यसरी तिर्खा मेटिँदैछ (कविता)

हो – जीवनका प्रारम्भिक चरणहरूदेखि नै
मलाई उकुसमुकुस हुन्थ्यो तिर्खाले,
मनभित्र पैदा भएका अनन्त तृष्णाहरू
मेरो मुखले पटक पटक उग्राउँदै उगेल्न चाहन्थ्यो,
तर उकालोको यात्रामा मेरा तिर्सनाहरू असफल हुन्थे
फेरि गुँडुल्किएर मनकै अनन्त फाँटमा पुग्थे ।

म ती सबै तृष्णा र तिर्सनालाई
तिर्खामा व्यक्त गर्न चाहन्थे, कविता लेख्थे, गीत गाउँथे,
कतिकति बेला म तिर्खाहरूलाई प्यासको रूपमा बुझ्थे,
र पानी खान्थे । मही पिउँथे । बेलाबेला म सर्बत पनि खान्थे तिर्खा मेट्न ।
तर ती भित्री तृष्णा कहिलै तिर्खामा रूपायित भएनन्
रूपायित भए त आकाङ्क्षामा र अन्त्तत: महत्त्वाकाङ्क्षामा
अनि, तिर्खामा ब्यक्तिनुपर्ने तिर्सनाहरू रूपायित हुँदै गए सपनामा ।।

राजा थिए र लोकसम्मतिको आधारमा चलेको थियो शासन
मरिहत्ते गर्थ्यो ऊ बाहिरी तिर्खाहरू र उसले
शुद्धीकरण नगरेकै भए पनि धाराबाट पानी पठाउँथ्यो
अनि दबाउन चाहन्थ्यो भित्रका सबै चाहना र आकाङ्क्षाहरू ।।

पञ्चायत फालिएसँगै बजार अगाडि सरेथ्यो मेरो तिर्खा मेट्न
कोको-कोला, फ्यान्टा, पेप्सी र ड्युहरू आए
मैले खाइहेरेँ मेटिन्छ कि तिर्खा भनेर,
अहँ मेटिएन मेरो तिर्खाहरू, ती त बरु उल्टै आए उगालउगाल,
अत्यन्त नमीठो स्वादका र सँगै आए अनन्त झुसिला डकारहरू ।।

हुँदै जाँदा दलैदलले चलाउने गणतन्त्रको राज आयो
लोकसम्मतिले चलेका राजाका ठाउँमा
दलसम्मतिले चलेका धम्बरधुसहरू तम्सिए मेरो तिर्खा मेट्न,
राजाको लोकसम्मतिजस्तै छ तिनको दलसम्मति,
दलहरू मकै भुट्दा तातेको हाँडीको पिँध झैँ चर्चरी चिरिए तर पटक्कै फुटेनन् कहिल्यै,
मानौँ विश्वले एकता के हो भन्ने सिक्ने यिनैबाट हो,
तिनै हाँडीबाट लोकतन्त्र तप्पतप्प चुहिएको छ आज,
अनि, मजस्तै अनन्त तिर्खालुहरू आँ गरेर मुख बाइरहेछन् हाँडीका पिँधतर्फ,
हाम्रा आम तृष्णा, तिर्सना र तिर्खाहरू यसैबाट तृप्त हुँदैछन् अनन्त अनन्त ।।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *