सिद्धान्त खोलामा, आम्दानी झोलामा

जनताको हालखबर सुन्न हतारिएका राजा एक्कासी आफन्तीको घर पुगेर सोध्न थाले- ‘तेरो कति जग्गा छ मलाई देखा ?’

आफन्तीले जवाफ दियो– ‘मेरो सम्पूर्ण जग्गा साहुको कब्जामा छ ।’

तेरो अन्नको भण्डार कहाँ छ नि ? त्यो पनि सबै हजुरकै दरबारमा पुगिसकेको छ । अनि तेरो घरको छानो खोइ ? त्यो पनि साहुले लग्यो । तेरो घरको फर्निचर ? हजुरकै हाकिमले उठाएर लग्यो । तेरो छोरा कहाँ छ नि ? सरकारी कर्मचारीको अत्याचारले मर्योन । अनि तेरी श्रीमति खोइ ? हजुरले देखेमा मन पराइबक्सेला भन्ने डरले भर्खर लुक्न गई । आफन्ती तेरा प्रत्येक संवाद झुठा हुन् । मसँग यसरी झुठो बोल्ने साहस कसरी गरिस् ? अन्त्यमा आफन्तीले हिम्मत जुटाएर बिन्ती गर्योन- ‘सरकार ! यी सबै कुरा सही र सत्य हुन् । यदि मैले झुठो बोलेको भए, हजुरलाई यसरी रीस उठ्ने नै थिएन ।’

नेपालमा राजनीति फस्टाएको एउटा सफल उद्योग हो । यो उद्योगमा लाग्ने सबैको जय भएको छ । कुर्सीवालहरू आफन्तीलाई कठघरामा उभ्याउने वर्तमानका अवतार हुन् । मानौं लोकतन्त्र नेतालाई शासक बनाउने लाइसेन्स हो । तपाईं के गर्नुहुन्छ ? उत्तर आउँछ- राजनीति ।

राजनीतिका आवरणमा गरिएका हरेक कर्म पवित्र मानिन्छन् । कुनै पनि दलका विद्यार्थी संगठनका नेता नयाँ शैक्षिक सत्रमा स्कुलका मालिकसँग लेबी उठाउने, आफ्ना सन्तान सित्तैमा पढाउने बाहेक अरु क्रान्ति गर्न जान्दैनन् ।

त्योमाथि वाइसीएल, युवा संघ, तरुण दलको गर्भस्थान बालुवा-गिटी, जग्गा दलाली, डनसँग जोडिन्छ । लोकतन्त्र त चौतारीको मादल हो । जे अपराध गरेपनि अन्त्यमा लोकतन्त्र भनिदिएपछि तामो, तुलसोका सम्पूर्ण कर्म तमाम हुन्छ । कतिसम्म भने राजनीतिज्ञले गरेको कुकर्ममाथि खबरदारी लाग्यो भने त्यो गणतन्त्रमाथिको कालो बादल ठहर्छ । म्युजिकल चियर्स खेलजस्तो बुढाबुढी, छोराछोरी, सालासाली, भाइभतिजा, हुक्के, चम्चे, नन्दीभृंगीलाई रातारात ठूला मान्छे बनाइन्छ । कसैलाई सिध्याउन त कसैलाई बनाउन ऐन कानुन परिवर्तन हुन्छ । भूगोलको मात्र होइन, कानुनका चुच्चे र भुत्ते पारिएका दर्जनौं नक्सा तयार गरिन्छन् । राजदूतजस्तो पद चौथो तहका कार्यकर्ताका आफन्त रिझाउन उपयोग हुन्छ । राजालाई निरंकुशताको प्रतिक बनाएर आफ्ना पोस्ने, बैरी खोस्ने यो कस्तो व्यवस्था हो ? बीपी कोइरालाले पहिलो बैठकमा २५ सय रहेको प्रधानमन्त्रीको पारिश्रमिक १५ सयमा झारे ।

बक्सिस र तदर्थवादको माखेसाङ्लोबाट राजनीति, निजामती, सेना, पुलिस र न्यायसेवा मुक्त हुन सकेको छैन ।

राजा महेन्द्रले राजनीतिक निर्णयमा परिवारको संलग्नता कहिल्यै रुचाएनन् । उनकी कान्छी पत्नी रत्ना अहिले पनि गुमनाम जीवन बाँचेकी छन् । उनले मनका कुरा खोलिदिने हो भने हामीले पढेको इतिहास अर्को बाटोमा बग्न सक्छ । राजा महेन्द्र र बीपीको बेमेलको रहस्य गाँठो फुक्न सक्छ । क्रान्तिले कमजोरी सच्याउने हो । गल्ती गर्नेलाई दण्ड र जनआवाज बोल्नेले अवसर पाउने हो । अहँ ! यहाँ त क्रान्तिपछिको रात्रीभोज मत्स्यन्यायबाट शुरु हुन्छ । कुर्सी पाएपछि जीपीहरू बीपी बिर्सन्छन् । व्यक्तिगत महत्वाकांक्षा बीपीको सपनाभित्र एकमुष्ट छिराइन्छ । मानौं बीपीको सपना ‘फोहोर मलाई’ भनेर माग्ने टोकरी हो ।

राजा महेन्द्रका अंगरक्षक गोपालबहादुर खत्रीले आफ्ना छोराहरुलाई सेनाको मुखिया बनाउने सपना देखेरै हुनुपर्छ, नामै राखिदिए– रमिन्द्र, राजेन्द्र, रतिन्द्र । जुन नाम राजामहाराजा वीरेन्द्र, ज्ञानेन्द्र र धिरेन्द्रसँग निकट थियो । दरवारिया राजनीति नजिकबाट बुझेका गोपालबहादुर खत्रीले सन्तानको नाम युवराजहरुको प्रकृतिकै राख्नु संयोगमात्र मान्न सकिँदैन । गोपालबहादुरका पिता बलेन्द्रबहादुर खत्री सेनाकै मेजर थिए ।

सैनिक पृष्ठभूमिको यो परिवारको पुस्तौनी सपना पूरा गर्ने अभिभारा लिएका राजेन्द्रबहादुर सेनाको हेडसरबाट केही वर्षअघि निवृत्त भए । राजा महेन्द्रले छोरालाई मात्र होइन, आफ्नै करेसाबारी अघिल्तिर घरबासको व्यवस्था गरिदिएर छोरीलाई अंश दिने चलनको विधिवत् विजारोपण गरे ।

राजाका हरेक कर्म लालमोहरसरह हुने गर्थ्यो । बक्सिस र तदर्थवादको माखेसाङ्लोबाट राजनीति, निजामती, सेना, पुलिस र न्यायसेवा मुक्त हुन सकेको छैन । चिनेको र किनेको बीच अनौठो रसायन मिलेपछि पेशागत मर्यादा र धर्मका कुरा दन्त्यकथा बन्दै गएका छन् ।

खरदार कृष्णप्रसाद कोइरालाका तीन छोरा मातृका, बीपी र गिरिजाप्रसाद संयोगले प्रधानमन्त्री भएपछि कोइराला परिवारका अर्को पुस्ता ब्याज असुल्न मस्त छ । योग्यता, क्षमता, योगदानभन्दा पनि पिता पुर्खाको प्रसादको हक खोज्न युवराज पुस्ता लालायित छ । नामको आरम्भमा एउटै अक्षर भएका शेखर, सशांक र सुजातामा कांग्रेसको लालपुर्जा आफूसँग रहेको दम्भ छ । यसको प्रकोपले सिंगो नेपालको राजनीति, प्रशासन, न्यायालयदेखि फौजीसम्म गाँजेको छ । कोइराला परिवारको शान, शौकत देखेपछि उनैका शुभचिन्तक दाहाल परिवारमा अर्को सपना रोपियो ।

यतिका राजनीति उहापोह हुँदा पनि मोटाउनु र सुन्निनु एउटै होइन भन्ने चेत राजनीतिकर्मीहरुमा आएन ।

फलस्वरुप दुई भाइ विश्वनाथ, केदारनाथ उपाध्याय प्रधानन्यायाधीश भए । अर्का भाइ बैजनाथ उपाध्यायलाई सर्वोच्च न्यायालयको कमान्डर बनाउने डिजाइनमा धक्का लाग्यो । फलस्वरुप उनको निधारमा प्रधानन्यायाधीश भएर इतिहास निर्माण गर्ने भाग्य छलियो । सन्काहा युवराज राजेन्द्रको कमजोरीमा खेल्न शुरु गरेका जंगबहादुरले महत्वाकांक्षा र अवसरको सिँढी यसरी उपयोग गरे कि आफ्ना छोरी राजामहाराजाको बुहारी बनाए । राजाकै सम्धी भएपछि के थियो, नाम अगाडि श्री ३ लेखिदिए । उनको इतिहास यति सकसपूर्ण थियो कि बाह्रमासे जुवाडे जंगबहादुर सुत्केरी पत्नीलाई खानाको बन्दोबस्त मिलाउन नसक्दा उनको प्राणान्त भएको थियो । अरु त अरु नेपालको सबैभन्दा पुरानो पार्टी प्रजापरिषद्का नेताहरु राजा त्रिभुवनले पार्टी चलाउन दिएको खर्च घरायसी मामलामा खर्च गरेपछि पार्टीभित्र फाटेको धाँजाका आफ्नै कथाव्यथा छन् ।

पात्र फेरिए पनि आफन्तीले भोगेको नियति सक्कलबमोजिम नक्कल उस्तै छ । एउटा समय थियो- हरेक मानिसले आफ्नो सुरक्षाको लागि धनुकाँडा बोक्थ्यो । कोही गुलेली बोक्थे । कोही तीर उध्याउँथे । निःशस्त्र महिलाहरु केही नहुँदा पनि दुवै औंलामा नङ पाल्थे । खुर्सानीको धुलो बोक्थे । समय परिवर्तनसँगै ओहोदा र सामर्थ्य हेरेर मानिसहरु भरुवा बन्दुक राख्न थाले । राज्यले आत्मसुरक्षाका यी उपाय आफूले गर्ने ढाडस दिँदै हतियार आफ्नो नियन्त्रणमा लियो । जनताको शरीरमा घात हुन नदिने वचन दिएपछि जनता आश्वस्त भए । तर संगठित हुन नसक्ने जनताको प्रकृतिमाथि राज्यको नाममा यस्तो कपटपूर्ण खेल खेलियो कि कानुनमा लेखिएका शब्दबाहेकका खेलबाट जनता आहत हुन थाले ।

जनताले पाउने सुरक्षा चाकरीको माध्यम बन्यो । दर्ता चलानीको कामसमेत शुभलाभबिना नहुने दिन आए । हुँदाहुँदा नेपालमात्र त्यस्तो देश भयो, जहाँ राजस्व तिर्न पनि विचौलियाको भरथेग चाहिन्छ । राज्यको संयन्त्र कागज चिन्छ, काम चिन्दैन । कर्मचारीहरु सेवाग्राही चिन्दैनन्, विचौलिया चिन्छन् । राजा त्रिभुवनलाई त्रास देखाई दिल्ली भगाएर चारवर्षे बच्चोलाई राजा बनाउनेदेखि लिएर प्रचण्डलाई तिलस्मी देवदूतका रुपमा अवतरण गराई एक दशक बीचमा नाङ्गेझार बनाउन प्रकारान्तरमा एउटै प्रवृत्तिले भूमिका खेलेको छ ।

संघीय गणतन्त्र त झन् राशी मिलेर शक्ति र सत्तामा पुगेका नेताहरुका लागि खुँदो सावित भएको छ । संघीय गणतन्त्रले के दियो ? खाडी जान र घरैमा उद्यम गर्न नसकेर बरालिएकालाई राजनीतिको फेरो समाएका भरमा जागिर दिएको छ । नेताका हरुवा, चरुवा सत्ता र शक्तिका उपभोक्ता भएका छन् । केपी ओली, प्रचण्ड, शेरबहादुरहरुले रुचाएका मानिस देशका सर्वोच्च ठाउँमा आरुढ छन् । यिनीहरुको नाताभित्र पर्नु भनेको स्वयं सिद्ध देशको सारथी हुन योग्यता प्राप्त गर्नु हो । यिनले गर्ने कुकृत्यको विरोध गर्नुचाहिँ संघीय गणतन्त्र विरोधी हो ।

राष्ट्रियताको सवालमा राजा र आफ्नो घाँटी जोडिएको भनेर राजनीतिमा ढुंगाको अक्षर बनाउन सक्ने बीपी क्षमताको भद्दा नक्कल गर्न खोज्दा अहिलेका पाङ्दुरे कांग्रेसहरू घरमै जन्मिएको नातिका अगाडि मुख देखाउनसम्म योग्य भएनन् । कुर्सीको आवश्यकता बन्नु र कागताली परेर पदमा पुग्नुको अन्तर नै यही हो । जो जनताको आवश्यक बन्छ, उसलाई बन्दुकको सुरक्षा रुचिकर हुँदैन । सुरक्षा थ्रेट त्यसलाई हुन्छ, जो धेरैको भाग खोस्ने थोरै फटाहाहरुको बस्तीमा आगो झोस्न सक्छ । तर यहाँ त घरका एकमुठी जहान मिलाउने लुर नभएकालाई के को थ्रेट ? हातमुख जोर्नेदेखि बोतलको समावेशी झोलसमेत अरुकै आतिथ्यमा जीवन अर्पिएकालाई के झार्न थ्रेट दिनु ? नेताहरुको यही कमजोरीको फाइदा उठाएर स्वार्थीहरुले देशमा फौजी निकायको संख्या लाखौं पुर्यााइसके । लाख नाघेको निजामती कर्मचारी सत्तरी हजारबाट ओरालो लागिसक्यो ।

कांग्रेस इतर दलका नजरमा अहिले देशमा लोकतान्त्रिक गणतन्त्र फलेको फुलेको छ किनभने उनीहरु सत्तारुढ छन् । सत्ताबाहिर जानासाथ कांग्रेसले अब लोकतन्त्रमा झुसिलकिराको प्रवेश देख्न थालिसकेको छ ।

भ्रष्टाचार, अनाचार, व्यभिचार किन मौलाउँदैछ भनेर त्यसको ओखती खोज्नुको साटो सरकारी निकायबीच नै को बढी तोरी लाउरे देखिने भनेर प्रतिस्पर्धा चल्न थालेको छ । संसदका समितिहरु हिन्दी सिनेमाका जुँगे तसिल्दारजस्ता भएका छन् । यतिका राजनीति उहापोह हुँदा पनि मोटाउनु र सुन्निनु एउटै होइन भन्ने चेत राजनीतिकर्मीहरुमा आएन । फूलपाती लिएर पूजा गर्न जाने कार्यकर्ताहरुको हात शीर्ष नेताहरुको गालामा पुग्दा पनि उनीहरुको कार्यशैलीमा बीसको उन्नाइस सुधार आएन । कथित जनयुद्ध सफल पार्न हजारौंले बलिदान दिएको स्थायी रेकर्ड राखेका माओवादी नेताहरुलाई थाहा छ छैन, ती ठाउँका जिल्ला अदालतले गरेको आधा फैसला सम्बन्ध विच्छेदका छन् ।

गणतन्त्रपछि त राजनीतिक दुश्चक्र साँच्चै कहालीलाग्दो छ । देशका कार्यकारी पद नेताका हुक्के, ढोके, चम्चेलाई जागिर लगाउने ठाउँ भएका छन् । एसएलसी गान्धी डिभिजनमा पास हुन नसकेर प्राथमिक विद्यालयको शिक्षकसम्म हुने हुति नभएकाहरु नेताहरुको झोला बोकेको र ढुंगा हानेको ज्याला स्वरुप शिक्षामन्त्री भएका छन् । सिपाहीमा फालिएकाहरू गृहमन्त्री भएर टप्किएका छन् । संसदजस्तो गरिमामय ठाउँलाई रणमैदान बनाउने ‘बुल फाइटरहरु’लाई छानी छानी मन्त्री बनाइएको छ । समायोजनमा कर्नेल नपत्याइएका देशको भीभीआईपी छन् । जात, धर्म, लिंग कसैले निवेदन दिएर पाएको वस्तु होइन । त्यो प्रारब्ध हो । आफ्नो लगानीबिनाको वस्तुमा गौरव गर्नु पाखण्ड हो । तर मुलुकको अनुहार झल्किने त्यो ठाउँमा योग्य मानिस होइन, महिला, जनजाति, मधेशी, अपाङ्ग पुर्याीएकोमा गौरव गरिरहेका छौं ।

१९८० ताका नेपालको प्रतिव्यक्ति आय २६५ हुँदा चीनको प्रतिव्यक्ति आय २५० डलर थियो । अहिले त्यही चीनबाट पठाएका थाङ्ना फोगटाले आङ ढाक्न नपुगेर चीनको तुरुप प्रयोग गरेर फेसबुकमा भारतलाई धम्क्याइरहेका छौं । यसरी धम्क्याउनुअघि चीन र भारतबीच झण्डै एक खर्ब डलरको व्यापारिक सम्झौता छ भन्ने सत्यसँग थोरै नेपाली परिचित छन् । जो शक्तिमा पुग्यो, उसले राज्यका संयन्त्रलाई विर्ता ठान्ने यही मनस्थितिका कारण हामी गफाडी माग्ने भएका हौं ।

कांग्रेस, एमाले, माओवादी, जसले जतिसुकै फुटानी लाएपनि देशको सक्कली अनुहार जीडीपी ग्रोथले देखाउने हो । कोही सत्तामा पुगेर मात्तिनु र कोही प्रतिपक्षीमा पुगेर आत्तिनुले केही फरक पर्दैन । कांग्रेस इतर दलका नजरमा अहिले देशमा लोकतान्त्रिक गणतन्त्र फलेको फुलेको छ किनभने उनीहरु सत्तारुढ छन् । सत्ताबाहिर जानासाथ कांग्रेसले अब लोकतन्त्रमा झुसिलकिराको प्रवेश देख्न थालिसकेको छ । यी दुवै प्रवृत्तिले लोकतन्त्रको मर्म बोक्दैन । साँचो लोकतन्त्र त त्यो हो, जसले राज्य सञ्चालन प्रक्रियामा जनतालाई थोरै भन्दा थोरै गुनासोको अवसर दिन्छ ।

अलेक्जेन्डर ग्राहम बेलकी पत्नी कान नसुन्ने थिइन् । आफ्नी पत्नीलाई कान सुन्ने बनाउन उनले यन्त्रको आविष्कार गर्न भगिरथ प्रयास गरे ।

पत्नीको कान खुलाउन त सकेनन् बरु उनले टेलिफोनको आविष्कार गरेर विश्वमा चर्चा बटुले । स्कटल्यान्डमा जन्मिएका उनको क्यानाडामा मृत्यु भयो । उनको मृत्यु हुँदा विश्वका अधिकांश ठाउँमा एक मिनेट टेलिफोन सेवा बन्द गरिएको थियो । आफन्तका लागि काम गर्दा यसरी सम्पूर्ण मानव सेवा गर्न सकियो भने त्यसले दिने आनन्दबाट मुक्तिको बाटो आफैँ खुल्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *