एकलबासको सम्झनामा

काठमाडौं । वैशाख सकिँदै थियो र जेठ लाग्दै थियो । कोभिड १९ को सङ्क्रमणले छिमेकी मुलुक भारतमा हजारका सङ्ख्यामा र नेपालमा सयका सङ्ख्यामा मानिस मरिरहेका थिए । काठमाडौँमा बन्दाबन्दी चर्कै थियो । अदालत र अफिस नगएको तीन हप्तै नाघेको थियो । मेरो दैनिकी बिहान एक पटक दूध र तरकारीका लागि डेरी र एउटा पसल पुग्ने र घर फर्केर घरभित्रै काम गर्ने थियो । धेरैमा छतमा गएर एकाध घण्टा टहलिँदै जीउ मर्काउने र सामान्य शारीरिक अभ्यासमा सीमित थियो ।

विराटनगरबाट लोचनले फोन गर्‍यो र भन्यो— मन्त्रीज्यूलाई ज्वरो आएर जीउ दुख्यो । सँगै बसेका हामी पाँच/छ जना सबैले जँचाएको मन्त्रीज्यूबाहेक सबैको कोभिड पोजिटिभ देखियो । हामी सामूहिक रूपले सँगै बसे पनि अरूबाट अलग्ग छौँ । मलाई सामान्य झाडापखाला भयो त्यो पनि एकै दिनमा निको भयो । अरू केही लक्षण छैन । धरानबाट दाजु (बालकृष्ण) ले फोन गर्दै भन्नुभयो— मलाई ज्वरो आएको छ जीउ दुखेको छ । परीक्षणको लागि नमूना पठाएको छु । लगाउन त खोप दुई पटक लगाइसकेको हो । भोलिपल्ट फेरि हामीले फोनमा कुरा गर्‍यौँ दाजुको पनि कोभिड पोजिटिभ देखियो ।

इलामका नवराज शङ्कर विराटनगरमा उपचार गराउँदागराउँदै बितेको खबरले मन चिसो बनाइरहेको थियो । आइतबारको दिन थियो, बिहान शौच गरेर बाहिर निस्कँदा घाँटी सामान्य खसखस गरेजस्तो भयो र मैले हल्का खोकेँ । लक्ष्मी र उत्सव दुवैले तपाईँलाई कोभिड भयो कि क्या हो ? भनेर खिज्याए । कहीँ गएको छैन कसैसँग मुखामुख गरेको छैन । पसल जाँदा मुखौटो लगाउने र फर्केपछि साबुनपानीले हात धुने गरेकै छु,  कसरी लाग्नु मलाई कोभिड ? मैले यसरी उत्तर दिएँ । त्यो बिहानको नित्यकर्म र दैनिकी साबिक रूपमै चल्यो । खाना खाएपछि बिहान कहिले निद्रा नलाग्ने र नसुत्ने मलाई एक्कासी झ्याप्प जीउ लत्रियो र एक घण्टाजति निद्रा लाग्यो । निद्राले छोडेपछि टाउको दुख्न थाल्यो । दुखाइ सामान्यबाट असामान्य भयो । टाउको दुख्दैमा त के सिटामोल खाने ? खान्न भनेर दिनभर दुखाइ सहेरै बसेँ । बेलुका भएपछि घाँटी असाध्य खसखस गर्‍यो । अरू बेला पनि कहिलेकाँही यस्तो खस्खसाउने गर्थ्यो र म पिप्ला र छोकडा हल्का फुराएर खान्थेँ र ठीक हुन्थ्यो । यसैले पिप्ला र छोकडा चेपेँ । घाँटीलाई त पिप्लाको पिरोले राहत दिएजस्तो भयो तर टाउको दुखाइ यति चर्को भयो कि ज्वरो पनि आउन थाल्यो । त्यसपछि सिटामोल खान थालेँ ।

टाउको दुखाइ र ज्वरोसँग जीउ पनि पूरै दुख्न थाल्यो । भित्र हड्डी नै खाएजस्तो भएर करकर खान थाल्यो । रातभर निद्रा परेन । सुत्नै सकिएन,  झिमिक्क नगरी बिहानको उज्यालो भयो । मनले कोभिड भएछ भन्यो । रातदेखि नै म अलग्ग ओछ्यानमा बसेँ।

सोमबारको दिन थियो– बिहानै माधव खतिवडाले फोन गर्नुभयो र भन्नुभो राजेन्द्र सरको कुरा थाहा पाउनुभो ? म अस्तअस्त थिएँ तर पनि आफूलाई केही भएको छ भनिनँ र खालि थाहा छैन त मात्र भनेँ । उहाँले एक साहित्यानुरागीले राजेन्द्र सुवेदीसरलाई हामीबाट कोभिडले हरेर लगेको सूचना हाल्नुभएको छ भन्नुभो । मन चिसो भयो । कोभिड, एउटा डरलाग्दो त्रासदी जसले ज्यान लिँदै छ र मानिसहरू धमाधम मरिरहेका छन् र आफूमा पनि त्यसको लक्षण अनुभूत भइरहेको छ । म जीवनको अन्त्यका स्वरूप र कारणहरूबारे घोत्लिँदै थिएँ ।

सङ्क्रमित भएर निको भएका मानिसहरुलाई कोभिडबाटै मृत्यु भएका तिनका हकवाला र नातेदारको काँधीकाठ गर्न अन्तिम संस्कार गर्न दिनुपर्छ ।

धरानबाट दाजुले फोन गर्नुभो र भन्नुभयो— अहिले अलिक सजिलो भएको छ तर जिब्राले कुनै स्वाद चिन्दैन, नाकले गन्ध बताउँदैन र कानले पनि सानोतिनो आवाज सुन्दैन । ज्वरो चाहिँ आउन छाड्यो । त्यसपछि मैले आफूलाई भैरहेका लक्षणहरू बताएँ । उहाँले पक्कापक्की कोभिड हो । एकान्तको बसाइ सुरु गर्न र लक्ष्मी र उत्सवसँग दूरी कायम राख्न, उनीहरूसँग मुखौटो लाएर मात्र टाढाबाट मुखामुख गर्नू भन्नुभयो । लक्ष्मी र उत्सवलाई त्यो कुरा भने उनीहरू पत्याइरहेका थिएनन् । कहीँ जानुभएको छैन कसरी कोभिड हुन्छ ? मैले लक्षण देखिइसकेकोले बारना गर्नैपर्छ भनेपछि उनीहरूले मलाई त्यसैअनुसार दूरी कायम राखेर स्याहार्न थाले । वडा कार्यालयको स्वास्थ्यकेन्द्रमा एन्टीजेन जाँच गराएपछि आफू कोभिड सङ्क्रमित भएको औपचारिक घोषणा भयो । त्यो दिनको कोभिड सङ्क्रमितको सङ्ख्यामा आफू पनि मिसियो ।

पहिले आठ घण्टाको अन्तरालमा खाइने सिटामोलले पछिपछि पाँच घण्टा थेग्न छाड्यो र दाजुसँगको सल्लाहमा छ/छ घण्टामा सिटामोल खाइयो । नवौँ दिनको साँझबाट ज्वरो नभएजस्तो र नाडीको धड्कन पनि अलिक सामान्य भएजस्तो अनुभव भयो । शरीर त पृथ्वीसँगै छ भनेजस्तो लाग्थ्यो खालि मन र दिमागले केही न केही सोचिरहेकाले अस्मिता चाहिँ क्रियाशील रहेजस्तो थियो । १० दिनसम्म शरीर युद्धमैदानमा परिणत भयो ।

म ढलको आठौँ दिनमा लक्ष्मीलाई चिसो लागेजस्तो हुने तारन्तार पिसाब लाग्ने र पिसाबै नरोकिने समस्या देखा पर्‍यो । भोलिपल्ट उनलाई अचाक्ली खोकी लाग्यो । मैले उनलाई पनि कोभिडले समात्यो भन्ने अनुमान लगाएँ तर ज्वरो नआएको र टाउको नदुखेकाले उनले पत्याउँदै पत्याइनन् । भोलिपल्टबाट टाउको दुख्ने र ज्वरो आउने लक्षण सुरु भयो । अब उनी पनि एकलाबास गर्न थालिन् अर्को कोठामा । मलाई एक दिन दुई दिन गर्दै हल्का हुँदै गएजस्तो लागेको थियो, उनलाई दिनदिनै धेरै चाप्दै लग्यो ।

पन्ध्र दिन भएपछि मैले आफ्नो फेरि एन्टीजेन जाँच गराएँ । एन्टीजेन नेगेटिभ देखायो । यसले ममा अलिकति आत्मबल बढ्यो र लाग्यो अब म उठ्न सक्छु । मैले उठ्नैपर्ने भएको थियो किनभने बाबुआमा दुवै अलगअलग ढलेका र तिनलाई तारन्तार तातोपानी, गेडागुडीको झोल, ज्वानो पानी, मसला पानी, खाना र बाफ लिने तातोपानी दिएर स्याहार्न उत्सवलाई निकै ठूलो धपेडी भएको मैले बुझेको थिएँ । यसैले मैले बिस्तारै सकेको काम गर्दै लक्ष्मीको स्याहारको भूमिका निर्वाह गर्न थालेँ । दिन बढ्दै जाँदा लक्ष्मीलाई ज्वरो उच्च हुन थाल्यो । प्रायः १०२ डिग्री ज्वरो हुन्थ्यो र साढे तीन घण्टाभन्दा बढी सिटामोलले ज्वरो रोक्नै नसक्ने । छ घण्टाभन्दा अगाडि सिटामोल कसरी खाने र ? यो एउटा समस्या थियो । उनलाई लक्षण सुरु भएको दसौँ दिन पुगेपछि धेरै गाह्रो भयो । त्यसपछिका तीन दिन अत्यन्तै कष्टकर अनुभव भए । एक दिन त मलाई अब उनलाई निको पार्न सकिने भएन भनेर रातभर निद्रै लागेन । दाजुले अस्पतालमा गएर इमर्जेन्सी कोभिडको परामर्श लिन सुझाउनुभयो । रामगोपालजीसँग सल्लाह गरेँ किनभने उहाँको परिवारैले भर्खरै कोभिड जितिसकेको थियो । उहाँसँगको सल्लाहअनुसार भोलिपल्टचाहिँ अस्पताल लाने कुरा भयो ।

एकजना छिमेकीचाहिँ हामी दुवैको अवस्थाप्रति बडो हार्दिकतापूर्वक चासो राख्थे । उनको परिवारले ज्वरोका लागि निमपात राखेर पानी खान सल्लाह दियो र निमपात पनि उपलब्ध गरायो । त्यो साँझ लक्ष्मीले बडो कष्टले निमपानी खान सकिन् । निमपानी खाएपछि बाफ लिएर खाना खाइन् । अनि सिटामोल समयमै खाएर सुतिन् । सुत्न त सुतिन् निदाइन कि निदाइनन् मलाई पत्तो भएन किनभने म अघिल्लो दिनको अनिदोले होला नौ बजेतिरै निदाएछु र बिउँझिँदा त साढे चार बजिसकेको । आठ बजे सिटामोल ख्वाएको थिएँ । दुई बजे त सिटामोल ख्वाउनुपर्थ्यो । ला ! बितिसकेछ बेला त ! हतारहतार लक्ष्मी सुतेको कोठाको बाहिरबाट बोलाएँ । उनले राती एघार बजेबाट आफू निदाएको र भर्खरै निद्राले छाडेको बताइन् र ज्वरो तथा जीउ करकर खाने समस्या अनुभव नभएको बताइन् । यो त उनको लक्षण देखिएको चौधौँ दिन भइसकेको थियो । ज्वरो नआएसम्म सिटामोल नख्वाउने विचार आयो । अरू तातोपानी गेडागुडीको झोल, बाफ लिने र नियमित खाना खाने क्रमलाई अगाडि बढाउँदै लगियो । दाजुसँगको सल्लाहमा त्यसपछि घरेलु स्याहार निरन्तर गरियो ।

कोभिड सङ्क्रमितप्रतिको हाम्रो धारणा बदलिनुपर्छ । अनि, १० दिनपछि सङ्क्रमण हुँदैन भन्ने र १४ दिनपछि सर्ने सम्भावना शून्य नै हुन्छ भने १५ दिनदेखि आफन्त र नातागोताका मानिससँग सुरक्षित भेटघाट गर्ने कुरा खुला गर्नुपर्छ ।

मलाई सङ्क्रमण भएको एक महिना पुग्यो र लक्ष्मीलाई भएको तीन हप्ता । म सामान्य हिँडडुल गर्ने र घरको काम गर्न सक्ने भएको छु तर उनी अझै त्यसो गर्न सक्ने गरी तङ्ग्रेकी छैनन् । जेहोस् हामीबाट कोभिड पराजित भइसकेको छ । यो एक महिनाको अवधिमा मैले सामाजिक सञ्जालमा समसामयिक विषयका कुरा राखेँ पनि हेरे पनि । राजनीतिक नेताहरूले राजनीतिक उतारचढाउ जारी राखे । सञ्चारमाध्यमले सङ्क्रमण र त्यसका परिणामहरूको व्यापार जारी नै राखे । सत्ता र राजनीति भन्ने कुरा कति निठूर रहेछ । दुनियाँ सङ्क्रमण, बन्दाबन्दी र अभावले सङ्कष्टपूर्ण जीवनमा गुज्र्‍यो, तर प्रधान मन्त्री यही एक महिनाका बीचमा विश्वासको मत लिन संसद् बोलाउने, सरकार बनाउने, सरकार बनाउन बोलाउने तर बनाउन नदिने, संसद् विघटन गर्ने र सरकार पुनर्गठन गर्ने काम गरिरहे ।

विरामी भएर ओछ्यान लागेको बेला समाचार सुनेपछि लाग्थ्यो – दुनियाँमा जहाँ जेसुकै होस् हाम्रा प्रधान मन्त्रीलाई सत्ता जोगाउन समीकरण गर्नेबाहेक अरू विषयमा चिन्ता छैन । अहिले पनि मुलुकमा खोप उपलब्ध गराउने कुरामा सरकारको खास पहल छैन । मेरो वडाका वडाअध्यक्षले भने म सङ्क्रमित भएको बेलामा बेलाबेला फोन गरेर मलाई सरकार भएको अनुभूति दिलाएका थिए ।

कोभिड नभएकालाई केही छैन, यो बेसारपानीले ठीक हुने सामान्य समस्या हो । हाम्रो अनुभवले त्यसो बुझाएन । वास्तवमा कोभिड जीवनउपरको एउटा ठूलो चुनौती नै हो । यसको सङ्क्रमण भएपछि नमरिए पनि यसले यति कमजोर बनाउँदो रहेछ कि जीवनको आशा सुकेर झिनो बन्ने रहेछ । यसप्रति विश्व स्वास्थ्य सङ्गठन र सरकारहरूले बनाइएका दृष्टिकोण र मापदण्डहरू पनि अमानवीय लाग्छन् । मेरा एक छिमेकीले त मलाई कोभिड भएपछि दसतिर हिँड्यो होला भनेर हियाएरै भने । हुन त १० दिनपछि सङ्क्रमित व्यक्तिबाट यो अर्को व्यक्तिमा सर्दैन भन्ने मानिएको रहेछ तर महिना दिन भयो मसँग पसले र छिमेकीहरू अहिले पनि तर्सेजस्तो लाग्छ र तर्केको म सहजै अनुमान गर्छु ।

कोभिड सङ्क्रमितप्रतिको हाम्रो धारणा बदलिनुपर्छ । अनि, १० दिनपछि सङ्क्रमण हुँदैन भन्ने र १४ दिनपछि सर्ने सम्भावना शून्य नै हुन्छ भने १५ दिनदेखि आफन्त र नातागोताका मानिससँग सुरक्षित भेटघाट गर्ने कुरा खुला गर्नुपर्छ । सङ्क्रमित भएर निको भएका मानिसलाई कोभिडबाटै मृत्युभएका तिनका हकवाला र नातेदारको काँधीकाठ गर्न अन्तिम संस्कार गर्न दिनुपर्छ । कोभिड सङ्क्रमणको त्रासभन्दा आफन्तका एक्ल्याइँदा जीवन र उपेक्षित अन्तिम संस्कारहरूको आध्यात्मिक, भावनात्मक र मनसंवेगात्मक असरहरू सयौँ गुनाले प्रतिकूल हुन सक्छन् – बाँच्नेहरूका लागि आफन्त सङ्क्रमित हुनेहरूका लागि ।

प्रतिक्रिया

One thought on “एकलबासको सम्झनामा

  1. हृदय विदारक सत्य कथा। पढ्दा पढ्दै वाट आँसु कुनबेला खस्यो थाहै भएनछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *