यसरी गर्न सकिन्छ छाउपडी व्यवस्थापन
काठमाडौं । नेपालको सुदूरपश्चिम र कर्णाली क्षेत्रमा अहिले पनि छाउपडी प्रथा व्याप्त रहेको छ । छाउपडीको शाब्दिक अर्थ छोरा वा सन्तान उत्पत्ति गर्न सक्ने भन्ने हुन्छ । हात्तीका बच्चालाई छावा र अन्य केही जनावरका बच्चालाई छाउरो भनेजस्तै मानिसका बच्चालाई पनि छाउरा-छाउरी भनेर बोलाउने प्रचलन यद्यपि छँदैछ । छाउपडी शब्दमा रहेको शब्दांश छाउ नै रहेकाले छाउपडीले सन्तान पाउन सक्ने रजस्वाला भएकी वा गर्भवतीलाई जनाउँछ । यो अर्थ धेरै मानिसबाट लुकेको वा लुकाइएको छ ।
यसलाई उन्मूलन गरेर हटाउन कठिन छ । उन्मूलन गर्न कठिन कुरालाई व्यवस्थापन गर्ने तरिका भनेको त्यसको ढाँचाकाचालाई बदल्नु हो ।
छाउपडीलाई राख्ने ठाउँलाई छाउगोठ भन्ने गरिन्छ । पहिले सिञ्जा साम्राज्यको जीवनशैली शीतकालीन र गृष्मकालीन समयमा अलगअलग ठाउँमा रहेर चल्थ्यो । गृष्मकालमा मानिसहरू लेकतिर बस्थे भने शीतकालमा औलतिर । गृष्मकालमा लेकमा बस्ने र खास गरी वनजङ्गलमा गोठ राखेर पशुपालन गर्ने पारिवारिक गोठाले जीवनशैली बिताउने क्रममा छाउपडी अभ्यास बढ्दै आएको अनुमान गर्न सकिन्छ । गोठ बस्ने जीवनशैलीको युगमा जनावर र मानिस सँगसँगै बस्ने गरेका थिए । जनावरहरू मांसाहारी र हिंस्रक पनि हुन्थे । मांसाहारी जनावरले रगतको गन्ध निक्कै छिटो थाहा पाउँछन् । त्यसैले रजस्वाला भएका वा गर्भवती महिलालाई तिनको आक्रमणबाट सुरक्षित राख्नु जरुरी थियो ।
अतः सुरुवातमा त्यस्ता महिलालाई सफा ओडारमा राख्ने गरिएको थियो होला । पछि सुरक्षित ओडारको परिवर्तित रूपमा विकास भयो छाउगोठ । जङ्गलको गोठमा जङ्गली जनावरले आक्रमण गर्ने खतरा हुने र रजस्वला हुँदा निस्कने रगत वा गर्भवती हुँदा निष्काशित हुने फोहरको विशेष प्रकारको गन्ध आउने र त्यसको आधारमा जङ्गली हिंस्रक जनावरले आक्रमण गर्न सक्ने सम्भावना सायद त्यसखेरका पुरुष गोठालाहरूले आफू बस्ने गोठ भन्दा छाउपडी बस्ने गोठ बलिया बनाउँथे होला । छाउगोठ बस्ने सुरुवाती चलन यसरी प्रकार्यात्मक रूपमै सुरु भएको हुँदो हो ।
छाउपडीले गाईवस्तु छुनु नहुने, स्याहार्नु नहुने, दुहुनु नहुनेजस्ता प्रतिमानहरू तिनको स्वास्थ्यको पाटोमा प्रतिकूलता नल्याउनलाई थियो होला । समय बदलिँदै गयो । सभ्यता नै पिछडिँदै गयो । छाउपडी र छाउगोठ गलत अर्थमा रूढ र व्याप्त हुँदै गयो । तिनले गाईवस्तु छुनु नहुने, स्याहार्नु नहुने, दुहुनु नहुने कुरालाई अनर्थतिर ढालियो र त्यसो गरे अनर्थ हुने देउता रिसाउने आदि अन्धविश्वासी प्रतिमान खडा भए । अर्थको कुरा जे भए पनि अझसम्म यो मानवअधिकारविरोधी प्रथाका रूपमा एउटा गम्भीर समस्या पक्कै पनि देखिएको छ ।
धेरै महिलाले नै पनि छाउपडीको गलत अर्थ ग्रहण गरेका छन् र कुप्रथाले अपाङ्ग र दीर्घ रुग्ण जीवन बिताइरहेका छन् । यस अन्धविश्वासी प्रतिमानका कारण हजारौँ महिलाको अकालमै ज्यान गएको छ । महिलाहरू जङ्गली जनावर, चिसो, किरामिरा, अरू पुरुष आदिबाट असुरक्षित भइरहेका छन् । तर, ती वर्गको सामाजिक र धार्मिक आस्थाका कारण यो प्रथा हटाउन अप्ठ्यारो परिरहेको छ । विभिन्न सरकारी क्षेत्र र गैरसरकारी क्षेत्रबाट पहल भए पनि त्यो वालुवामा पानी हाले जस्तो भएको छ भन्दा अतिशयोक्ति नहोला । एक दिन छाउपडी वा रजस्वाला भएका महिला राख्न बनाएका असुरक्षित छाउगोठ भत्काएको समाचार आउँछ अनि अर्को दिन फेरि गाउँलेले छाउगोठ बनाएको र महिलालाई सकसमा धकेलेको समाचार आउँछ । यो त्यस भेकका बासिन्दाको विश्वास प्रणालीका कारण भएको हो । कसैको विश्वासप्रणाली नै हटाउन वा परिवर्तन गर्न निक्कै गाह्रो काम हो । त्यसैले छाउपडीको उन्मूलन विकासोन्मुख समाजको ठूलै चुनौती हो ।
छाउगोठविरुद्धको अभियान चलाउँदै गर्दा तत्काललाई आवासगृहको एउटा कोठालाई रूपान्तरित स्वरूप बनाएर व्यवस्थापन गर्न सकिन्छ । यसले घरमै भएर पनि खोइ त देउता रिसाएनन् भन्ने कुरा घरको पुरानो अर्थात कट्टर पुस्ताले बुझ्नेछ ।
यसलाई उन्मूलन गरेर हटाउन कठिन छ । उन्मूलन गर्न कठिन कुरालाई व्यवस्थापन गर्ने तरिका भनेको त्यसको ढाँचाकाचालाई बदल्नु हो । छाउपडीलाई पनि यसको विश्वास प्रणालीमाभन्दा व्यावहारिक रूपमा कसरी मानिसबीचका सम्बन्ध र बेहोरा र बरव्यवहारका तौरतरिकामा फेरबदल ल्याउने भन्ने विषय मूल हो । छाउपडीलाई नयाँ तरिकाले व्यवस्थापन गर्न गराउन सकिँदैन ?
छाउगोठहरू प्रायः माटा र ढुङ्गाले बनेका मानिसका निम्ति सानो, पर्याप्त वायु सञ्चार नहुने नभएको, प्रकाश पनि कम भएको, ढोका नभएको र किरामिरालाई बस्न सहज हुने र मूल घरबाट टाडा बनाईन्छन् । जङ्गलमा गोठ बस्ने युगका हिसाबले यो निक्कै सुरक्षित थियो तर अहिले स्वास्थ्य र सुरक्षाका हिसाबले पूरै अनुपयुक्त छ ।
यस्तो अवस्थामा अब कसो गर्ने ?
छाउगोठ भत्कायो, भन्यो अब महिलालाई छाउगोठ राख्न पाइँदैन, कानुनले निषेध गरेको छ सजाय हुन्छ । घरैमा राख्नुपर्छ । एकछिन त कानुनसँग डराएजस्तो गर्छन् मानिसहरू तर, यसो भन्नेहरू अदेख हुन्छन् उनलाई उनको अन्धविश्वासले ग्रस्त पार्छ अब देउता रिसाउँछन् अनिष्ट हुन्छ । अनि, धकेलिदिन्छन् छाउगोठमा किशोरीहरूलाई, महिलाहरूलाई अरू जोखिमयुक्त छाउगोठ बनाएर- अझ असुरक्षित संरचना खडा गरेर । यसैले छाउपडीको कुप्रथाग्रस्त समुदायमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरूले एउटा अलग्गै सामुदायिक सुरक्षित आवास योजना ल्याउनुपर्छ र लागू गर्नुपर्छ । छाउपडीका लागि होइन, पूरै परिवारका लागि सुरक्षित आवास बनाउनुपर्छ ।
महिलाको एक विशेष शारिरीक र प्राकृतिक अवस्थालाई लिएर गरिने यस्तो हेलचेक्र्याइँका कारण धेरैजनाले ज्यान गुमाउनुपरेको सन्दर्भमा जतिसक्दो छिटो यसलाई रोक्न जरुरी छ ।
सकिन्छ भने एकीकृत सामुदायिक आवास प्रणाली विकास गर्नुपर्छ । यो भनेको छरिएर रहेको बस्तीलाई एकै फराकिलो र सुरक्षित भू-धरालतमा आवासको बन्दोबस्त गर्ने । परिवारका सदस्यको संख्याका आधारमा प्रत्येक सदस्यले सामूहिक रूपमा र आवश्यक पर्दा अलग्ग रहन सक्ने स्थान छुट्टिने किसिमको घरको बनोटको साझास्वरूपमा आवास बनाउने । सकेसम्म व्यक्तिगत सरसफाइका लागि स्नान गर्ने ठाउँ र शौचालय आवासबाट पहुँचिलो हुने कुरा सुनिश्चित गर्ने ।
महिलाको एक विशेष शारिरीक र प्राकृतिक अवस्थालाई लिएर गरिने यस्तो हेलचेक्र्याइँका कारण धेरैजनाले ज्यान गुमाउनुपरेको सन्दर्भमा जतिसक्दो छिटो यसलाई रोक्न जरुरी छ । तर वर्षौँदेखि मानिसका मनमा जरो गाडेर बसेको यो कुरा तत्कालै हटाइहाल्न कठिन छ । दबाब बढाउँदै हटाउँदासम्म अझै धेरैजनाले ज्यान गुमाउनुपर्नेछ । त्यसैले तत्कालका लागि हाम्रो प्राथमिकता महिलाको सुरक्षा हुनुपर्दछ । त्यसैले छाउगोठविरुद्धको अभियान चलाउँदै गर्दा तत्काललाई आवासगृहको एउटा कोठालाई रूपान्तरित स्वरूप बनाएर व्यवस्थापन गर्न सकिन्छ । यसले घरमै भएर पनि खोइ त देउता रिसाएनन् भन्ने कुरा घरको पुरानो अर्थात कट्टर पुस्ताले बुझ्नेछ । सँगै परिवारका रजस्वला भएका र गर्भवतीलाई मानवीय व्यवहार गरिनुपर्छ भन्ने कुरा पनि स्पष्ट हुँदै जानेछ ।
छरिएर रहेको बस्तीमा भन्दा कम लागतमा तिनले थुप्रै पूर्वाधार सेवा बासिन्दालाई उपलब्ध गराउन सक्नेछन् । उदाहरणका लागि, यातायात, सडक, विद्युत, सञ्चारजस्ता सेवाहरू एकीकृत बस्तीमा जति कम लागतमा उपलब्ध हुन्छन् ओल्लो र पल्लो डाँडा र पाखामा छरिएका एकएक घरमा यस्तो सेवा पुर्योउने लागत कम्तीमा पनि चार पाँच गुणा नै बढी हुँदो हो । के सरकारहरूले यस्तो सुरक्षित आवाससहितको एकीकृत बस्ती विकासमा ध्यान देलान् ?
समिक्षात्मक लेख। सम्बन्धित क्षेत्रका जनता, स्थानिय सरकार तथा गैरसरकारि सस्थाहरुले पढिदिये यो लेखको सार्थकता अझ बढि हुन्थ्यो कि? लेखकलाइ सलाम।
लेखनकार्यकाे थालनी प्रशंसनीय रहेकोले शुभकामना उत्सब बाबुलाई ।