मध्यरातमा बोलाइएको संसद बैठक, स्मरणमा छ पैसे टिकट

‘यात्रा गर्दा पनि साइतबेगर नहिँड्ने चलन थियो । झन् राजा महेन्द्रको पालामा त अधिकांश गतिविधि रातमै हुन्थे । धार्मिक व्यक्तिहरुसँग उनी रातमै सल्लाह लिन्थे । नाम चलेका साधुसन्तसँग राजा महेन्द्र प्रायः राति नै भेट्ने गर्थे ।’ ‘पहिलो अधिवेशन सुरू भएकै दिनदेखि आज विघटन हुन्छ, भोलि हुन्छ भन्ने हल्ला चलाइयो । अन्ततः २०१७ पुस १ गते संसद् भङ्ग गरिएपछि मात्र दरबारिया षड्यन्त्र पर्दाफास भयो ।’

काठमाडौं । २०१६ सालमा निर्वाचित प्रतिनिधि सभाको पहिलो बैठक बोलाइएको स्मरणमा असार १६ लाई संसद दिवसका रुपमा मनाउन लागिएको हो ।

दरबारले असार ४ गते नै सूचना प्रकाशित गरी प्रतिनिधि सभाको पहिलो अधिवेशन असार १६ गते राति ११:४५ बजेका लागि आह्वान गरेको थियो । गोरखापत्रमा असार ८ गते बैठक आह्वानसम्बन्धी सूचना प्रकाशित भएको पाइन्छ । एकतिर संसद अधिवेशनको तयारी अर्कोतिर अन्तरिम संविधान २००७ वमोजिम सपथ लिएका प्रधानमन्त्रीलाई २०१५ को संविधान वमोजिम नारायणहिटी दरवारमा पुनः सपथ गराउने तारतम्य ।


आमजनता मस्त निद्रामा रहेका बेला मध्यरातको साइत पारेर प्रथम जननिर्वाचित सरकारको शपथग्रहण समारोह आयोजना गरियो । राजा महेन्द्रले संसद्‌मा दुईतिहाई बहुमत प्राप्त दल नेपाली कांग्रेसका नेता बीपी कोइरालालाई प्रधानमन्त्रीको शपथ गराए । शपथ सकिएलगत्तै सिंहदरबारस्थित ग्यालरी बैठकमा संसद्को पहिलो बैठक सुरू गर्ने तयारी थियो ।

दरबार पुगेका अधिकांश सदस्य पैदलै सिंहदरबार पुगे । कति भने बेलुकाको खाना घरमै खाएर संसद भवन गएका थिए ।

सांसद मणिराम शास्त्री स्वास्थ्यमन्त्री काशीनाथ गौतमसँगै राजदरबारबाट सिंहदरबारतर्फ जाँदै थिए । बाटोमा पूरै सन्नाटा छाएको थियो । शास्त्रीले लेखकलाई सुनाएका थिए‚ ‘मध्यरातमा तीव्र गतिमा हुइँकिएको मोटर नयाँ सडकमा नेपाल वायुसेवा निगमको कार्यालय रहेको स्थानमा पुगेर घच्याक्क रोकियो । ड्राइभर लकपकायो । ‘के भयो, के भयो’ भन्दाभन्दै मोटर शहीदगेट, भद्रकाली हुँदै सिंहदरबार पुगिहाल्यो ।’ ५५ वर्षपछि (२०७१ सालमा) बत्तीसपुतलीस्थित आफ्नै निवासमा त्यो दिनको घटना सम्झँदै उनले भनेका थिए‚ ‘भोलिपल्ट मात्र थाहा भयो, अगिल्लो राति कालो बिरालोले बाटो काटेपछि ड्राइभर लकपकाएको रहेछ । त्यही बेला अशुभ भइसकेको थियो ।’ शास्त्रीको भनाइ थियो, ‘अहिले पनि हामी बिरालोले बाटो काट्यो भने बेसाइत हुन्छ भनेर अर्को कुनै मान्छे वा मोटर अघि नलागेसम्म पर्खन्छौं नि ! देवीदेवताको नाम जपेर मात्र हिँड्छौं । त्यति बेला पनि चालकले गाडी रोक्न खोज्यो तर धेरै ढिलो भइसकेकाले गाडी लकपकाएको कारण थाहै नदिई उसले सिंहदरबारतर्फ कुदाइहालेछ ।’

आमचुनावमा प्रत्यक्ष निर्वाचित जनप्रतिनिधिहरु प्रजातन्त्रको जग बलियो बनाउने र मुलुकलाई तीव्र विकासको पथमा लैजाने सपनाका साथ मध्यरातमा शपथ लिने क्षणको व्यग्र प्रतीक्षामा थिए । जितेर आएको दुई महिनापछि सुरू हुन लागेको शपथग्रहण समारोहमा उत्साहको कमी थिएन । सांसदहरु देशलाई शीघ्रातिशीघ्र विकास गर्ने सोचिरहेका थिए, जसमा कम उमेरका अल्लारे ठिटा र अनपढहरुकै बाहुल्य थियो । समग्र देशको साक्षरता पाँच प्रतिशतभन्दा मुनि रहेको त्यो समाजका लागि संसद्‌मा धेरै अशिक्षित पुग्नु कुनै अनौठो विषय थिएन ।

ग्यालरी बैठकमा सांसदहरु एकत्रित भएपछि संसद् सचिवालयका सचिव कुलशेखर शर्माले राजाका प्रमुख सचिव हंसमान सिंहद्वारा जारी दरबारको पत्र पढेर सुनाए‚ ‘गुल्मी उत्तर–पूर्व क्षेत्र नं. ८९ बाट निर्वाचित सांसद गिरिप्रसाद बुढाथोकीलाई कार्यकारी अध्यक्ष नियुक्त गर्न श्री ५ का हजुरमा प्रधानमन्त्री बीपी कोइरालाले मौखिक बिन्ती गर्नुभएकोमा प्रतिनिधि सभाको काम चालू गर्नलाई श्री गिरिप्रसाद बुढाथोकीलाई कार्यकारी अध्यक्ष मनोनित गर्न स्वीकृति प्रदान गरिबक्सेको छ ।’

प्रतिनिधि सभा बैठक प्रारम्भ हुँदा रातिको ठीक १२ बजिसकेको थियो ।

त्यसलगत्तै सचिव शर्माले ज्येष्ठ सदस्य बुढाथोकीलाई पद तथा गोपनीयताको शपथ गराए । श्री ५ (राजा) प्रति भक्तिपूर्वक कृतज्ञता प्रकट गर्दै बुढाथोकीले बैठकको अध्यक्षता ग्रहण गरे । अनि सबभन्दा पहिला प्रधानमन्त्री बीपी कोइरालालाई शपथ गराइयो । क्रमशः मन्त्रिपरिषद्का सदस्यहरु सुवर्णशमशेर राणा, गणेशमान सिंह, रामनारायण मिश्र, काशीनाथ गौतम, परशुनारायण चौधरी, शिवराज पन्त, सूर्यनाथ दाससहित सबै मन्त्री र प्रतिनिधि सभाका कुल १०९ मध्ये १०६ सांसदले शपथ लिए ।

मन्त्रिपरिषद्का अध्यक्षसमेत रहिसकेका कांग्रेस नेता सुवर्णशमशेर तिन र कांग्रेसकै अर्का नेता शिवराज पन्त दुई क्षेत्रबाट विजयी भएकाले ३ वटा सिट खाली नै थियो । असार १८ गते सभामुखको निर्वाचन गर्ने मिति तय गर्दै पहिलो बैठक रातको दुई बजे सकियो । मन्त्री र केही सांसद मात्र गाडीमा चढे पनि अधिकांशले पैदलै घर फर्कनुपर्‍यो । संसदीय दलका सचिव रेग्मी सम्झन्छन्‚ ‘सुनसान रातको समयमा पैदलै नक्सालस्थित डेरामा पुगें । अधिकांश सांसद मजस्तै गाडी नभएकाहरु नै थिए ।’

                                                           संसद भवन, ग्यालरी बैठक
मध्यरातकै साइत किन ?
दरबारले मध्यरातमा जननिर्वाचित संसद्को बैठक बोलाएर शपथको समय किन रोज्यो होला ? ‘संसदीय व्यवस्था पक्षधरहरुबाट दरबारको दाउपेच बुझ्ने प्रयास कहिल्यै भएन । संसद्भित्रै लामो समय काम गरेकाहरुले समेत मध्यरातमा प्रतिनिधि सभाको पहिलो बैठक भएको घटना याद गरेका छैनन् । बरू यस्तो विचित्र समय रोजिएकोमा उनीहरु अहिले आएर आफैँ छक्क पर्छन् ।’ २०१६ असार १७ गतेको गोरखापत्रमा लेखिएको छ‚ ‘१२ बज्नुभन्दा अघि सुरू भएको बैठक २ बजे सकियो ।’ मध्यरातमा बैठक बोलाउनाको कारणबारे गोरखापत्रमा भनिएको छ‚ ‘असार १६ गते श्री ५ महाराजाधिराज महेन्द्रको शुभजन्मोत्सव र असार १७ गते स्वर्गीय श्री ५ त्रिभुवनको जन्मजयन्ती । दुवै ऐतिहासिक तिथिलाई शुभमुहूर्त पारी सभाको पहिलो बैठक असार १६ गते मध्यरातमा बसेको हो ।’

हुन त मध्यरातमा संसद्को बैठक बस्नुलाई त्यो बेला आशङ्काको दृष्टिले हेरिएन । किनभने भारतमा पनि अंग्रेजको उपनिवेशबाट मुक्त भएपछि संसद्को पहिलो बैठक मध्यरातमै सुरू गरिएको थियो । ‘अंग्रेजको उपनिवेशबाट मुक्त भएपछि मध्यरातमा संसद् भवनबाट जवाहरलाल नेहरुले ऐतिहासिक भाषण ‘नियत से मिलन’ (ट्रिस्ट विथ डेस्टिनी) दिँदै मुलुक नयाँ बिहानीमा प्रवेश गरेको सन्देश प्रवाह गरेका थिए ।’ (वेंकटरमन, सन् १९९४ : ५०)

नेपालमा दरबारियाहरुले सबैभन्दा अशुभ साइत पारेर बैठक बोलाएको रहस्य धेरै पछि मात्र सार्वजनिक गरे । ‘त्यही समयमा बैठक सुरू गरियो भने संसद् धेरै चल्दैन भन्ने ज्यौतिषीहरुको सल्लाहमा राजाले राति ११:४५ बजे नै बैठक बोलाएका थिए ।’ ‘त्यतिबेला दुवै राजाको जन्मदिन पार्ने भनेर मध्यरातमा संसद् आह्वान गरेको भनियो । तर संसद्लाई पङ्गु बनाउने र असफल पार्ने दरबारियाहरुको एउटा षड्यन्त्र अनुरुप योजना बनाइएको रहस्य धेरै पछि मात्र थाहा भयो ।’

महङ्खवपूर्ण घटना र विशेष निर्णय लिनुअघि साइत हेर्ने दरबारको चलन शाह वंशका अन्तिम राजा ज्ञानेन्द्रको पालासम्मै कायम रह्यो । ‘यात्रा गर्दा पनि साइतबेगर नहिँड्ने चलन थियो । झन् राजा महेन्द्रको पालामा त अधिकांश गतिविधि रातमै हुन्थे । धार्मिक व्यक्तिहरुसँग उनी रातमै सल्लाह लिन्थे । नाम चलेका साधुसन्तसँग राजा महेन्द्र प्रायः राति नै भेट्ने गर्थे ।’

‘पहिलो अधिवेशन सुरू भएकै दिनदेखि आज विघटन हुन्छ, भोलि हुन्छ भन्ने हल्ला चलाइयो । अन्ततः २०१७ पुस १ गते संसद् भङ्ग गरिएपछि मात्र दरबारिया षड्यन्त्र पर्दाफास भयो ।’

ज्योतिषशास्त्रअनुसार मीन लग्नमा बैठक बोलाइएको देखिन्छ । यस्तोमा नयाँ काम सुरू गर्दा अस्थिरता हुन्छ । लग्नमा केतु परेको छ । केतु पाप ग्रह हो । बैठक बोलाउँदाको समय राहुको सप्तम दृष्टि परेको छ, जसको प्रभावले गुरू चण्डाल योग बनेर राजनीतिमा अन्योल र अस्थिरता बढ्ने विश्वास गरिन्छ । मेष राशिका प्रधानमन्त्री बीपी (राशिको नाम चूडामणि) लाई अनिष्ट हुने साइत मिलाएर शपथ गराइएको छ ।

‘प्रधानमन्त्री बीपीसँगै संसद् सदस्यहरुको शपथ गराइनुले संसदीय व्यवस्थालाई असफल बनाउने सुनियोजित योजना नै थियो भन्ने देखिन्छ ।’
हुन पनि मुलुकको पहिलो निर्वाचित संसद्का दुईवटा अधिवेशनमात्र हुन पाए । १८ महिनामै जननिर्वाचित संसद् भङ्ग गरेर राजाले निरङ्कुश पञ्चायती व्यवस्थाको सूत्रपात गरे । देश ३० वर्षसम्म निर्दलीय पञ्चायती व्यवस्थाको गोलचक्करमा फस्यो ।

६ पैसे टिकट
प्रथम संसदको अधिवेशन प्रारम्भ भएको उपलक्ष्यमा प्रधानमन्त्री बीपी कोइरालाले सिंहदरवारको स्टेट हलमा रात्रिभोज आयोजना गरे । जसमा राजा रानीसहित वरिष्ठ पाहुना उपस्थित थिए ।

त्यसैगरी संसद बैठक शुरु भएको स्मरणमा ६ पैसाको हुलाक टिकट जारी भयो । प्रधानमन्त्री कोइरालाले संसदको बैठक चित्राङ्कित हुलाक टिकटमा पहिलो टाँचा लगाएका थिए ।

अन्वेषणबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *