फेवातालको बेहाल

पोखरा
फेवाताल, पर्यटकीय गन्तव्य । नेपालका मात्र होइन‚ विश्वका पर्यटक घुम्ने फेवातालको अवस्था अहिले बेहाल बन्दो छ । मानवीय अतिक्रमण र प्राकृतिक कारणले पनि ताल संकटमा छ । लेदो र ढुंगाले ताल पुरिँदै गएको छ ।

विज्ञहरुले फेवातालको अस्तित्व १ सय ९० वर्षमा समाप्त हुनसक्ने खतरा औँल्याउने गरेकोमा अब ५० वर्षभन्दा उता ताल नै नरहने खतरा बढेको उनीहरू बताउन थालेका छन् । अहिलेसम्म फेवाताल ३८ प्रतिशत साँघुरो भएको छ । यसको प्रमुख कारणः जलाधार क्षेत्रबाट बगेर झर्ने ढुंगा, गिटी, बालूवा र गेग्रान रहेको विभिन्न अनुसन्धानले देखाएका छन् । तालको सिरानबाट बगेर आउने खोलाहरुका कारण फेवातालमा बर्सेनी १ लाख २४ हजार मेट्रिक टन गेग्य्रान थुप्रिने गरेको तथ्यांक छ ।

अँधेरी खोलाले मात्रै ७० प्रतिशत ताल पुर्ने गरेको छ । फेवामा मिसिने यस्ता अरु पाँचवटा खोला छन् । दैनिक जलाधार क्षेत्रबाट झर्ने पहिरो र त्यसको सही रोकथाम नहुँदा फेवाताल छिटै फेवाफाँटमा परिणत हुने निश्चित छ ।

फेवाताल संरक्षण र सौन्दर्यीकरणका लागि बर्सेनी योजना र प्रतिवेदन तयार हुन्छन् । करोडौं रुपैयाँ खर्च भएको पनि छ । तर कार्यान्वयन भएको छैन । बर्सेनी प्रतिवेदन बन्ने र कार्यान्वयन नहुने दीर्घरोगकै बीच नेपाल सरकारले नयाँ गुरुयोजना निर्माण गर्न थालेको छ । मंसिरमा गठित फेवाताल चारकिल्ला निर्धारण, सीमांकन तथा नक्सांकन समितिले गुरुयोजना निर्माण सुरु गरेको हो ।

यसका लागि इनोभेटिभ इन्जिनियरिङ सर्भिसलाई जिम्मा लगाइएको छ । सामान्य अध्ययनपछि प्रारम्भिक योजना तयार गरेको कम्पनीले जनाएको छ ।

सेतीको पानी ल्याएर २ मेगावाटको बिजुली निकाल्ने योजना प्रस्ताव गरिएको छ । योजनाअनुसार त्यही पानीले ताल किनारमा जम्मा हुने ढलको सफाइ गर्नेछ । तालको चारैतिरबाट साइकल मार्ग र पैदल मार्ग (फुट ट्रेल) बनाउने, अहिले ताल रहेको क्षेत्रभन्दा माथी ठूलो ‘चेकड्याम’ बनाएर अर्को सानो ताल बनाउने, ताल किनारको जमिनलाई सम्याएर हाउजिङको रुपमा विकास गर्ने तथा मनोरन्जनका गतिविधि थप्ने प्रस्ताव पनि गरिएको छ ।

‘अहिलेभन्दा तीन गुणा मनोरन्जनका गतिविधि थपिनेछ । आधुनिक बस्ती बसाएर त्यहाँ तीन हजार मान्छेलाई सार्न सकिन्छ’, कन्सल्ट्यान्ड अनुप खनालले भने, ‘तर त्यसका लागि स्वायत्त संस्था चाहिन्छ । त्यो सबै प्रक्रिया पूरा भयो भने यो नेपालकै ठूलो गुरुयोजना बन्नेछ ।’

ताल वरपरको साढे ३ हजार रोपनी क्षेत्रमा संरचना निर्माण गर्ने तथा डेढ सयभन्दा बढी हाउजिङका घर बनाएर बेच्ने प्रस्ताव छ ।

तालमा आउने गेग्रान जम्मा पारेर बेच्ने योजना छ । तर संरचना निर्माणका लागि चाहिने जग्गाहरू भने व्यक्तिको लालपुर्जाभित्र छन् ।

समितिका संयोजक पुण्य पौडेलले ताल जोगाउने हो भने निर्ममताका साथ लाग्नुपर्ने बताए । ‘ताल जोगाउने हो भने उचित मुआब्जा दिएर जग्गा लिनुपर्‍यो नि !’, उनले भने, ‘मुआब्जा पाए जग्गाधनीले जग्गा छाड्छन् । त्यसपछि लगानी आकर्षण गर्न सकिन्छ ।’

उनका अनुसार विदेशमा रहेका नेपालीले फेवातालमा संरचना निर्माणका लागि लगानी गर्ने तत्परता देखाएका छन् । ‘३ सय मिलियन अमेरिकी डलर लगानी गर्ने सामान्य छलफल गरेका छन् । ताललाई व्यवस्थित गर्न सके लगानी ठुलो कुरा होइन,’ उनले थपे, ‘परियोजना पूरा गर्न १ खर्बभन्दा बढी लाग्छ । यो नेपालकै ठूलो र महंगो गुरुयोजना हो ।’

६ महिनाका लागि गठन भएको समितिले समयमा काम गर्न नसकेपछि दुई महिना म्याद थपिएको छ । तालको सिमाङ्कन गर्न फागुन तेस्रो साताको समय तोकिएको छ । मापदण्ड तोक्ने, गुरुयोजना बनाउने र दुषित जग्गा खोजीको काम भदौभित्र सक्नुपर्छ ।

पौडेलका अनुसार ताल किनारमा रहेका दुषित जग्गाको छानबिन ७५ प्रतिशत पूरा भएको छ । पोखरा महानगरका मेयर मानबहादुर जिसीले केहि साताभित्रै तालको मापदण्ड तोक्ने बताएका छन् । विज्ञहरूसँग यसबारे परामर्श र स्थलगत अध्ययन चलिरहेको उनको भनाइ छ । सरोकारवालाहरूले भने सधैं प्रतिवेदन बन्ने र कार्यान्वयन नहुने रोगबाट जोगिन सुझाव दिए ।

‘तालमा प्रतिवेदनको कमी होइन । काम नभएको हो । सधैं प्रतिवेदन बन्छ, त्यसपछि कहाँ थन्किन्छ थाहा हुँदैन,’ संरक्षणकर्मी रामबहादुर पौडेलले भने, ‘बनेका प्रतिवेदन खोलेर लागू गरे पो प्रतिवेदन ठिक हुन्छ । नत्र बर्सेनी बनाउने प्रतिवेदनले राज्यको ढुकुटी सिध्याउनेमात्रै हो ।’

धेरै ठूलो सपनाभन्दा यथार्थमा संरक्षणका लागि पहल गर्न सरकारसँग उनको आग्रह छ । ‘टीभीमा हेर्दा तालको रिपोर्ट गज्जव देखिन्छ । दिनदिनै पुरिएको ताल कसरी जोगाउने भन्ने चिन्ता छैन,’ उनी थप्छन्, ‘पहिले ताल पुर्ने खोलालाई एक हिसाबको निकास दिऊँ । त्यसपछि फोहोर व्यवस्थापन गरौं । पहिले सानो कामबाट सुरु गरे पो जनताले पत्याउँछन् ।’

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले सीमांकन गरिएका क्षेत्रभित्रै धमाधम संरचना निर्माण हुँदा सरोकारवाला निकाय मौन भएको बताए । ‘घर टहरा बनिरहेका छन् । खोला र डाँडा खारेर प्लटिङ भइरहेको छ । त्यो रोक्ने कसले हो ?’ उनले प्रश्न गरे । अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज कुवँरले ताल संरक्षणका लागि जलाधार क्षेत्रमा ध्यान दिनुपर्ने सुझाए । ‘अँधेरी खोलामा कल्पना नगरेको पहिरो गइरहेको छ । सिल्ट्रेसन ड्याम फेवातालको नजिक–नजिक बनाइएको छ । त्यो पहिरोमा नजर कहिले पुग्छ ?’, उनले भने, ‘मुहानको समस्या समाधान नगरी फेवाको संरक्षण हुँदैन ।’ अहिलेको वर्षामा तालको जलाधार क्षेत्रमा ठूला र नयाँ पहिरो गएको छ । यसले ताल थप संकटमा परेको कुवँरको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *