पोखरा महानगरका सेवा आजदेखि सञ्चालनमा
कास्की । कोरोनाभाइरस संक्रमणको सम्भावित जोखिम रोकथाम र नियन्त्रणका लागि गत वैशाख दोस्रो सातादेखि बन्द पोखरा महानगरपालिका कार्यालयका सबै सेवा आजदेखि सञ्चालनमा आउने भएका छन् ।
महानगरपालिका कार्यालय, महाशाखा, शाखा तथा ३३ वटै वडा कार्यालयमा सुरक्षाका मापदण्डको पूर्ण पालना गराउँदै सेवा सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत महेश बरालले बताए । कोरोनाको दोस्रो लहर सुरु भएसँगै जारी निषेधाज्ञाका अवधिमा महानगरका अत्यावश्यकबाहेकका अन्य सेवा स्थगन गरिएको थियो ।
स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा केही खुकुलो गरिएकाले सेवा पूर्ण रूपमा सञ्चालनमा ल्याइएको महानगरले जनाएको छ । निषेधाज्ञाका कारण लामो समय सेवा बन्द हुँदा सेवाग्राही प्रभावित बनेका थिए ।
जिल्लाका अन्य कार्यालयले समेत सेवा सुरु गरेका छन् । जिल्ला प्रशासन कार्यालय, मालपोत, नापी, यातायातलगायत अन्य कार्यालयले पनि कोटा निर्धारण गरेर सेवा सुरु गर्ने भएका छन् । केही कार्यालय असार ११ गतेदेखि सञ्चालनमा आएको र अधिकांश आजदेखि सञ्चालन हुने जनाइएको छ ।
जिल्लास्थित कार्यालयबाट प्रवाह हुने सेवा सम्बन्धित कार्यालयको कामको प्रकृति र आवश्यकतालाई प्राथमिकीकरण गरी आलोपालो गर्ने गरी व्यवस्था मिलाइएको प्रमुख जिल्ल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए ।
कोभिड–१९ प्रकोपका कारणबाट हुने क्षति एवं संक्रमणदरमा केही कमी भएको तथ्यांकबाट देखिएकाले जारी निषेधाज्ञालाई केही सहज र खुकुलो पारिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । संक्रमण रोकथाम र व्यवस्थापनका लागि जिल्लाभर यही असार १५ गते राति १२ः०० बजेसम्म निषेधाज्ञा जारी गरिएको छ ।