ध्यान दिएर अवलोकन गरे र मुस्कुराउँदै भने ‘अगाडि बढ’ । यही आँटको आड लिएर उनी अघि बढे । पहिलो गीत रेकर्ड गराए ‘मायालु आउने जाने बाटो’ । सञ्चारमाध्यम बग्रेल्ती थिएनन् । आफ्नो गीत केही एफएमहरूमा दिएर उनी घर दोलखा गए । यता शहरमा गीतले चर्चा पाएछ ।
संचारकर्मी दिनेश डिसी, नरेश भट्टराईलगायतले मन पराए र राजनलाई अझ राम्रो गर्न हौसला दिए ।
दिनेशकै सहयोगमा उनले पहिलो एल्बम ‘पञ्चामृत’ निकाल्न सफल भए । जसमा त्यसबेलाका लोकप्रिय गायकहरू नविन के भट्टराई, सुगम पोखरेल, अनिल सिंह, दीपेशकिशोर भट्टराईलगायतले स्वर दिए । एल्बमका अधिकांश गीत चले । उनी बिस्तारै सांगीतिक जगतमा चिनिन थाले ।
दोहोरी गीतहरू जनमानसमा लोकप्रिय भइरहेको समय थियो । गाउँमा जन्मिएर हुर्किएका राजनमा पनि लोक गीत सङ्गीत मोह नहुने कुरै भएन । माओवादी र सरकारको वार्ताको सन्दर्भ पनि चल्दै गरेको समय थियो । उनले यो राजनीतिलाई पनि जोडेर गीत बनाए । दोहोरी चलिरहेको समयमा अलि फरक गरूँ भनेर उनले लोक तेहेरी गीत ‘वार्ता गराइदेऊ’ बनाए । गीत मन पराइयो । उनको नाम रेडियो टेलिभिजनमा बाक्लै सुनिन थाल्यो ।
यही गीत सुनेकी कमला मैनालीसँग उनको लगन गाँठोसमेत कसियो । विवाह गर्ने बेला भएको थियो । एक आफन्तले रामेछापकी कविताको फोटो उनलाई दिएको पनि लामै समय भएको थियो । विवाह गरिहाल्न मन थिएन तर केटीको फोटो मन परेको थियो । कामकै सिलसिलामा दोलखा पुगेका राजनले केटी हेर्न जाने मन बनाए । त्यहाँबाट उनी बाटोमै एक जना साथी लिएर कविताको घर पुगे । राजनको परिवारमा कसैलाई थाहै थिएन । उनले केटीको परिवारमा कुराकानी गरे । कवितालाई ‘विवाह गर्ने ?’ भनेर सोधे । ११ कक्षाको परीक्षा दिएर बसेकी कविताबाट मौन सहमति आयो । त्यो दिन उतै बसेर भोलिपल्ट कुरा छिनेर टिकोटालो लगाईवरी राजन दोलखा घर फर्किए । घरमा बिहे पक्का गरेको बताए । त्यसको २ हप्तामा उनीहरूको विवाह भयो । अहिले दुई सन्तानसँगै राजनको बलियो साथीको रूपमा रहिरहेकी छन् कविता ।
७२ सालमा वडा नम्बर ६ मा उनले सुर्केथैली गीत लेखे र यो उनको चलचित्रतिरको यात्राको शुरुवात थियो ।
राजन उनको साङ्गीतिक क्षेत्रको सुरुवाती दिनदेखि आजसम्मको यात्रालाई अभ्यास भन्न रुचाउँछन् । ‘स्ट्रगलभन्दा पनि एक्सरसाइज हो’ भन्ने उनलाई गीतको भ्युज, चर्चा, सफलता र असफलताले फरक नपार्ने बताउँछन् उनी । निरन्तर लगनका साथ सिर्जना गरी रहेका उनका उनका धेरै गीत ‘भ्युज’को हिसाबले करोड क्लब प्रवेश गरेका छन् । तर, गीतको चर्चाले मन दङ्ग बनाउने र नाम धेरैजनासम्म पुग्नेबाहेक आर्थिक रूपमा कुनै फाइदा छैन । उनी भन्छन् ‘आजसम्म पीआरबीटी र सीआरबीटीबाट पाएको रकम बाहेक रोयल्टी पनि पाएका छैनन् स्रष्टाहरुले ।’
अन्य देशमा गीत चल्दा सर्जकलाई समेत आर्थिक फाइदा हुने गरेको बताउँदै नेपालमा पनि यो व्यवस्था हुन सके धेरै सर्जक आर्थिक सङ्कटबाट मुक्त हुने उनको बुझाइ छ । गायकले स्टेजमा गाए बापत आफ्नो कमाइ गरिरहेका हुन्छन् । तर त्यही स्टेजको कुनामा बसेर रचनाकार, सङ्गीतकारले ‘मेरो गीत हो’ भनेर दङ्ग पर्ने बाहेक केही पाउँदैनन् । यस्तो विषयले उनलाई दुःखी बनाउँछ ।
७२ सालमा वडा नम्बर ६ मा उनले चलचित्रका लागि पहिलो गीत लेखे संगीत गरे र गाए पनि । यो उनको चलचित्रको पहिलो यात्रा थियो । जसै यो गीत सुन्न थालियो र मन पराइयो राजनराज चलचित्रमा पनि एकछत्रजस्तो राज गर्न सफल भए । एक समय त उनलाई संगीतकारका रुपमा अनुबन्ध गर्न समय नै लिनुपर्ने अवस्था पनि आयो । उनका गीतहरु मन पराइएकै थिए चलचित्रतिर लागेपछि पनि मन पर्दा गीतहरु अझ थपिए ।
उनका धेरै गीत लोकप्रिय छन् । केही गीतको सूची बनाउँदा-
अलि अलि पीडा हुँदा नि म तिमीलाई नै सम्झन्छु – स्वर : नबिन के भट्टराई
म मायाँ गर्छु मेरी उनीलाई, एकबार हैन जुनी जुनीलाई – श्वर अनिल सिंह
जुनु रिजाल काफ्लेले गाएको डाँफे झैँ हास्ने हिमाल झैँ हास्ने नेपालकी छोरी हुँ म
जीन्दगी यो फूलैफूलको थुंगो हुँदैन, फक्रिने र ओइलाउने टुंगो हुँदैन – स्वर अन्जु पन्त, शब्द राजन राई
प्रिय तिम्रो सिउँदोमा सिन्दुर भर्न देउ – श्वर प्रकाश तिमल्सिना
७२ सालमा वडा नम्बर ६ मा उनले सुर्केथैली गीत लेखे र यो उनको चलचित्रतिरको यात्राको शुरुवात थियो । जुन गीतले उनलाई चलचित्रमा यति सफल बनायो कि एक समय त उनीसँग सम्झैता गर्नलाई समय नै लिनुपर्ने अवस्था थियो ।
सुर्के थैली खोइ
पूर्वपश्चिम रेल
कुटुमा कुटु सुपारी दाना
चरि चट्ट परि भुरुरु खोली तिरैतिर्
जस्ता गीतहरु थपिए ।
सबै कुराको समय आउँछ भन्ने मान्छन् राजन । उनको भनाइलाई ‘कुटुमा कुटु’ गीतले पुष्टि गरेको छ । उनले सन् २००८ मा लेखेको ‘कुटुमा कुटु’ गीत सन् २०१८ मा मात्र रेकर्ड भयो । यो गीत १५ करोड १० लाख पटक हेरिएको छ । यो गीत अमेरिकी, पाकिस्तानी, क्यानेडेली, भारतीय गायकले पनि गाएका छन् । फुलबुट्टे सारी पनि पहिल्यै रेकर्ड भएपनि धेरै पछि मात्र चर्चामा आएको गीत हो ।
‘फुल बुट्टे सारी’ गीतको त भिन्न भिन्न भर्जन नै सार्वजनिक भयो । सबै भर्जनलाई दर्शक स्रोताले मन पनि पराए । यही गीतमा अफ्रिकन गायिका बियोन्सेले स्वर भरिन् । यसै कारण राजनले बियोन्से कै लागी भनेर ल्यासे पाउ (लस्सी पाउ) बोलको गीत नै तयार पारे र बियोन्सेसँग मिलेर गाए । विदेशी लवजमा यस गीतमा पनि उनले नेपाली संस्कारको प्रचार गरेका छन् । भिडिओमा समेत उनले अफ्रिकी गायिकालाई नेवारी महिलाको भेषमा उतारेका छन् ।
विदेशी गायकले नेपाली गीत गाउनुले नेपाली गीतसङ्गीत विदेशी बजारमा सुनिन थालेको भन्नेमा खुसी लाग्ने राजन बताउँछन् ।
फुलबुट्टे सारी अफ्रिकाकी बियोन्सेमात्र होइन पञ्जाबका लक्की सिधुले पनि गाए ।
संगीतको भाषा हुँदैन भन्ने कुराको एक प्रमाण पनि हो यो । नत्र शब्दको अर्थ नबुझेपनि वा शुद्ध उच्चारण गर्न अप्ठ्यारो नै भएपनि विदेशी कलाकारले नेपाली गीत गाउने कोशिस किन पो गर्दा हुन् र ?
विश्व सङ्गीत दिवसको अवसरमा सर्जक राजनराजसहित सबै नेपाली गीत सङ्गीतका स्रष्टाहरुलाई शुभकामना ।