एमाले महाधिवेशन आयोजक कमिटी भङ्ग हुँदै, ओली–नेपालबीच सम्वादको तयारी

काठमाडौं । बुधबार (आज) एमाले दशौं महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठक बस्दैछ । झन्डै तीन महिनापछि यो कमिटी आजै भङ्ग हुँदैछ । बिहान ११ बजे बस्ने बैठकमा केही समयको छलफलपछि कमिटी औपचारिक रुपमा भङ्ग भएको घोषणा हुनेछ । नेता सुवासचन्द्र नेम्वाङ्गकाअनुसार यसपछि केन्द्रीय कमिटीले नै महाधिवेशन आयोजक कमिटीको हैसियतमा काम गर्नेछ ।

बालुवाटार सूत्रकाअनुसार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले एमाले एकतालाई कायम राख्नेगरी यस्तो निर्णय गरिएको हो । सूत्रले भन्यो— ‘आजको घोषणापछि ०७५ जेठ २ कै केन्द्रीय कमिटीको बैठक बस्छ । त्यहाँ सबै नेताहरु उपस्थित हुनुहुन्छ ।’

तत्कालीन नेकपा विवादमा सर्वोच्च अदालतले गत वर्षको फागुन २३ मा एमाले र माओवादीलाई पूर्ववत् अवस्थामा फर्काएपछि २८ फागुनमा अध्यक्ष ओलीले नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पार्टी कमिटीलाई आयोजक कमिटीमा रुपान्तरणको घोषणा गरेका थिए ।

ओलीले यसरी एकपक्षीय ढंगले केन्द्रीय कमिटी भङ्ग गरेर नेताहरुको जिम्मेवारी खोस्नुका साथै विधानसमेत संशोधन गरेपछि माधवकुमार नेपाल खेमाले चर्को असन्तुष्टि जनाउँदै आएको थियो । यहीँ विवादले पार्टी नै विभाजन हुनसक्ने खतरा कायमै रहेका बेला अध्यक्ष ओली पार्टी एकताअघिको एमालेको संरचनामा फर्कन सहमत भएका हुन् ।

यसअघि मंगलबार (हिजो) साँझ बसेको एमाले स्थायी समिति बैठकले बुधबार बस्ने आयोजक कमिटीको बैठकले नेपाल पक्षको मागअनुसार पार्टीलाई पुरानै संरचनामा फर्काउने निर्णय गरेको थियो । साथै स्थायी समितिले असार १८ गते केन्द्रीय कमिटी बैठक बोलाएर थप निर्णय गर्नेसमेत निर्णय गरेको थियो ।

आजको बैठकपछि अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच सम्वादको तयारीसमेत भइरहेको ओलीनिकट एक नेताले बताए । भने— ‘दुई (ओली र नेपाल) नेताबीच सम्भवतः भोलि या पर्सिभित्र सम्वाद हुनसक्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *