फर्केर हेर्दा सती-प्रथा
नेपाली बृहत् शब्दकोशमा ‘सती’ शब्दको अर्थ ‘आफ्ना पतिबाहेक परपुरुषको कामना नगर्ने स्त्री‚ पतिव्रता‚ साध्वी हो, अर्थात् पतिको शवसँगै चितामा जलेर मर्ने स्त्री ।’ पतिको मृत्युपछि उसको पार्थिव शरीरसँगै चितामा बसेर देहत्याग गर्ने चलनलाई सती–प्रथा भनिन्थ्यो ।
सती–प्रथा विवाहित लोग्ने मरेपछि जिउँदी स्वास्नीलाई लोग्नेको लाशसँगै जलाउने वा जल्न दिने आततायी प्रथा हो । यो प्रथा नेपालमा वि.सं. १९७७ साल असार २५ गतेदेखि ऐनद्वारा निषेध गरी बन्द भएको छ ।
नेपालमा हजारौं वर्षसम्म चलेको सती प्रथाको अन्त्य भएको एक शताब्दी पुरा भइसक्यो । सती प्रथा नेपालमा कहिलेदेखि चल्दै आएको हो, यकीन छैन । त्यो क्रूर प्रथा प्राचीनकालदेखि नै प्रचलित थियो । वैदिककालदेखि चल्दै आएको सती प्रथा हिन्दु समाजमा नैतिक कानुनजस्तै हुँदै आयो ।
हिन्दु समाजमा विधवा नारीलाई एकातिर हेलाको भावले हेरिन्थ्यो भने अर्कोतिर लोग्नेको पार्थिव शरीरसँगै देहत्याग गरेमा परलोकमा पनि पतिसँगै रहन पाइन्छ भन्ने अन्धविश्वासी धारणाले जरा गाडेको थियो । पतिको पार्थिव शरीरसँग जान नसकेमा पतिको अपमान भएको विश्वासको घेराभित्र बाँधिएका विधवाहरू सती जान अनकन गर्दैनथे । त्यसैले समाजमा सती प्रथाले स्थान पाइरहन सकेको हो ।
अझै मल्लकालमा बालविवाह र बहूविवाहको बाहुल्यता थियो । जसले गर्दा सती प्रथाले अझ फराकिलो स्थान ओगट्दै आएको पाइन्छ । उपत्यकाका मल्ल राजाहरुका कयौँ रानीहरू सती गएको उल्लेख पाइन्छ । राजा रुद्र मल्लका ४ रानी, शिवसिंह मल्लकी एउटी रानी सती गएकी थिइन् । योगनरेन्द्र मल्लका ३३, पाथिर्वेन्द्र मल्लका २४ र प्रताप मल्लका ९, नृपेन्द्र मल्लका ९ रानीहरु सती गएका इतिहास हामीले पढेका छौं ।
राणा शासनलाई हामीले नकारात्मक दृष्टिले हेर्दछौं, तर राणाकालमा नेपालमा केही यस्ता उल्लेख्य कामहरू पनि भएका छन्‚ जसलाई भविष्यले पनि सम्झनेछ । सती प्रथाजस्तो भयानक नरबली रोक्नका लागि कानुनी हिसाबले अगाडि बढ्ने राणाहरू नै हुन् । वि.स १९१० मा जङ्गबहादुर राणाले सती प्रथालाई निरुत्साहित गर्न केही सुधारात्मक ऐन बनाए ।
जसमा १६ वर्षभन्दा कम उमेरका सती जान नपाउने, ५ वर्षभन्दा कम उमेरका छोराछोरी हुनेले सती जान नपाउने, दुई जीउ भएकाले सती जान नपाउने, छोराको मृत्युमा सती जान नपाउने, दासीहरू सती जान नपाउने आदि । त्यसबाट नेपाली विधवा महिलाहरुले केही राहत त पाए तर यी बाहेक अरु विधवा सती जाने प्रचलनचाहिँ जस्ताको त्यस्तै बस्यो । त्यसकारण महिलाहरू अझै चितामा जल्नुपर्ने बाध्यता रहिरह्यो र सती प्रथाको अन्त्य हुन सकेन ।
सती प्रथाको अन्त्य गर्ने श्रेय तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरलाई छ । नेपाल प्रज्ञा प्रतिष्ठान्को बृहत् शब्दकोशअनुसार १९७७ सालको असार २५ मा सामाजिक कलङ्कको रुपमा हजारौं वर्षदेखि जरा गाडेर रहेको सती प्रथा हटाउने नियम कानुन बनाएर सती प्रथाको अन्त्य भएको घोषणा चन्द्रशमशेरले गरे । प्रारम्भमा केही अन्धविश्वासीहरूले चन्द्रशमशेरको यस कार्यको विरोध गरेपनि उनले सती प्रथा सदाका निम्ति अन्त्य गरेरै छाडे ।
विश्वमा महिलामुक्तिको अवसरमा र उनीहरुको सम्झनामा विभिन्न दिवसहरू मनाउने चलन चल्दै आएको छ । अन्तर्राष्ट्रिय श्रमिक नारी दिवस मार्च ८ मा मनाइन्छ । नेपालमा पनि महिलाहरुले आफ्नो अधिकारको सुरक्षा र मुक्तिको कुरालाई लिएर यो दिवस मनाउँदै आइएको छ । तर नेपालमा नै हजारौं वर्ष पहिलेदेखि प्रचलनमा आएको सती प्रथाको अन्त्य भएको र महिलाले मुक्ति पाएको दिन भने हामीले बिर्सिएका छौं । यसको सम्झनामा कुनै कार्यक्रम गरेका छैनौँ ।
सती प्रथाको कारण कयौं महिलाहरूको बलिदान भयो । ती निर्दोष महिलाहरू जबरजस्ती जिउँदै आगोमा जल्न बाध्य भए । जुन प्रथाको अन्त्य भएको दिनलाई नेपाली महिलामुक्तिको रुपमा मनाउनुपर्दछ । के यो दिन नेपाली नारी जगतका लागि महत्वपूर्ण दिन बन्न सक्दैन र ? उक्तमुक्तिको अवसरमा हामीले कुनै सम्झना गरेका छैनौँ ।
उक्त कुरितिबाट पीडित भएका सम्पूर्ण महिलाहरुको प्रतिनिधित्वको रुपमा असार २५ मुक्तिको दिन बन्न सक्दैन ? ऊबेलाका काल्पनिक महिलाको शालिक बनाएर यस दिनलाई हामीले सम्मान र स्मरण गर्नुपर्दछ । समाजमा घोर आततायी रुपमा जरा गाडेर बसेको सती प्रथाको अन्त्य भएको आज एक शताब्दी पूरा भइसकेको छ । त्यसपूर्व अञ्जानमा या बाध्यतावश सती गएका तमाम नारीहरुको आत्माको चीरशान्तिको कामनासहित सती–प्रथाको उन्मुलन गर्ने प्रधानमन्त्री चन्द्रशमशेरको साहसी कार्यलाई धन्यवाद ।
फेसबुकबाट