प्रदेश १ : जनता विस्थापन गर्न खोजिए प्रतिकारमा उत्रिने सांसदको चेतावनी
विराटनगर । उदयपुरमा कबुलियती वन बनाउने निर्णयविरुद्ध प्रदेश १ को प्रदेश सभामा विरोध भएको छ । प्रदेश १ सभाको शून्य समयमा बोल्दै प्रदेश सभा सदस्य बिमल कार्की उदयपुर जिल्लाको बेलका नगरपालिकामा कबुलियती वन बनाउनेबारेमा भएको निर्णय तत्काल खारेज गर्न माग गरे ।
‘कोशीटप्पुको १७६.२३ हेक्टर जमिन निजी कम्पनीलाई लिजमा दिने भन्ने कुरा आएको छ,’ कार्कीले भने, ‘सरकारको यो निर्णयले २ हजार बढी घरधुरीका दशौँ हजार बढी नागरिक बसोबास गरिरहेका छन् ।
उनीहरु विस्थापित हुने अवस्था आउँछ ।’ भुमीसम्बन्धी समस्या समाधान आयोगले जमिन जोत भोग गरेको आधारमा उनीहरूको लागत संकलन गर्ने काम पनि गरिरहेको अवस्थामा जग्गा जमिनको धनी प्रमाणपूर्जा पाइन्छ भनेर बसेका नागरिकलाई अहिले विभिन्न व्यक्तिहरू गएर हट्नुपर्छ भनेर धम्क्याउन थालेपछि झडप हुन थालेको कार्कीले सदनलाई जानकारी गराए ।
२० औँ वर्षदेखि जोतभोग गर्दै आएका नागरिकलाई जग्गाधनी प्रमाणपुर्जा दिने व्यवस्था गर्न कार्कीले सरकारको ध्यानाकर्षण गराए । संघीय सरकारले गत जेष्ठ ६ गते कबुलियत वनको नाममा निजी कम्पनीलाई जग्गा लिजमा दिने भनिएको निर्णय खारेज गर्न उनले माग गरेका छन् ।
‘जनतालाई गलत प्रवृत्तिले उठिवास गर्ने खालका गतिविधि हुन्छन् भने जनप्रतिनिधिले जस्तोसुकै कदम चाल्न तयार रहेका छन्,’ उनले भने, ‘सरकारले जबरजस्ती गरेमा जस्तोसुकै दुर्घटना हुनसक्छ‚ त्यसको जिम्मेवारी सरकारले लिनुपर्छ ।’
उदयपुर जिल्लाको समस्याका बारेमा ध्यानाकर्षण गराउँदै सांसद सुनिता कुमारी चौधरीले कबुलियती बनको नाममा निजी कम्पनीलाई ३० वर्षका लागि जग्गा भाडामा दिने निर्णयले जनताको उठिबास लगाउन खोजेको आरोप लगाइन् ।
राजनीतिक संरक्षणमा केही कम्पनीले जनतालाई उठिबास लगाउने काम हुन्छ भने त्यसको प्रतिकारमा जनप्रतिनिधि लाग्ने उनले चेतावनी दिइन् । ‘केही कम्पनीले राजनीतिक आडमा ३० वर्षको ठेक्कामा जग्गा लिएर नागरिकलाई उठिबास लगाउने प्रयास भएको छ,’ उनले भनिन्, ‘२० हजार जनतालाई उठिबास लगाउन खोजिन्छ भने हामी जनताको पक्षमा उभिनेछौँ ।’ उनले स्थानीय वन भिडिजन कार्यालयको सिफारिसमा नागरिकलाई उठिवास लगाउने काम भएको बताइन् ।
नबन्दै भत्कियो पुल
प्रदेश सभाको शून्य समयमा बोल्दै सांसद चौधरीले त्रियुगा नगरपालिकामा निर्माण हुँदै गरेको पुल निर्माण सम्पन्न नहुँदै भत्किएको सुनाइन् । ‘१२ वर्षदेखि निर्माण सम्पन्न नभएको पुल निर्माण पुरा हुँदैगर्दा त्रियुगा खोलामा आएको बाढीले पुल भासिएको छ,’ उनले भनिन्, ‘त्यहाँ ठेकेदार र इन्जिनियरको कमजोरी भएको हुनाले सम्बन्धित निकायलले छानबिन गरोस् ।’
उदयपुरकी सांसद अम्बिका थापाले चौदण्डीगढी नगरपालिकाको बेलाहा र वडा नम्बर ५ को सिवाई सुन्दरपुर जोड्ने पक्की पुल निर्माणधीन अवस्थामा भासिएको बताइन् । १२ वर्ष पहिला निर्माण शुरु भएको पुलको काम निर्माण सम्पन्न नहुँदै केही दिनअघि आएको बाढीले भासिएको छ ।
३ वर्षमा सक्नेगरी लक्ष्मी लोकप्रिय जेभीका ठेकेदार राजेन्द्र अर्यालले सम्झौता गरेकोमा त्यो पुल निर्माण पुरा नहुँदै भासिएको थापाले सदनलाई जानकारी गराइन् । ‘२०६६ सालमा सम्झौता भएको पुल १२ वर्षसम्म पनि सम्पन्न हुन सकेन,’ उनले भनिन्, ‘अब केही दिनमा सम्पन्न हुन्छ भन्ने आशामा रहेका जनतालाई निराश बनाउने काम भएको छ ।’
शून्य समयमा सांसद विजय विश्वास र कुसुमकुमारी श्रेष्ठ आफ्नो निर्वाचन क्षेत्रमा भएको समस्याको बारेमा सरकाको ध्यानाकर्षण गराएका थिए ।