प्रदेश १ मा विपद् व्यवस्थापन, स्रोतसाधन र आर्थिक अभाव
स्थानीयलाई सूचनाको चिन्ता
विराटनगर । सुनसरीको कोशी तटीय क्षेत्रका नागरिकको त्रास सधैं एउटै छ, सप्तकोशीमा पानीको सतह कति पुग्यो । वर्षालागेसँगै शुरु हुने यो समस्या हिउँद नलागेसम्म रहन्छ । यो क्षेत्रका नागरिकले आफूहरुले कोशीको अवस्था बारेमा जानकारी लिनका लागि कि कोशी किनारमा नै पुग्नुपर्ने हैन भने भारतीयबाट सूचना लिनुपर्ने अवस्था रहेको बताएका छन् ।
संवाद समूह मोरङले आयोजना गरेको भर्चुअल संवादको क्रममा बराहक्षेत्रका रबिन घिमिरेले जिम्मेवार निकाय कुन हो भनेर खोज्नुपर्ने अवस्था रहेको बताए । कुनैपनि निकायमा कोशीसम्बन्धीका दस्तावेजहरु अहिलेसम्म नरहेको उल्लेख गर्दे प्रदेश सरकारले कुनैपनि एउटा कोशी हेर्ने डेस्क बनाउन सुझाव दिए । ‘प्रमुख जिल्ला अधिकारी, प्रदेश सरकारका सचिव र मन्त्रीहरुको भारतीय समकक्षीसँग कसरी छलफल भएको थियो त्यो बारेमा नागरिकलाई पनि जानकारी दिइनुपर्छ,’ उनले भने— ‘कोशीमा आउने बाढीको बारेमा नेपालीलाई जानकारी हुँदैन भारतीयबाट सुचना लिनु पर्ने बाध्यता छ ।’
क्षेत्राधिकार, जनशक्ति र आर्थिक अभाव
विपद् व्यवस्थापनको लागि प्रदेश सरकारले तयारी थालेको जनाएको छ । विपद् व्यवस्थापनका लागि दीर्घकालीन र अल्पकालीन योजना निर्माण गरी अघि बढ्ने प्रदेश सरकारले जनाएकोछ । आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले प्रदेशभित्र हुने सम्भावित विपद्को प्रतिकार्य योजना निर्माण गरिरहेकोले तत्काल त्यो ल्याउन लागिएको बताए । धेरै ठाउँ उच्च जोखिममा रहेकोले जोखिम न्युनिकरणका लागि प्रदेश सरकारले आफ्नो माताहतको युनिट परिचालन गरी त्यसको तयारी थालेको पनि मन्त्री कार्कीको भनाइ छ । ‘पछिल्लो समय विपद्को मुख्य कारण गाउँ गाउँमा चलेको विकासको लहर पनि हो,’ उनले भने– ‘भौगर्भिक अध्ययन नै नगरी हुने विकास निर्माणले अहिले धेरै ठाउँमा ठूला क्षति निम्त्याएको छ ।’
विपद्को अवस्था मापन, कुन ठाउँमा कस्ता खालका कार्ययोजना बनाएर अघि बढ्ने भन्ने कार्ययोजना निर्माणको क्रममा ध्यान दिइएको मन्त्री कार्कीले बताए । भौगोलिक तथा जलवायु क्षेत्रमा उत्पन्न हुने विपद्को बारेमा पनि सबै क्षेत्र चनाखो हुनुपर्ने बताए ।
‘खोलानामा बाढी आएन भने के कारणले आएन भनेर सचेत हुने की नहुने,’ उनले प्रश्न गर्दै भने— ‘मेलम्चीलगायतका ठाउँमा आएको विपत्तिको मुख्य कारण भनेको लागातार वर्षा भएको बेलामा खोलामा पानी किन आएन भनेर ध्यान नदिइनु पनि देखियो ।’
सिन्धुपाल्चोक तथा मेलम्चीजस्ता ठाउँमा भएको प्राकृतिक प्रकोपबाट प्रदेश नं. १ ले पनि धेरै सिक्नुपर्ने भएकोले विपद्को पूर्वानुमान गर्दै यसको लागि विपद् व्यवस्थापन संयन्त्रसहितको तयारी गरिएको मन्त्री कार्कीले बताए ।
प्रदेश नं. १ मा भएको तयारीको बारेमा जानकारी दिँदै नेपाली सेनाको पूर्वीपृतनामा एउटा हेलिकप्टर तयारी अवस्थामा रहेको बताए ।
उनले दीर्घकालका लाथि सुकुम्वासीवस्ती खोला किनारामा बसेको छ अब ती खोला किनारमा बस्ने बस्तीलाई अन्यत्र स्थानान्तरण गर्नका लागि पनि पहल गर्नुपर्ने अवस्था आएको उल्लेख गरे । प्रदेश सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कील प्रदेश सरकारसँग क्षेत्राधिकार, जनशक्ति र आर्थिक अभावका कारण ठूलो समस्या रहेको बताए । ‘विभिन्न संघसंस्थाहरुको नाममा विपद् अगाडि गर्नुपर्ने पूर्वतयारीको बारेमा कुनै काम भएको देखिँदैन,’ उनले भनेका छन्— ‘तर घटना भइसकेपछि फोटो खिच्नका लागि हुने कार्य त्यति राम्रो हैन, यसलाई रोक्नुपर्छ भनेका छौँ ।’
सशस्त्र प्रहरीका डिआईजी वंशीधर दाहालले नागरिकमा सचेतनासहितको ज्ञानसीप युक्त बनाउनुनै अहिलेको आवश्यकता भएको बताए । ‘विपद् व्यवस्थापनसम्बन्धी स्थानीय समुदायसँग मौलिक ज्ञान र सीपलाई प्रयोग गर्दै समुदायको सहभागिता र प्राविधिकको संयुक्त प्रयासमा हरेक पालिकामा विपद् व्यवस्थापनको तालिम दिन हामी तयार । स्थानीय तहले पहिचान गरेका विपद्को सम्भावित क्षेत्रमा यस्ता तालिम दिनु जरुरी छ,’ उनले भनेका छन् ।
विपद्मा कम बजेट
सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले एउटा सरोकारवालाको मात्र भूमिका नहुने भएकोले सबैको साथ र सहयोगको चाहिने बताए । जिल्ला तहमा केही तयारी गरिएको भएपनि विपद्को बेला त्यो पर्याप्त नहुने उनले उल्लेख गरे । ‘पर्याप्त श्रोत र साधनको अभावका कारण ठूला क्षतिहरु हुने गरेको उदाहरण हामीसँग प्रसस्तै । विपद्मा अहिलेसम्म अत्यन्त कम बजेट छुट्याइएको छ,’ उनले भनेका छन् ।
विपद्को पूर्वतयारीमा सुरक्षा निकायलाई तयारी अवस्थामा राख्नुपर्ने, भौगर्भिक अध्ययन गर्नुपर्ने, सनचेतना, सूचना प्रवाह, वस्ती विकास गर्दा ध्यान दिने, श्रोत साधनको व्यवस्थापन गर्ने हो भने विपद्को बेला ठूलो क्षति नहुने ढकालको भनाइ छ । मनसुन आउनुभन्दा अघि मनसुनलाई ध्यानमा राखेर तयारी भएको उनको भनाइ छ ।
प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले प्रदेश प्रहरी कार्यालयले विपद् आउनसक्ने अवस्थालाई ध्यानमा राखेर प्रहरी युनिटहरु तयारी अवस्थामा रहेको बताए । चौकीदेखि जिल्ला र प्रदेशमा समेत हुनसक्ने सम्भावित क्षेत्रमा सबैलाई तयारी अवस्थामा राखिएको श्रेष्ठले बताए । श्रेष्ठले भनेका छन्— ‘हामीसँग भएको साधन र श्रोतको आधारमा हामीले तयारी थालेका छौँ । प्रहरी निरीक्षकको कमाण्डमा टोली परिचालन गर्नका लागि तयारी अबस्थामा राखिएको छ ।
न्यूनीकरणको यस्तो तयारी
विपद्जन्य जोखिम व्यवस्थापनका लागि उच्च जोखिम स्थानका वस्ती सुरक्षित स्थानमा सार्ने तयारी भएको छ । पहाडी जिल्लामा पहिरोको जोखिमको मुख्य कारण विकासको लहर पनि हो, भौगोलिक अवस्थाको अध्ययन नगरी विकास निर्माणका काम गर्दा विपद्को जोखिम बढेकोले वातावरणीय प्रभाव मूल्यांकनका आधारमा विकासका काम अघि बढाउनुपर्ने पनि उनीहरुले बताएका छन् । विपद् भइरहेको अवस्थामा त्यो ठाउँमा पुग्न लाग्ने समय र उद्दारमा लाग्ने समयको अध्ययनसहितको तयारी गरिएको छ । भौगोलिक अवस्थाको अध्ययन गरी छिटो सूचना प्रवाह प्रणालीलाई व्यवस्थित गर्ने बारेमा स्थानीय तह, सुरक्षा निकाय बिचमा समन्वय भइरहेको जनाइएको छ ।
विपद् भइरहेकाले प्रतिकार्यका लागि गोताखोरसहितको टोली तयारी अवस्थामा रहेको, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासहितले पूर्वाभ्यास गरिएको सुरक्षा निकायले जनाएका छन् ।