लकडाउनका कारण थलिएको नाम्जे लय खोज्दै
धनकुटा । कोभिडका कारण सुस्ताएको भेडेटार र नाम्जेका होटलले अझै लय समाउन सकेका छैनन् । गत २०७७ चैत ११ गतेको पहिलो लकडाउनबाट खस्कँदै गएको भेडेटार तथा नाम्जेका होटलहरु अझै ग्राहक खोज्दैछन् ।
धनकुटाको सँगुरीगढी गाउँपालिका – ६ का ललितबहादुर थापा होटल व्यवसायबाट केही गर्ने सोचका साथ आफ्नो भएको पुरानो घर भत्काएर त्यही घर भएको ठाउँमा सुविधासम्पन्न होटल निर्माण गर्न थाले । होटलको निर्माण पुरा भएर अघिल्लो फागुनमा होटल संचालनमा पनि ल्याए ।
वैशाखमा भव्य कार्यक्रम गरेर होटल चलाउने तयारीमा रहेका उनले चैत ११ गतेदेखि लकडाउनको सामना गर्नु पर्यो । शुरु गर्न नपाउँदैको होटल बन्दको अवस्थामा पुग्यो । उनले होटलमा लगानीमात्र गर्नुपर्यो तर लगानीअनुसार कामै शुरु गर्न नपाएको उनी सुनाउँछन् । पहिलो चरणको लामो लकडाउन पछिबीचमा खुल्दा ग्राहकहरू प्रशस्तै आउन थालेका थिए तर पछिल्लो लकडाउनका कारण फेरि होटल बन्द गर्नुपर्ने अवस्था आएको थापाले मकालुखबरलाई बताए ।
कोभिडका कारण समस्यामा परेका व्यवसाय अझै उकालो चढ्न सकेका छैनन् । कोभिडको त्रासका कारण समस्यामा रहेका व्यवसाय कहिले ग्राहक आउलन् भनेर पर्खिएर बसेका छन् ।
नाम्जेमा २०६८ सालदेखि दिप होट संचालन गर्दै आएका गोबिन्दबहादुर मगर दुई वर्षदेखिको कोभिडको कारण तनावमा रहेको बताउँछन् । आफ्नै घर र जग्गा पनि आफ्नै भएकाले टिक्न सकेको अन्यथा भाग्नुपर्ने अवस्था आएको उनी सुनाउँछन् ।
मगरका अनुसार, ‘ऋण लिएर होटल बनाउनेलाई निक्कै समस्या भएको छ । ऋण लिएर होटल बनाएकाहरुलाई कोभिडसँगैको लकडाउनले गर्दा के गरौँ न कसो गरौँ भन्ने अवस्थामा पुगेका छन् ।’
कोभिडका कारण पाहुनाले फोन गरेर आउन खोज्दा पनि ल्याउन र राख्न पनि डर भएको उनले सुनाए । ‘कोही कोही आउँछु भन्छन् उनीहरूलाई बोलाउन पनि समस्या छ,’ उनले भने, ‘बोलाउँदा पनि समस्या नबोलाउँदा पनि समस्या । घुम्नका लागि आउनेहरुको संख्या नै छैन ।’ होटलमा ग्राहक नआउँदा कोभिडका कारण १५ लाख ऋणमा परेको दिप होटलका संचालक गोविन्दबहादुर मगर बताउँछन् ।
अघिल्लो चैतसम्म बिहारबाट आउनेहरुको ठुलो भीड हुन्थ्यो । लकडाउन भएपछि घुम्नका लागि आउनेको संख्यामा पनि कमी हुँदै जान थाल्यो । बिचमा लकडाउन खुलेको बेला घुम्न आउने र एक रात बसेर फर्किनेको संख्या बढ्दै गएको थियो, पछिल्लो लकडाउनले फेरि पुरानै अवस्थामा पुर्याएको व्यवसायी बताउँछन् ।
बिहारमा रक्सी बन्द भएपछि भेडेटार र नाम्जेका होटलहरु निक्कै फस्टाएका थिए । लकडाउनका कारण सीमा नाका बन्द भएकाले भारतीय पर्यटकहरु पनि आउन छाडेको उनीहरुको भनाइ छ ।
एक दशकमा जमेको नाम्जे
नाम्जेमा २०६८ सालसम्म कुनै एउटा होटल थिएनन् । होटल व्यवसायमा व्यवसायिकताको कुरै थिएन । मान्छेहरू टाढाबाट हिँड्दै आउँदा थाकेर बस्ने गौँडाको रुपमा थियो नाम्जे । कुनै होटल नभएपनि होटलको रुपममा दिप होटल सामान्य होटलको रुपमा थियो । त्यसपछि नाम्जेमा होमस्टेको अवधारणा आयो र गाउँका अधिकांश घरहरुमा होमस्टे संचालनमा आयो ।
२०६८ सालमा सिएनएनले नाम्जेलाई विश्वको १२ घुम्नैपर्ने ठाउँहरूमध्ये उत्कृष्ट ८ मा पारेर रिपोर्ट सार्वजनिक गरेपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरु आउन थालेका हुन् । सिएनएनको रिपोर्ट सार्वजनिक भएपछि २०६८ देखि २०७२ सालसम्म यहाँ निक्कै भीड भएको स्थानीयहरु बताउँछन् ।
त्यही बेलादेखि नै होमस्टेको अवधारणा आएर यहाँ आएका पाहुनालाई होमस्टे (घरबास) मा राख्न थालिएको हो । २०७२ सालको भुईंचालोपछि आन्तरिक र बाह्य पर्यटक त आउनै छाडे । आन्तरिक रुपमा घुम्न आउने पर्यटकहरु पनि आउने दर कम हुँदै गएको मगरको भनाइ छ ।
नाम्जेथुम्की सामुदायिक होमस्टेका अध्यक्ष अनिलकुमार रानाका अनुसार थुम्कीमा ७ घर र नाम्जेमा १३ घर गरी २० घरमा होमस्टे संचालनमा रहेको छ । ‘पहिला शुक्रबार र शनिबार फोन गरेर आएन भने कोठा पाउँदैन थियो,’ उनले भने, ‘अहिले हामीले विगतको वर्षदेखि नै बन्द गर्नुपरेको छ ।’
होमस्टे बन्द भएको लामो समय भइसकेको छ भने नाम्जेमा रहेको सानाठुला २६ होटलहरू पनि चलाउन धौ धौ भएको स्थानीय होटल व्यवसायीको भनाइ छ । नाम्जे पुगेका पाहुनालाई स्थानीय उत्पादन रोटी, ढिँडो, मकै, भटमास, सिजनअनुसारको फलफुल, सागसब्जी, गुन्द्रुक, हरिया मकै ग्राहकको रोजाइमा पर्ने गरेको छ ।
आशा जाग्दै
लकडाउन खुकुलो हुँदै गर्दा नाम्जे र भेडेटारका होटल व्यवसायीमा केही आशा पलाएको छ । अब लकडाउन खुकुलो हुन थाल्यो लामो समयदेखि बन्द भएका होटल चलाउन पाइन्छ कि भन्ने देखिन्छ । पछिल्ला एक हप्तामा लकडाउन खुकुलो भएर सार्वजनिक सवारीका साधनहरू चलेसँगै भेडेटार र नाम्जेमा घुम्न जानेहरुको संख्या क्रमशः बढ्दै जान थालेको छ । शुक्रबार र शनिबार यो वर्षकै चहल पहल देखिएको होटल व्यवसायीको भनाइ छ ।