कथा : म मेरो हुन चाहन्छु

आज धेरैपछि तलतल लाग्यो । तीन दिनसम्म त एक सर्कै नतानी बिताइएछ । अन्तिम सर्को मुखमा पर्दा कसम खाएको थिएँ । अब कहिल्यै तान्ने छैन । तर तीन दिन वित्दै गर्दा मनले भन्न थाल्यो अहो यत्रो दिन मैले कसरी सर्को नतानी बिताएँ हँ ? मनै त हो छिनछिनमा फेरिन के को आइतबार ?

खासमा यो छुटाउनै नसक्ने लतले मेरो ऊर्जाशील जीवनको एउटा पाटोलाई जीवनभरका लागि ब्रेक लगाइदियो । म यो सर्कोको लतबाट बाहिर आउन सकिनँ न त्यो नशालाई कम गर्न नै ।

लो बेडको घर्रामा लुकाएर राखेको रेजिला र सर्कोको कच्चा पदार्थ अलिकति झिक्छु । झिक्दै गर्दा बिहे गरेको एक वर्षमै छोडेकी मेरी श्रीमतीको याद आउँछ । दुई वर्षअघि नगरकोटको माउन्टेन मिस्टिकमा उसले भनेकी थिई- बाबा, यो नखाए हुँदैन ? बिस्तारै कम गरे हुँदैन ? मलाई साह्रै नरमाइलो लाग्छ तपाईंले यस्तो गरेको देख्दा…

म चुपचाप रेजिलामा धुलो लोड गर्न व्यस्त थिएँ । मैले उसको अनुहारमा पुलुक्क हेरेँमात्र‚ कुनै प्रतिक्रिया दिएको थिइनँ । उसका आँखा पिलपिल भइसकेका थिए ।

तिमी केटीहरूलाई जे कुरामा पनि रुनमात्र आउँछ है ! मैले विष नै त खाएको छैन नि यार । कति ठुलो कुरा जस्तोगरी किन रुनुपर्‍यो के ? त्योमाथि यो ‘वीड’ स्वास्थ्यका लागि राम्रो कुरा हो । नपत्याए गूगल गर । रिसले बिग्रिएको मेरो मुखले उसलाई चुप गराउन यति वचन काफी थियो । ऊ फोनमा के हेर्दै थिई ? कतै गूगल नै गर्न लागेकी थिई कि ? जे गरोस् मलाई बाल थिएन । उसको दुखेको मनलाई बेवास्ता गर्दै लोडेड वीड फायर गरिदिएँ ।

खासमा यो छुटाउनै नसक्ने लतले मेरो ऊर्जाशील जीवनको एउटा पाटोलाई जीवनभरका लागि ब्रेक लगाइदियो । म यो सर्कोको लतबाट बाहिर आउन सकिनँ न त्यो नशालाई कम गर्न नै ।

जीवन धुवाँ न हो । उडेरै जानु छ भने अहिले पनि धुवाँसँगै उड्ने नि ! मेरो आफ्नै दर्शन थियो‚ यो जीवनप्रति । सबैभन्दा बढी मलाई प्रभावित गरेको दर्शन ।

जेसुकै होस् आज खाने नै हो । म सक्तिनँ अब धेरैबेर नर्मल भएर बस्न । सुस्त घर्रा बन्द गर्छु अनि लाग्छु जक्सनतिर ।

घरभन्दा अलि पर मेरो आफ्नै जक्सन छ‚ जहाँ कसैको आउजाउ हुँदैन । जक्सनमा त मानिसको भिडभाड हुनुपर्ने तर यो जक्सन शान्त हुन्छ । काठमाडौंको आधा भाग हेर्दै मलाई बसेर वीड तान्न कम्ति आनन्द आउँदैन । बस्छु अनि पिंक फ्लोएडको ‘विस यु वयर हियर’ बजाउछु । लाखौं पटक सुन्दा पनि यो गीत उस्तै जीवन्त लाग्छ मलाई । यो गीत सकिएर गन्स एण्ड रोजेजको नोभेम्बर रेन बज्दा गाँजाको पहिलो सर्को फोक्सोसम्म पुग्नेगरी तान्छु । मलाई स्वर्गीय आनन्द पाउनबाट कसले रोक्ने ? जीवनभरिको दुःख एक सर्कोले लैजान्छ ।

अर्को सर्को तान्दै गर्दा मलाई खै किन हो‚ फेरि छोडेर गएकी श्रीमतीको याद आउँछ । हिजो भर्खर उसले आफ्नो फेसबुकमा लेखेको एउटा पोस्ट भेट्टाएर साथीले मेरो इनबक्समा ठेलेको थियो । उसका हरेक कुराले मेरो मनलाई नराम्ररी निमोठेको थियो ।

अन्तिम सर्को तान्दा मनमा एउटा आवाज आउँछ- निर्मल ! तैंले त्यो मान्छेको मन दुखाएको छस् । त्यसैले तैँले उसलाई तेरो कुरा बुझाउनैपर्छ । तेरो कथा भन्नै पर्छ । तैंले बुझाउनै पर्छ तेरो भागको कथा ।

पर पर हेर्छु अनि सोच्छु । जीवनमा कहाँनिर गल्ति गरें मैंले ? कुन मोडले मेरो जीवनलाई यसरी निकम्मा बनायो ?

कहाँनेर गलत थिएँ म ? यो सबै कुरा मैले आजसम्म दुई मिनेट दिएर सोचेको थिइनँ । एकछिन आँखा बन्द गरेर मेरो विगत रिवाइन्ड गर्छु । सायद अब मैंले मेरो गल्ति खोज्न विगतका पाना नपल्टाई सुखै छैन । मैले मेरो गल्तिको पहिलो पाना नभेटी हुँदैन । अब जसरी पनि मैंले पुग्नु नै छ त्यो पहिलो गल्तिको गेटमा‚ जहाँबाट मैले गल्तिका पहाडहरू चढेको थिएँ । मन‚ मस्तिष्क दुवैलाई ठूलो सकस पर्छ । तर म आँखा खोल्नै सक्तिनँ । मैले अब सधैंका लागि आँखा खोल्न सक्नेजति आँखा बन्द गर्नैपर्छ ।

१३ वर्ष अघि-
जिल्ला स्तरीय परीक्षा सकिएको दिन‚ मेरो एकदमै मिल्ने साथीले भन्छ-
ओई घुम्न जाने हो ?
नाई यार घरमा सोध्नुपर्छ…
ह्या मुला ! १ घण्टाजतिमा आउँला नि ! हिँड् न । टेन क्लासको दाइहरू पनि हुन्छन् । रमाइलो हुन्छ ।
दिउँसो १ बजेतिर हामी गोदावरी पुग्छौं ।

जानेबित्तिकै सिनियर दाइहरू खल्तीबाट चुरोट निकाल्छन् र च्याप्छन् । साथी पनि एउटा खिल्ली समाउँछ र सल्काउँछ ।

एक-दुई सर्को तान्छ र नाक र मुखबाट धुँवाको मुस्लो निकाल्दै मतिर बढाएर भन्छ- ला एक पफ हान् ।

नाइँ म खान्नँ । मलाई खानै आउँदैन । म तर्किन्छु ।

म सिकाइहाल्छु नि !

साथी मलाई सिकाउन अगाडि सर्छ ।

अब बुझिस् कसरी खाने ? ला यी‚ यो सिङ्गै खा । ऊ प्याकेटबाट सिंगै चुरोट दिन्छ । म जीवनको पहिलो चुरोट समाउँछु र आफैं फायर हान्छु । त्यो धुवाँले मेरो मन मस्तिष्क दुवै हल्लाउँछ ।

यसरी सुरु भएको यात्रा चुरोटमा मात्रै सीमित भएन । सधैं चुरोटमात्र तानेर हुन्छ त‚ नयाँ प्रयोग गर्नुपरेन भन्दै म गाँजा हुँदै ट्याबसम्म पुग्छु । दिन‚ हप्ता अनि महिना बित्दै जाँदा मैले सबै कुराको अनुभव गर्दै गएँ । समय बित्दै गयो । साथीहरु थपिँदै गए । सर्कल ठूलो हुँने नै भयो । कुलतको दायरा पनि झन् झन् बढ्न थाल्यो ।

कलेज पढ्ने भएपछि झन् साथीहरु थपिए । साइन्स पढ्न उत्तिकै गाह्रो । एक स्टीक भौतिक गाँजाको ग्यासस्वरुप अर्थात् धुवाँ फोक्सोमा पुग्दा दिमागले मज्जाले काम गर्थ्यो । मैले प्लस टू पास गरें । र यसमा सबैभन्दा बढी योगदान गाँजाको रह्यो भन्न मैले हिच्किचाउनु पर्दैन भन्ने मेरो ठहर रह्यो ।

इन्जिनिरिङ्ग पढ्न घरबाट दबाब आयो । मैले नाई भनिनँ । परिवारवले जता जा भन्छ म मुन्टो हल्लाउँदै मानिरहें । मैले आफ्नो मनको आवाज कहिल्यै सुन्न सकिनँ । अरुकै इशारामा चल्दै मैले इन्जिनियरिङ् सकेँ ।

जब मान्छे आफैंभित्र हराउँछ, उसले आफूलाई कतै खोजेर पनि प्राप्त गर्न नसक्ने रहेछ । मैले चार वर्ष कसरी कटाएँ त्यसको मसँग कुनै सम्झना बाँकी छैन । जीवनले एउटा अजीव रूप धारण गरेको थियो । उमेरले २२ काट्दा म कोही मान्छेसँग शिर ठाडो गरेर बोल्न नसक्ने भएको थिएँ ।

एक हिसाबले मेरो सामाजिक जीवन शून्य थियो । चाँडै रिसाउने । अरूको कुरै नसुन्ने । शंका गर्ने अनि एकान्तमा बस्ने । मेरो दैनिकी । साथीहरू प्रायः आफ्ना प्रेमिकासँग हुन्थे । मलाई प्रेम भन्ने शब्द नै जोक लाग्थ्यो । साथीहरू आफ्ना प्रेम कहानी सुनाउँदा म फिस्स हास्थेँमात्र ।

एकदिन फेसबुक स्क्रोल गर्दै जाँदा मेरा आँखा एउटा पोस्टमा अडिए । मैले त्यो सबै पढेँ । खै किन किन औधी मन पर्‍यो । त्यो पोस्ट गर्ने व्यक्तिको प्रोफाइल खोलेँ र उसको प्रोफाइल एक एक गरी हेर्न थालें । जीवनमा मैले पहिलोपटक कसैको प्रोफाइल चोरी चोरी हेरें । अन्तमा त्यो अन्जान व्यक्तिलाई आफ्नो फेसबुकमा जोड्ने निर्णय गरेँ- स्क्रिनमा उसको नाम अनि फोटो हाँसिरह्यो‌ । त्यो दिन मलाई ल्यापटप बन्द गर्न मन लागेन । जीवनमा सबै मान्छेले हाम्रो मनलाई छुन सक्तैनन् । तर कोही मान्छे जीवनमा यति हलचल मच्चाउदै आउँछन् कि मनले त्यो हलचल नै मापन गर्न सक्ने रहेनछ । त्यो मिठो हलचलले मन छोएको हामीलाई दूरदूरसम्म पनि यकीन हुँदैन । हामी चुर्लुम्म प्रेममा फसिसक्दा पनि मस्तिष्कलाई स्वीकार गर्न गाह्रो पर्छ । ठिक यो अवस्थामा मन अस्वभाविक धड्किन्छ । कहिल्यै नभएको खुशीको रंग मनभरी पोतिँदो रहेछ । मैले यो सबै कुरा त्यहिबेला अनुभूत गरेँ ।

कलेज पढ्ने भएपछि झन् साथीहरु थपिए । साइन्स पढ्न उत्तिकै गाह्रो । एक स्टीक भौतिक गाँजाको ग्यासस्वरुप अर्थात् धुवाँ फोक्सोमा पुग्दा दिमागले मज्जाले काम गर्थ्यो । मैले प्लस टू पास गरें । र यसमा सबैभन्दा बढी योगदान गाँजाको रह्यो भन्न मैले हिच्किचाउनु पर्दैन भन्ने मेरो ठहर रह्यो ।

फेसबुकमा साथीको प्रस्ताव त पठाएँ तर एक हप्ता बितिसक्दा पनि स्वीकारोक्ति आएन । दिनको दशौँपटकसम्म फेसबुक खोल्न मन लाग्थ्यो । अरु होइन‚ नोटिफिकेसनमा मात्र ध्यान हुन्थ्यो । तर म खुशी हुन पाइनँ ।

६ महिना बितिसक्दा पनि मेरो मनले उनलाई बिर्सन सकेन । हात लाग्यो शून्य तर अपेक्षा मरेन । हिम्मत हारिनँ किनभने मैले जीवनमा पहिलोपटक कसैलाई मनपराएको थिएँ । हुन त तिमी मलाई मनपर्छ भन्ने ओठहरु मेरो कानसम्म नसलबलाएका होइनन् तर त्यी ओठले बोलेका मायाका शब्दहरू मेरो मनसम्म पुग्नै सकेनन् । तर अहिलेचाहिँ म उसलाई तिमी औधी मनपर्‍यौ भन्न आँतुर थिएँ ।

माघ महिनाको एक साँझ फेसबुकमा हरियाली छायो । महिना भदौ भएर के भयो त‚ मेरो मनमा त्यसले बसन्तको वहार ल्याइदियो । घाम त अस्ताउनै लागेको थियो तर मेरो मनमा भने नयाँ घाम उदाउँदै थियो ।

६ महिनासम्म मैले रातोदिन खोजेको नाम फेसबुकको नोटिफिकेसनमा झुल्किएको थियो । खुसीले मनमनै उत्सव मनायो । मन गदगद भयो । वरिपरि फुलहरु मगमगाएको भान हुन थाल्यो । चराहरुको चिरविरमा बाँसुरीको मधुर ध्वनी गुञ्जिरहेको प्रतीत भयो ।

कति समय लगाएको‚ म त तिमीलाई भेट्न तिम्रो गाउँ नै आउनेवाला थिएँ । यति लेखेर मैले उनलाई आफ्नो पहिलो अभिव्यक्ति पठाएँ । मेसेज सीन भयो तर रिप्लाई आएन । थाहा छ‚ तिमी मलाई चिन्दैनौ तर म तिमीलाई चिन्छु ।

६ महिनाभन्दा बढी समयदेखि…

तिमीले आज मेरो रिक्वेस्ट अक्सेप्ट गर्दा खुसी लाग्यो । मेसेज सिन हुने तर रिप्लाई नआउने क्रम चलिरहेकै थियो । तर मलाई रोकिन मन थिएन ।

फेरि लेखें- तिमी मेरो फेसबुकमा साथी हुनु संसारकै सुन्दर घटना हो मेरा लागि ।

यसपटक उताबाट च्याटबक्समा टाइपिङ् देखायो । उनको पहिलो टेक्स्ट आउनुअघि मेरो मुटु बेस्सरी हल्लिएको थियो । त्यहीबेला उनको पहिलो मेसेज मेरो ल्यापटपमा पप अप भयो ।

मेसेज थियो-
यति धेरै खुसी हुन जरुरी छैन । यो एकदम सामान्य कुरा हो । अर्को कुरा, म नचिनेको मान्छेसँग बोल्दिनँ । आज पनि झुक्केर साथी बन्नुभएछ । त्यसका लागि क्षमाप्रार्थी छु । अबदेखि मेसेज नगर्नु होला ।

रिप्लाई मुटु च्यात्ने खालको थियो, तर मलाई च्यातिन मन लागेन । हुन त कुरा गलत पनि थिएन । उनको रिप्लाई आउनु नै मेरा लागि ठुलो कुरा थियो ।

मैले कुनै प्रतिक्रिया नदिई ल्यापटप बन्द गरिदिएँ । ल्यापटप बन्द गर्दैगर्दा लाग्यो, जीवनमा माया हुने रहेछ । यस्तो माया हुने रहेछ‚ जसले हाम्रो सम्पूर्ण मन नपराइलाई चिरेर लैजाने रहेछ । माया साँच्चै ठुलो शक्ति रहेछ । धेरैपटक माया भन्नेबित्तिकै खित्का छाडेर हाँसेको म, आज मायामै चुर्लुम्म डुबें । यो एकतर्फी मायाको नशाले मलाई वीडले भन्दा बढी हान्यो ।

दिनहरू बित्दै गए । आजभन्दा भोलि म उनको बारेमा सोचेर बस्न थालेँ । हरेक दिन गूड मर्निङबाट बेलुका गूड नाइटसम्मका टेक्स्ट नछुटाई पठाउँथें । उताबाट कुनै रिप्लाई आउँदैनथ्यो । तर जीवनमा यदि कसैलाई मनदेखि मन पराइन्छ‚ त्यहाँ कुनै पनि आत्मसम्मान अनि अहमले रोक्न नसक्ने रहेछ । यो एकतर्फी मायाले आफूभित्र वर्षौंदेखि हुर्कंदै आएको आत्मसम्मानको अभिमान ध्वस्त पारिदियो । उनको बेवास्ताको बावजुद पनि मैले उनीसँग एकतर्फी बोल्न छाडिनँ ।

जुलाई २४ को बिहानै फेसबुकले उनको जन्मदिनको नोटिफिकेसन देखियो । महिनौँ दिनसम्म उपेक्षित भएका मेरा मेसेजहरुको रिप्लाई आउन सक्ने एउटामात्र मौका थियो उनको जन्मदिन । सकेजति सुन्दर शब्द खर्चेर मैले उनको फेसबुकको भित्ता सजाइदिएँ । अब प्रतीक्षा प्रतिक्रियाको थियो ।

मान्छेलाई आत्मग्लानी बनाउन कसैले तपाईंबाट सिकोस् । उसको मेसेज धेरैपछि फेसबुकमा देखियो । कहिल्यै नचिनेको/नभेटेको मान्छेलाई लिएर कसैले यति मरिहत्ते गर्छ ? अरूलाई यति धेरै गिल्टी फिल गराउन मिल्छ ?

बाह्र वर्षपछि । उसको मेसेज मेरो फेसबुकभरि पोखियो ।

सानी मान्छे यस्तो कुरा नगर न । म त तिमीलाई कहिल्यै नथाकी मेसेज गर्न सक्छु । मैले भनें ।

यो त सबै भन्ने कुरा हो हजुर । सुरुसुरुमा सबैलाई यस्तै हुन्छ । उसले भनी ।

कति ठूलो कुरा गर्न जानेकी यसले । बातैपिच्छे ठूलो पल्टिने रैछे ।

के मैले तिमीसँग कुरामात्र गर्न मेसेज गरेको जस्तो लाग्छ ?
मलाई के थाहा । म नचिनेको मान्छेलाई कसरी यस्तो उस्तो भन्न सक्छु र ? उसले फेरि उस्तैगरी रिप्लाई गरी ।

होइन‚ तिमी सधैं यसैगरी बोल्छौ हो र ? मैंले फेरि सोधेँ ।

हो‚ म यस्तै छु . बोल्न मन लागे बोल्नू‚ नत्र पर्दैन । उसले यतिबेला अलिकति लाइन सर्दै रिप्लाई गरी ।

म तिमीलाई भेट्न आउँछु । जन्मदिनको उपहार दिनु छ । उसको रिप्लाई माथि टेक्दै मैले पनि आफ्नो इच्छा जाहेर गरें ।

उसले बिना कुनै हिचकिचाहट ‘हुन्छ’ भन्दै अफलाइन गई । मैले आफ्नो नम्बर उसको मेसेज बक्समा छाडिदिएँ ।

यसरी हाम्रो भेट भयो । समय बित्दै गयो तर मेरो लत सिरिन्जसम्म पुगेको थियो । तर उसको अगाडि मैले आफूलाई सधैं यति गजब नाटक गरेँ कि उसले त्यसको भेउ नै पाइन ।

भेटघाट बढिरह्यो । म खुसी थिएँ‚ तर म यो लतको दलदलबाट बाहिर भने निस्कनै सकिनँ । जीवनमा कोही यति धेरै मन पर्दा पनि मैले यो लत त्याग्न सकिनँ ।

जीवनको ठूलो झुट लुकाएर म उसलाई माया गर्ने एकोहोरो मार्गमा थिएँ । भित्र डर थियो, कि यो सबै थाहा पाउँदा उसले चटक्क छाडेर पो जान्छे कि !

यही डरले थिच्दै म पिल्सिरहें । गल्ति गरेपछि डर लाग्नु स्वभाविक पनि थियो । तर ममाथि झाङ्गिदै गएको थोत्रो आत्मसम्मानले आफ्नो गल्ति स्वीकार्न कतै दिएन । म ड्रग्समा डुब्दै गर्दा उता ऊ मेरो मायामा चुर्लुम्म डुब्दै थिई ।

जीवनको नियम नपत्याउने किसिमले फरक हुने रहेछ । मैले वर्षैभरि लुकाएर अनि दबाएर राखेको झुट उसले पत्ता लगाई छाडी । मलाई लागेको थियो- अब मेरो सबै सकियो । अब उसले सदाका लागि मलाई छाडेर जान्छे । तर उसले मेरो बुझाइविपरीत मलाई पहिलेको भन्दा झन् बढी माया गर्न थाली । मैले कल्पनासमेत गर्न नसकेको सहनशीलता प्रस्तुत गरेर अडिग मेरो जीवनमा बसिरही ।

अब बिस्तारै कम गर्नू । सबै ठिक हुन्छ । अगाडि जीवन राम्रो बनाउन अब यसलाई बिस्तारै कम गर्दै लैजानुपर्छ ।

तर मैले उसलाई आफ्नो गल्ति देखाउन चाहन्नथेँ । उसको सुझाव मैले किन मान्ने भन्ने शैलीमा म उत्रिएँ । उसलाई धेरै जान्ने नहुनू भनेर थर्काएँ ।

अब मलाई रोक्ने अनि मैले लुकाउनुपर्ने कोही छैन भन्ने सोच्दै म बिनात्रास आफ्नो संसारमा झुम्म बस्न थालेँ । मलाई केही कुराको सुर्ता हुँदै भएन । मैले गर्नुपर्ने कर्म व्यवहार अनि देखाउनुपर्ने विवेक सधैंका लागि गुमाएको पत्तै पाउन सकिनँ ।

म भेज हुँ भन्ने थाहा पाएको दिनदेखि उसले मासु त्याग्दासम्म मैंले आफ्ना लागि लागेको खराब लत त्याग्न सकिनँ ।

हामीबीच केही मिलेको थिएन । सोच‚ जीवनशैली अनि सपना । ऊ र म निकै फरक थियौँ । तर अब ऊ मेरो बानी परेकी थिई । ऊबाहेक मैले अरु कसैलाई हेरिनँ । तर मलाई सबैथोक सहेर माया गरेर बसेकी उसलाई समेत उसको जत्तिकै माया दिन सकिनँ । म उसलाई पनि छाड्न नसक्ने र लत पनि त्याग्न नसक्ने अवस्थामा पुगेको थिएछु ।

एकदिन कुरै कुरामा उसले भनी- शायद अब हामी एक हुन सक्तैनौँ । यो कुराले मेरो मन छेड्यो । संसार नै अँध्यारो अनि एक्लो लाग्यो ।

किन सानी ? किन यस्तो भनेको ? मैंले भनें ।

अब केही बाँकी छैन । तपाईंले आफूलाई कहिल्यै पढ्नुभएको छ ? तपाईं कता जाँदै हुनुहुन्छ ? तपाईं के गर्दै हुनुहुन्छ ? तपाईंले चुरोट‚ गाँजा खानुस् तर तिनीहरुले तपाईंलाई नखाऊन्, बस् ! म यहि चाहन्छु । उसले बर्बरी आँसु खसाएर यो भनेकी थिई ।

मसँग बिहे गर्‚ म सबै छाड्छु । मैंले भनें ।

तिमीलाई जति माया गरेपनि वा जति चाहेपनि अब म कदापि तिम्रो हुन सक्तिनँ‚ किनभने अब पहिला त म मेरो हुनुपर्छ ।

ऊ कुनै प्रतिक्रिया नदिई त्यहाँबाट गई । घर गएर रुँदै सबै कुलत छाड्ने वाचा गरें । ऊ बिहेका लागि राजी भई ।
एक महिनाभित्र हाम्रो बिहे भयो । बिना कुनै डर म सुध्रिन्छु भन्ने आशमा उसले जीवनको सबैभन्दा ठुलो कदम एक झोकामा उठाई । उसले सोचेकी थिई- शायद अब सबै ठिक हुन्छ । तर मैले आफ्नो तलतल मेट्न सकिनँ । लत छाड्न सकिनँ । ऊभन्दा प्यारो मलाई त्यही गाँजा, गोटी‚ ड्रग्स भयो ।

मैले कतै आफूलाई एकछिन उभ्याउन सकिनँ । यो सबै थाहा पाएको दिनदेखि उसको जीवनको घाम अस्तायो । मैले कहिल्यै उसलाई हाँसेको देख्न पाइनँ । आँसु आसुमै ६ महिना बित्यो । ऊ उसको आफ्नै आँसुमा डुबेकी थिई‚ अनि म आफ्नै उराठलाग्दो संसारमा ।

प्रिय सानी !
यो नै मेरो जीवनको घिनलाग्दो कथा हो । मैले तँलाई बिहे गरेर तेरो जीवनमाथि ठूलो घात गरेको छु । मलाई लागेको थियो कि बिहेपछि सबै ठिक हुन्छ तर केही ठिक भएन । हुँदै भएन । मैले आफूलाई राम्रो बनाउन सकिनँ । त्यस्तो माया गर्ने बुढी पाउँदा समेत आफूलाई बलियो बनाउन सकिनँ ।

तर सानी, मैले तिमीलाई छाड्नु गलत होइन‚ किनभने तिमीजत्तिको मान्छेले धेरै माया, सम्मान अनि ईज्जत पाउनुपर्छ । मैले त सुरुदेखि नै झुटमात्र बोलें । तलाई दुःखमात्र दिएँ । आज लाग्यो- जति दुःख दिएँ‚ दिएँ । अब दिन्नँ । म तिम्रो लायक छैन र जीवनभर हुनेछैन । म अब एक्लै हुनुपर्छ । यो जीवनमा अब मैले एक्लै बाँच्नुपर्छ‚ किनभने मैले लागुऔषध होइन‚ लागुऔषधले मलाई खाएको पत्तै पाउन सकिनँ ।

तिमी जहाँ गएपनि माया अनि सम्मान पाउनेछौ । तिमी यो सबैका लागि योग्य छौ । तिमी खुसी भएर आफ्नो स्वतन्त्र जीवन बाँच ।

सकेँ भने म अब आफूलाई एक्लै सुधार्ने प्रयास गर्छु ।

तिमीलाई जति माया गरेपनि वा जति चाहेपनि अब म कदापि तिम्रो हुन सक्तिनँ‚ किनभने अब पहिला त म मेरो हुनुपर्छ । र म मेरो हुने कोशिसमा छु ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *