पीपीईभित्रको मुस्कान
एक महिना लामो कठिन समय गुज्रिएपछिको एक दिन अर्थात् कोरोना निको भएपछिको दशौं दिन । खुट्टाहरू खासै तङ्ग्रिएका थिएनन् । तर मन तङ्ग्रियो । अनामनगरको डेराबाट बसन्तपुरसम्म पुग्ने रहर पलायो । रहरसँग शरीरको के लागोस् । रहर हिँड्यो । शरीरले पछ्यायो ।
सडकमा खासै गाडी गुडेका थिएनन् । धोबी खोलाको तिरै तिर बबरमहलतिर निस्किएँ । मनले भनिरहेको थियो, मृत्युको मुखबाट फुत्केर आइस्‚ सकेको जति हिँड् । आँखाहरू भनिरहेका थिए, देखेको जति हेर । म सधैंका लागि बन्द भदिएको भए तैंले हेर्न पाउँथिस् र ?
गाडीहरू कम गुडेको भएर होला, सडक किनारमा हुर्किरहेका बिरुवा धुलाम्य थिएनन् । फूलहरु खुलेर मुस्कुराउन पाएका थिए । दुबो गाँजिएको थियो । लाग्थ्यो, उनीहरू मलाई भनिरहेका छन्, एकैछिन आएर बस् । तैंले बाँचेको जिन्दगी उपहारमा पाएको जिन्दगी हो । डाक्टरहरुले उपहारमा दिएको जिन्दगी । केको हतार ? आइज, बस् । थकाइ मारेर जा ।
तर मन हिँड्यो । उसलाई रोकिनु थिएन । बसन्तपुर पुग्नुथियो । मनलाई पछ्याउँदै खुट्टाहरू पनि हिँडे ।
शहीदगेट अगाडि पुगेको थिएँ । छेउमै आएर, एउटा स्कुटर रोकियो । तर म हिँडिरहें । केही पाइला पर पुगेपछि बिस्तारै गुड्दै आएर फेरि रोकियो स्कुटर । यस पटक हर्न पनि बज्यो । हर्न बजेपछि म रोकिएँ । हरियो रङको स्कुटरमा, हरियै रङको टप्स् र कालो जिन्स लगाएकी युवती थिइन् । हेल्मेट खोलिन् । मास्क र कालो चस्मा लगाएकी । उनलाई यसअघि मैले कहिल्यै देखेको थिइनँ । देखेकै भएपनि मास्क र चस्मा लगाएपछि कसरी चिन्नु । मैले नचिनेको भावमा हेरिरहें ।
चिन्नु भएन ? उनी बोलिन् । आवाज कतै सुनेको हो कि झैं लाग्यो । तर कहाँ र कहिले, ठ्याक्कै अन्दाज लगाउन सकिनँ । नचिनेको भावमा टाउको हल्लाएँ । सायद मुस्कुराइन् होला । मास्कभित्र मैले कसरी देखुँ ? फेरि बोलिन्, ‘तपाईंले पक्कै चिन्नुहुन्छ ।’ तपाईंसँग मैले जीवनका १९ दिन गुजारेको छु । दिनमात्रै होइन, १९ रात पनि ।
होइन होइन, तपाईं झुक्किनुभो । म तपाईंले भनेको मान्छे होइन । मास्क लगाएको भएर चिन्नु भएन कि ! मैले मास्क खोलिदिएँ । अब त प्रष्ट भो होला नि ! म फिस्स मुस्कुराउँदै बोलें ।
मेरो कुरा सुनेपछि उनी सुनिनेगरी हाँसिन् । ‘मास्क खोलेर झन् प्रष्ट बनाइदिनुभो । तपाईं त्यही मान्छे हो‚ जसलाई म पढिरहेकी हुन्छु । तपाईंले अवश्य चिन्नुहुन्छ । चिन्नुभएन भने पनि गुनासो हुने छैन । बरु कहाँसम्म जाँदै हुनुहुन्छ ? मिल्छ भने म छाडिदिउँ ?’
उनको आग्रह स्वीकार्नुअघि, मैले अनुरोध गरें‚ ‘मास्क खोल्नुस् त‚ चिन्छु कि !’
मास्क र चस्मा दुवै खोलिन् । र पनि मैले चिनिनँ ।
चिन्नुभएन हैन ? ठिकै छ, गुनासो छैन । कहाँ जान लाग्नुभो ? अप्ठ्यारो लाग्दैन भने म छोडिदिन्छु । उनले दोहोर्याइन् ।
मैले बसन्तपुर जान लागेको र हिँडेरै जाने बताएँ । ‘तपाईंलाई नचिनेकोमा माफी चाहन्छु । बरु नाम भन्नुहुन्छ ?’ म कहिल्यै बिर्सनेछैन । मेरो आग्रह थियो ।
‘हैन हैन । तपाईले मेरो नाम र मलाई बिर्सनुभएको होइन । बरु नसम्झिनुभएको चाहिँ हो ।’ उनी हाँस्दै बोलिन् । मेरो नामचाहिँ मुस्कान ।
आहा ! कस्तो राम्रो नाम, ठ्याक्कै तपाईंजस्तै । अब मुस्कान र मुहार दुवै बिर्सन्नँ । मैले पनि परिचय दिनुपर्छ कि ? म र मेरा आँखाहरुले एकै साथ प्रश्न गरे ।
उनको जवाफ थियो, ‘बरु मैले थर र घर पनि भन्नुपर्छ कि ?’
पर्दैन पर्दैन । नामै काफी छ । उनको प्रश्न भुईंमा खस्न नपाउँदै मैले जवाफ दिएँ ।
‘उभिएरै कुरा गर्ने ? हिँड्नुस् तपाईंसँगै बसन्तपुर जान्छु । कतै कफी खाँदै कुरा गरौंला । बाँकी चिनजान उतै होला ।’ उनले प्रस्ताव गरिन् ।
‘हैन हैन । तपाईले मेरो नाम र मलाई बिर्सनुभएको होइन । बरु नसम्झिनुभएको चाहिँ हो ।’ उनी हाँस्दै बोलिन् ।
हुन्छ, मैले सहमतिमा टाउको हल्लाएँ । यसपटक उनको प्रस्ताव स्वीकार्न कुनै गाह्रो भएन । मनमा कुनै स्वार्थ र अपेक्षा थिएनन् । तर पुरानो सम्बन्धको हिसाब खोज्नु थियो । मैले नसम्झेको, उनले नबिर्सेको साइनोको इतिहास थाहा पाउनुथियो । स्कुटर शहीदगेटबाट बसन्तपुरतिर हुइँकियो । स्कुटरमा हामी अन्जान परिचितहरू हुइँकियौं ।
विशाल बजारको पार्किङमा पुगेर स्कुटर रोकियो । त्यसपछि हामी हिँड्दै, हनुमान ढोकातर्फ लाग्यौं । कोरोनाको डर हटिसकेको थिएन । त्यही भएर होला, खासै मानिसहरुको चहल पहल थिएन । फुटपाथमा फाट्टपुट्टमात्रै थिए, पसलहरू ।
सटर अधिकांशको बन्द थिए । चिया पसल र कफी सपहरू ग्राहक पर्खिएर बसेका थिए । ग्राहकहरू भने तर्किएर हिँड्थे । हामी पनि बाटोमा भेटिएका एकादुई मान्छेहरुसँग तर्किएरै हिड्यौं । र पुग्यौं, हिमालयन जाभा कफी सप ।
ढोकाबाट छिर्दै गर्दा हामीलाई पहिलो स्वागत सेनेटाइजरले गर्यो । हात मोल्दै हामी उक्लियौं सिरानको तलामा । हामी पनि के भन्नु, म मुस्कानलाई पछ्याइरहेको थिएँ । उनी चाहन्थिन्, ठाउँ खुल्ला होस् । छतको एउटा कुनो पक्रेर बस्यौं । अरु दुई-तीनवटा जोडी थिए, उसैगरी एउटा एउटा कुनोमा बसेका । शायद् उनीहरुको लामो प्रतीक्षापछिको भेट हुँदो हो ।
भिडिओमा गफिँदा गफिँदा दिक्क भएका हुँदा हुन् । उनीहरुले भौतिक दूरी बिर्सिएका थिए । दृश्य साक्षी थियो, कि उनीहरू हामी झैं अन्जान परिचित पक्कै थिएनन् ।
हामी परपर बस्यौं तर ठिक आमुन्नेसामुन्ने भएर । मुस्कान मास्क खोलेर मुस्कुराइन् । मेरा ओठहरू पनि खुले तर मास्कभित्रै । ‘मास्क खोले हुन्छ, मसँग डराउनुपर्दैन । यसै पनि कोरोना भएर भर्खर निको हुनुभएको हैन र हजुर ?’ उनको आग्रह र प्रश्न एकै साथ आयो ।
लौ, मलाई कोरोना भएको कुरा तपाईंलाई कसरी थाहा भयो ? मैले कसैलाई भनेकै छैन । छक्क पर्दै मैले प्रश्न गरें ।
भनौंला । हतार नगर्नूस् । जवाफमा उनले यति नै बोलिन् ।
टेबुलमा हेल्मेट, चस्मा र पञ्जाले विश्राम लिए । हाम्रो मौनतालाई वेटरको आगमनले भङ्ग गरिदियो । ऊ दुरी कायम गरेरै उभियो । इशारा गर्दै सोध्यो, के लिनुहुन्छ ?
मुस्कानले मतिर इशारा गरिन्, के लिने ?
मैले भनें, कफी ।
‘अरु केही ?’ यसपटक वेटरले मुख फोरेरै सोध्यो ।
मुस्कानको जवाफ थियो, ‘पछि मगाउँला ।’
वेटर गएपछि, मुस्कानलाई मेरो पहिलो प्रश्न थियो । तपाईंले कसरी थाहा पाउनुभयो, मलाई कोरोना भएको ?
उनी फिस्स हाँसिन् र भनिन्‚ ‘तपाईंको उपचार गरिएको हस्पिटल, रुम नम्बर र बेड नम्बर पनि भन्न सक्छु । तपाईंका वरिपरी भएका बिरामीहरू र उनीहरूसँग तपाईंले मारेका बात सबै भन्न सक्छु । लेखकज्यू पुग्यो कि अरु केही भनौं ?’
यसपटक ओठको डिल नाघेरै हाँसो बाहिरियो ।
आश्चर्य भावमा मैले फेरि सोधें, ‘तपाईंलाई कोरोना भएको थियो ? अझ लेखक पनि भन्नुभो । कसरी थाहा पाउनुभो, म लेख्छु भनेर ?’
कोरोना भएको थिएन । बरु कोरोना लागेकाहरुसँग दोस्ती भएको थियो‚ जस्तो कि हजुरसँग । तर यो दोस्ती अलि विशेष छ । म त हजुरको फ्यान हुँ नि ! तपाईंका कथाहरू पढेको छु । गज्जब लाग्छन् । बरु अलि कम लेख्नुहुन्छ है ?’
मुस्कानले जिज्ञासा राखिन् ।
‘मूड चलेको बेला लेख्छु । कोरोना भएपछि मुड झनै अल्छि भएको छ । मलाई पढ्ने कोही त रैछ, खुसी लाग्यो । अनि फ्यानज्यू, हाम्रो सम्बन्धको कथा सुनाउनुहुन्छ ?’ मैले जवाफसहित प्रश्न पनि राखें ।
अवश्य, यति भनेर उनले हाम्रो चिनजानको कथा सुरु गरिन् । ‘तपाईंलाई कोरोना भएर ज्वरो आएको तेस्रो दिन अस्पताल ल्याइएको थियो । ठिक त्यही दिनबाट मेरो एक महिना लामो अस्पताल बसाइसहितको ड्युटी सुरु भएको थियो । हामी आलोपालो ड्युटी गर्थ्यौं । एक/एक महिनाको ।’
त्यसो भए तपाईं डाक्टर ? मैले बीचमै प्रश्न राखें ।
उनको छोटो जवाफ थियो । ‘होइन, डाक्टरको सहयोगी । बिरामीको सुसारे । अर्थात् नर्स ।’ यति भनेर उनले कथा अघि बढाइन् । ‘अरु बिरामीझैं तपाईं पनि सिरियस हुनुहुन्थ्यो । तपाईंलाई सिधै आईसियूमा भर्ना गरिएको थियो ।’
मुस्कान, मैले भोगेको तर मलाई यादै नभएको मेरै कोरोना कहानी सुनाउँदै थिइन् । म जिज्ञासु बनेर सुनिरहेको थिएँ ।
तपाईं अस्पताल आएको तेस्रो दिन । स्वास्थ्यमा खासै सुधार भएको थिएन । चेन्जिङमा रुममा गफ गर्दै गर्दा मलाई एकजना साथीले सुनाएकी थिई । बेड नम्बर ११० को बिरामी निकै सिरियस हुनुहुन्छ । बिचरा भर्खरको हुनुहुन्छ । हाम्रै उमेरको होला है ? अर्की साथीलाई प्रश्न गर्दै उसले कन्फर्म गर्न खोजी । ‘हो, त्यही २७/२८ को हुनुुहुन्छ होला ।’ अर्की साथीको जवाफ थियो ।
हाम्रो अस्पतालमा आईसीयू र भेन्टिलेटरमा गरेर २४ जना बिरामी थिए । वार्डमा कति थिए, ठ्याक्कै याद भएन‚ किनभने बिरामीहरू आउने जाने भइरहन्थ्यो । त्यही भएर खासै हेक्का राखिएन । तर आईसीयूमा भएकामध्ये सबैभन्दा युवा तपाईं हुनुहुन्थ्यो ।
अर्को दिन म तपाईंको बेडनजिकै पुगेर रोकिएँ । तपाईं निदाइरहनुभएको थियो । शायद केही आराम महशुस गर्नुभएको थियो होला । हिजो साथीहरुले भनेको कुरा सम्झिएँ । एक नजर तपाईंको मुहारमा पर्यो । अर्को, बिरामी पुर्जामा । कतै देखेजस्तो लाग्यो । तर ठ्याक्कै सम्झन सकिनँ । बिरामी परेपछि तपाईं दुब्लाउनुभएको थियो । दाह्री झुस्स भएको थियो । त्यही भएर होला मलाई ठम्याउन मुस्किल परेको । तर तपाईंको पुर्जाले प्रष्ट बतायो । तपाईं मैले चिनेकै मान्छे हो । मेरो प्रिय लेखक हो । सुरुमा त असाध्यै खुसी भएँ । तर छिनमै आँखा भरिएर आए तपाईंको अवस्था देखेर । हातखुट्टा लल्याकलुलुक भए । तर पनि आफूलाई सम्हालें । र फटाफट आईसीयू कक्षबाट बाहिर निस्किएँ । त्यो दिन निकै नरमाइलो लाग्यो । काम गर्न जाँगरै लागेन । कसैसँग बोल्न पनि मन भएन । चिन्तामात्रै लागिरह्यो ।
आईसीयूका बिरामीलाई रातको बेला अलि समस्या पर्थ्यो । हामी, रातिको ड्युटी परेकाहरू चनाखो हुन्थ्यौं । बिरामीहरु निदाएको बेला, अक्सिजन मास्क ठिकठाक छ/छैन हेरिरहन्थ्यौं । समाचारहरूमा सुनिन्थे, १० मिनेट अक्सिजन नपाउँदा बिरामीको मृत्यु । लाग्थ्यो यस्ता समाचार फेरि सुन्नु नपरोस् । मैले तपाईं चिनेको दिनदेखि, रातमै पारें आफ्नो ड्युटी ।
अस्पतालभित्र कहिले सन्नाटा छाउँथ्यो । कहिले कोलाहल मचिन्थ्यो । मोनिटरको आवाजले बिथोलिरहन्थ्यो शान्ति । तर त्यही मोनिटरको आवाज जीवनको सम्भावना पनि थियो । जीवनको सम्भावनासहित बज्ने आवाजहरु जति चर्को भए पनि प्रिय लाग्छन् । बिरलै देख्न पाइन्थ्यो खुसीको वातावरण । विरलै फेर्न पाइन्थ्यो सन्तुष्टिको श्वास । पीपीई लगाएर हामी बिरामीको अगाडि उभिन्थ्यौं । सक्दो हौसला भर्थ्यौं । औषधि खुवाउने त हाम्रो नियमित काम नै भइहाल्यो । अरु बिरामीलाई भन्दा तपाईंलाई ५ मिनेट बढ्ता समय दिन्थें । अलि सोधिखोजी गर्थें ।’ यसो भनेर फिस्स मुस्कुराइन्, मुस्कान ।
मलाई कथा सुनेझैं लागिरहेको थियो । आफ्नै कथा । आफैंलाई थाहा नभएको कथा ।
कफीको अन्तिम घुड्को पिउनुअघि मैले भनिदिएँ, ‘हो हो, त्यो पेजमा मैले थ्याङ्क्यू प्रिय नर्स भनेर लेखेको थिएँ ।’
मौनता चिर्दै मुस्कान बोल्न थालिन् । ‘तपाईंका अहिले झैं पुक्क परेका गाला कहाँ थिए र त्यसबेला । मैले फोटोमा देखिरहने लेखकभन्दा भिन्नै हुनुहुन्थ्यो तपाईं । थोरै बोल्नुहुन्थ्यो । खान मनै नगर्ने । खुब कर लगाउनुपर्ने । फकाउनुपर्ने । तपाईंको आफन्त बन्न पाएकी थिएँ । मलाई मेरो पेशाले दिएको सौभाग्य सम्झन्छु । खुशी लाग्छ ।
तपाईंसँग एउटा खुबी रैछ । धेरै नबोलेर पनि मान्छेहरुलाई आफ्नो बनाउन सक्ने खुबी । आईसीयू कक्षका सबै बिरामी तपाईंलाई खुब मान्थे । म पनि तपाईंको खुलेर नबोल्ने बानीको फ्यान भएकी छु । तपाईंका कथाहरुको फ्यान छँदै थिएँ । कथा लेख्नेहरु धेरै बोल्दैनन् हो ? सोच्नुपर्छ होला नि हैन ?
मुस्कानको प्रश्नमा म मुस्कुराएँ मात्रै ।
झण्डै एकहप्ता यसरी नै बित्यो । तपाईं फिर्दै जानुभो । फेरिँदै जानुभो । १४ औं दिनमा तपाईंले विजय कुमारको किताब ‘सम्बन्धहरू’ ल्याइदिनुस् न भन्नुभएको थियो । याद छ ? मुस्कानको प्रश्न थियो ।
‘याद छ, त्यसपछिका घटना सबै याद छ ।’ मैले जवाफ दिएँ ।
‘त्यसपछि तपाईं ठिक हुँदै जानुभो । म दिउँसोको सिफ्टमा गएँ । तर पनि सुत्नुअघि एकपटक आएर सोधिखोजी गरेकै हुन्थें । तपाईंले पीपीईभित्रैबाट सोधिरहने नर्सलाई मिस गर्नुभएन ?’ मुस्कानले पुलुक्क हेरेर सोधिन् ।
‘अहँ गरिनँ । कहिलै अस्पताल नबसेको मलाई त्यसबेला लाग्यो, नर्सहरुको व्यवहार यस्तै हुँदो हो । सबै बिरामीलाई यसैगरी माया गर्दा हुन् । यसैगरी सोधिखोजी गर्दा हुन् । तर अबचाँहिँ पक्कै मिस गर्नेछु ।’ मेरो जवाफले मुस्कानका आँखाहरु चम्किला भए । मलाई याद छ, म २० औं दिनमा अस्पतालबाट डिस्चार्ज भएको थिएँ । मैले ‘सम्बन्धहरू’ क्याबिनमा छोडिदिएको थिएँ नि, पाउनुभो ?
मेरो प्रश्न नसकिँदै मुस्कानले जवाफ दिइन् । ‘मैले पेज नम्बर १४१ पनि पढिसकें ।’
कफीको अन्तिम घुड्को पिउनुअघि मैले भनिदिएँ, ‘हो हो, त्यो पेजमा मैले थ्याङ्क्यू प्रिय नर्स भनेर लेखेको थिएँ ।’
‘तर प्रिय लेखकज्यू, तपाईंलाई भ्रम नपरोस् है‚ मैले अरु बिरामीको पनि उत्तिकै ख्याल गरेकी छु । तपाईं मेरो प्रिय लेखक भएकाले तपाईंसँगका पलहरु सम्झनामा छन् । फेरि कथा बनाइदिनुहोला । तपाईको भर छैन ।’ मुस्कानको आग्रहपूर्ण चेतावनी थियो ।
Congratulation rajan sir yasta kathaa haru feri pani sunn r padhna payeyos thap unnati pragtiko kamana. Ma pani tapaiko fan hmm.