प्रधानमन्त्रीको सिंहदरबार ‘फोबिया’

काठमाडौं । एमाले—माओवादी केन्द्रबीचको गठबन्धनबाट ०७४ फागुन ३ गते मुलुकमा झन्डै दुईतिहाइ बहुमतको सरकार गठन भयो, सरकारको नेतृत्व गर्ने अवसर एमाले अध्यक्ष केपी शर्मा ओलीले पाए । त्यसपछि फागुन ३ गते नै पदभार सम्हाल्दै पहिलो मन्त्रिपरिषद् बैठक सिंहदरबारमै बोलाएका प्रधानमन्त्री ओली त्यसपछि भने आक्कलझुक्कल मात्र सिंहदरबारमा झुल्किएका छन् । कुनै शिलान्यास र उद्घाटनबाहेक उनी सिंहदरबारको कार्यालयमा पुगेको विरलै अभिलेख छ ।

बालुवाटारस्थित सरकारी निवासबाटै काम गरिरहेका प्रधानमन्त्री ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत रहेको सिंहदरबारबाट आफ्नो नेतृत्वमा सरकार बनेको तीन वर्ष पुगेको अवसरमा गत वर्षको फागुन ३ गते सम्बोधन गरे । त्यसअघि प्रधानमन्त्री ओलीले पुनः निर्मित सिंहदरबारको उद्घाटन गरेका थिए ।

बन्दाबन्दी नहुँदै सिंहदरबार नपुगेका प्रधानमन्त्री ओली बन्दाबन्दीबीच सिंहदरबार नपुग्ने कुरै भएन ।

‘कोरोना महामारी’पछि त उनी बालुवाटारबाटै सबैजसो काम गर्दै आएका छन् । सरकारी काम मात्र होइन पार्टीका बैठकसमेत बालुवाटारमै बस्दै आएका छन् । ०७६ फागुन २१ गते दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीलाई केही समय हिँडडुल कम गर्न चिकित्सकले सुझाएका थिए । तर देशका विभिन्न ठाउँका एकैदिन हुने कार्यक्रमहरुमा धपेडीका साथ पुग्ने प्रधानमन्त्री ओली बालुवाटारबाट करिब ४ किलोमिटरको दूरीमा रहेको सिंहदरबारको सुविधासम्पन्न कार्यकक्षमा भने जाने जाँगर खासै गर्दैनन् । ०७७ पुस ५ गते आफूले पहिलो पटक संसद् विघटन गरेपछिको अवस्थामा उनको सक्रियता अत्याधिक थियो ।

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै ०७७ चैत्र ११ गतेदेखि करिब ४ महिनासम्म बन्दाबन्दी भयो । बन्दाबन्दी नहुँदै सिंहदरबार नपुगेका प्रधानमन्त्री ओली बन्दाबन्दीबीच सिंहदरबार नपुग्ने कुरै भएन ।

त्यसो त गत जेठ ८ गते दोस्रो पटक संसद् विघटन गरेपछि विकसित राजनीतिक अवस्थाका कारण प्रधानमन्त्री ओली फाट्टफुट्ट रुपमा नेताहरुलाई भेट्न सिंहदरबार पुग्ने गरेका छन् ।

किन जाँदैनन् प्रधानमन्त्री सिंहदरबार ?
प्रधानमन्त्री सचिवालयका सदस्यहरुले विद्यमान जोखिमका कारण प्रधानमन्त्री ओली सिंहदरबार नगएको बताउँदै आएका छन् ।

प्रधानमन्त्री कार्यालयका एक अधिकारीले मकालुखबरसँग भने— ‘शुरुमा कोभिडका कारण सिंहदरबारमा भौतिक दूरी कायम गर्न असजिलो हुने भएकाले उहीँ (बालुवाटार) बाट काम गर्नुभएको हो । यहाँ सानो कोठामा भौतिक दूरी कायम गर्न असहज भयो भन्ने कुरा थियो । त्यसपछि उहाँ आउनुभएन । अहिले पनि उहाँले प्रायः कामहरु त्यतैबाटै गर्नुहुन्छ । कोभिड जोखिम घटेको छैन ।’

ती अधिकारीकाअनुसार प्रधानमन्त्री ओलीले सिंहदरबारबाटै काम गर्ने मिति तय भएको छैन । भने— ‘उहीँबाट काम गर्नुहुन्छ र अहिले पनि उहीँबाटै काम गर्दै हुनुहुन्छ । यताबाट काम गर्नेबारे जानकारी छैन ।’

प्रधानमन्त्री सिंहदरबार नजानु विधिलाई नमान्नु हो
राजनीतिक विश्लेषक पुरञ्जन आचार्य प्रधानमन्त्री सिंहदरबार नजानु भनेको विधि नमान्नु भएको रुपमा बुझ्छन् । भन्छन्— ‘प्रधानमन्त्री जानुपर्ने ठाउँ नै सिंहदरबार हो । तर, उहाँ जानुहुन्न । लामो समययता जानुभएको थाहा छैन । यो भनेको चाहिँ उहाँले विधिलाई स्वीकार्नुभएन भन्ने हो ।’

त्यसो त जानकारहरुले बालुवाटारबाट शासनसत्ता सञ्चालन गर्नु अपारदर्शी रुपले मुलुक चलाउनु भएको लामो समययता बताउँदै आएका छन् । विश्लेषक आचार्य थप्छन्— ‘बालुवाटार त निवास हो, कार्यालय होइन । निवासबाट शासनसत्ता चलाउनु भनेको मनपरी गर्नुजस्तो पनि हुन्छ ।’

सिंहदरबारमा सुविधासम्पन्न प्रधानमन्त्री कार्यकक्ष
सिंहदरबारमा प्रधानमन्त्रीको सुविधासम्पन्न कार्यकक्ष छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले भ्याटबाहेक ८७ करोड रुपैयाँमा लागतमा प्रधानमन्त्री कार्यालय प्रबलीकरण गरेको छ । पुरानो भवनको तीन मोहडा प्रबलीकरण गरी प्रधानमन्त्रीको लागि नयाँ कार्यकक्ष तयार गरिएको छ, जसको प्रधानमन्त्री ओली स्वयम्ले गत फागुनमै उद्घाटन गरिसकेका छन् । तर, उनी त्यहाँ उद्घाटनयता एकपटक मात्र पुगेका छन् ।

प्राधिकरणले अन्तर्राष्ट्रियस्तरको सेवासुविधा रहनेगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको कार्यकक्ष तथा बैठक कक्षहरू निर्माण गरेको बताएको छ । प्रबलीकरण गरिएपछि पुनः निर्मित यो भवनले ८ रेक्टरसम्मको भूकम्पसमेत थेग्न सक्ने बनाइएको छ । अत्याधुनिक र सुविधासम्पन्न नयाँ भवनमा आपत्कालीन तथा अग्निनियन्त्रण संयन्त्र तथा कार्यालयमा २४ घण्टा चल्ने वातानुकूलन प्रणाली जडान गरिएको छ ।

निवासबाटै काम गर्ने प्रधानमन्त्री ओली मात्रै हुन् ?
सरकारी निवासबाटै काम गर्ने ओली एक्ला प्रधानमन्त्री भने होइनन् । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रधानमन्त्री भएपछि प्रायः कामहरु सरकारी निवास बालुवाटारबाटै गरेका थिए । प्रधानमन्त्री कोइरालाले ०६३ पछिको आफ्ना कार्यकालको धेरै समय बालुवाटारबाटै काम गरेका थिए । अस्वस्थताको कारण देखाउँदै उनले पार्टीका पनि सबैजसो काम बालुवाटारबाटै गरेका थिए ।

अहिलेका प्रधानमन्त्री ओलीले बालुवाटारबाटै काम गर्दा कर्मचारीलाई सास्ती भएको गुनासो गर्दै आएका छन् । प्रधानमन्त्री कार्यालयका अधिकारीहरुले कहिले प्रधानमन्त्री सरकारी निवासमा र कहिले प्रधानमन्त्री कार्यालयमा बैठक बस्दा अथवा जहाँ पायो त्यहीँबाटै काम गर्दा कर्मचारीहरुलाई अनावश्यक सास्ती हुने गरेको बताउने गरेका हुन् ।

सिंहदरबारबाट निर्णयपुस्तिका बोकेर सिंहदरबार जाने र आउने गर्नुपर्ने झन्झट मात्र होइन, कुनै विषयबारे छलफल वा जानकारी लिन पनि त्यहीँ पुग्नुपर्दा समस्या हुन्छ । अझ एकभन्दा धेरै मन्त्रालयको जिम्मेवारी लिएका बेला त धेरै मन्त्रालयका सचिवहरु फाइल बोकेर सिंहदरबार पुग्नुपर्ने हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *