कोभिड निको भएका सङ्क्रमितमा बढ्दै ‘पोस्ट्कोभिड’
काठमाडौं । कोभिड–१९ सङक्रमितको सङ्ख्या केही न्यून भएपनि पोस्ट्कोभिडका बिरामी बढ्दै गएका छन् । कोभिड निको भएपछि पोस्ट्कोभिडको समस्या देखिन थालेको हो ।
यकिन तथ्याङ्क नभए पनि उपचारमा संलग्न चिकित्सककाअनुसार पोस्ट्कोभिडका बिरामी बढ्दो सङ्ख्यामा छन् । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष फिजिसियन डा भोजराज अधिकारीले कोभिड भएर अस्पतालमा रहेकामध्ये ५० प्रतिशत पुन: परीक्षणका लागि आउने गरेका बताए । तीमध्ये आधामा केही न केही समस्या देखिने गरेको उनको भनाइ छ । अस्पताल भर्ना नभई घरमै उपचार गरेका पनि समस्या लिएर आउने गरेका उनले जानकारी दिए । पुष्पाञ्जली अस्पतालमा बिरामी परीक्षण गर्ने डा अधिकारीकाअनुसार दैनिक यस खालका बिरामी अस्पतालमा आउने गरेका छन् ।
कोभिड निको भएपछि खोकी लागिरहने, स्वाँ-स्वाँ भइरहनेजस्ता समस्या लिएर बिरामी आउने गरेका छन् । परीक्षण गर्दा कोभिड नेगेटिभ देखिने तर लक्षण भने बाँकी नै रहने समस्या देखिने गरेको बताइएको छ । उनले भने— “कोभिडपछि निमोनिया लामो समयसम्म रहिरहन्छ, छाति सफा हुन समय लाग्छ ।”
दमका पुराना बिरामीको पहिलेको भन्दा कोभिडपछि केही जटिल अवस्था हुने गरेको छ । उनले भने— “कोभिड पहिले दमको समस्या दुई नम्बर थियो भने कोभिडपछि तीन नम्बर हुने गर्दछ, दम नियन्त्रणमा थियो, त्यही अवस्थामा भएन भनेर परीक्षण गर्न आउने पनि छन् ।”
शरीर गल्ने, आलस्यता बढ्ने, खान रुचि नहुने, रिंगटा लाग्ने, छाति दुख्ने, शरीर गह्रौं हुनेजस्ता समस्या लिएर पनि बिरामी आउने गरेका छन् । कतिपय बिरामीले समस्या भएको बताए पनि परीक्षण गर्दा केही पनि नदेखिने गरेको अधिकारीको भनाइ छ । उनले भनेका छन्— ‘कतिपयलाई मनोवैज्ञानिक समस्या हुन्छ, कुनै समस्या नभए पनि बिरामी भएको अनुभूति गर्ने गर्दछन् ।’
कतिपय बिरामीलाई कोभिडपछि मधुमेह नघट्ने समस्या पनि देखिने गरेको छ भने कतिपयलाई स्टेरोएड औषधिका कारण रगतमा चिनीको मात्रा बढी हुने गरेको छ । कलेजोको इञ्जाएम बढेर वाकवाकी हुने समस्या लिएर बिरामी आउने गरेका डा अधिकारीको भनाइ छ । पोस्ट्कोभिडका बिरामीमा फोक्सो सुक्ने र कर्किने समस्या आउने गरेको बताइएको छ । लामो समय अक्सिजन लगाएका बिरामीमा शरीरलाई चाहिने पौष्टिक तत्व कम हुने हुँदा समस्या देखिने गरेको छ ।
कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरका कोभिड टिमलिडर डा पुकार घिमिरे यस्ता बिरामी नियमित आउने गरेका बताउँछन् । उपचारपछि पुनः स्वास्थ्य परीक्षण गर्न आउँदा धेरैजसोको फोक्सोमा निमोनिया सुधार भई नसकेको अवस्थामा आउने गरेको बताइएको छ । सुधारोन्मुख हुँदै गर्दा थप केही भइहाल्छ कि भन्ने आशंका लिएर बिरामी आउने गरेका उनको भनाइ छ ।
बिरामीलाई थकान महसुस हुने, हातखुट्टा गल्ने, शरीर गलेर काम गर्न नसक्ने, खोकी लागिरहने जस्ता समस्या पनि देखिने गरेको उनी बताउँछन् । पोस्ट्कोभिडका बिरामीको फोक्सोमा ढुसीको सङ्क्रमण रहने र त्यसबाट खकारमा रगत आउने समस्या लिएर बिरामी आउने गरेका छन् । मुटुको चाल छिटोछिटो घटबढ हुने समस्या पनि हुने गरेको बताइएको छ ।
चितवन मेडिकल कलेजका मनोरोग विशेषज्ञ प्राडा सिपी सेढाईं कोभिडपछि मनोरोगको समस्या लिएर बिरामी आउने गरेका बताउँछन् । परीक्षणका लागि आउने बिरामीमध्ये १५ प्रतिशत हाराहारी पोस्ट्कोभिडका रहेका उनको भनाइ छ । ठूला–ठूला घटना देखेपछि डराएर समस्या देखिए जस्तै गरी पोस्ट्कोभिडका बिरामी अस्पताल आउने गरेका सेढाईं बताउँछन् । त्यस्ता बिरामीलाई सम्झाई बुझाई गर्ने र आवश्यक देखिएमा औषधि दिने गरिएको सेढाईंको भनाइ छ ।
चितवन मेडिकल कलेजले पोस्ट्कोभिडका बिरामीका लागि छुट्टै उपचारको व्यवस्थापन गरेको छ । सो विभागमा नियमित बिरामी आउने गरेका कलेजले जनाएको छ । जिल्लामा यहाँ भन्दा धेरै बिरामी बाहिरी जिल्लाबाट आउने गरेका छन् ।