आउनुहोस् आज राष्ट्रिय लुतो फालौँ

फेरी लाउने जोगीले आकाश पनि बाँधेको थियो । पाताल पनि बाँधेको थियो तर, यहाँका मानिसको प्रवृत्तिलाई बाँध्ने कुनै जोगीको फेरी कहिल्यै आएन, अनि गोरखनाथले पनि मानिसका प्रवृत्तिलाई कहिल्यै फेरी लगाउन पठाएनन् । तर, जनताका नली हड्डी फुकालेर एकनाशले बजाउने राष्ट्रिय जोगीको भने केही कमी रहेन यो देशमा ।

साउने संक्रान्तिको दिन बेलुका लुतो फ्याँक्ने एक विशेष चलन छ । ठाउँअनुसार केही फरक भएपनि कुकुर डाइनो, काग भलायो, पानीसरोलगायत बोटबिरुवाका पातसँगै फलफूल राखी ‘लुतो जा है’ भन्दै फाल्ने गरिन्छ । गण्डकी प्रदेशमा साउने सक्रान्तिको बेलुका मानिसले दिउँसो खोजेका जोडी (जोले) फलफूललाई पूजा गर्ने र आगोको अगुल्टो लिएर ‘लुतो‚ पिलो‚ खटिरा-पटिरा लैजा’ भनेर आसुरी प्रवृत्तिलाई अगुल्टोसँगै फाल्ने चलन छ । तर देशका लुतो-पिलो र खटिरा-पटिरा कहिल्यै गएका छैनन्, सधैं हामीलाई चिलाइरहेको छ । यो सन्दर्भमा लुतोसँगै चिलाउने खटिरा-फटिरा फाल्ने पर्वलाई राष्ट्रिय पर्व नै बनाउनुपर्ने आवश्यकता देखियो ।

साँच्चै संस्कार सच्याउन मिल्ने भए म त अलिक फरक पाराले लुतो फाल्ने थिएँ‚ जसले देशको चिलाइलाई कमसेकम अलिक कम गर्थ्यो पनि अनि देशका खटिरा-पटिरालाई कम गर्थ्यो होला ।

जसरी साउने सक्रान्तिमा जोले (जोडी) फलफूलको नमूना लिएर पूजा गरिन्छ, मलाई जोले होइन‚ राष्ट्रका झोले प्रवृत्तिलाई चिनेर बटुल्न मन छ । अनि थाहा हुन्थ्यो को को पुज्न लायक र कोको खलनायक थिए भनेर । जसरी आगोको लप्कामा अग्निलाई साक्षी राखेर धुपदीप गरिन्छ, त्यसरी नै कोहीलाई धुपदीप बाल्न सकिन्थ्यो पनि होला तर नेपालमा को नै पुज्य होला र ? चाकरी गर्ने र आसेपासेको भरमा हिँड्नेहरूको मात्रै जमात देखिन्छ जताततै ।

साँच्चै संस्कार सच्याउन मिल्ने भए म त अलिक फरक पाराले लुतो फाल्ने थिएँ‚ जसले देशको चिलाइलाई कमसेकम अलिक कम गर्थ्यो पनि‚ अनि देशका खटिरा-पटिरालाई कम गर्थ्यो होला । मिल्ने नै भए त यहाँका आसुरी प्रवृत्तिलाई अग्निमा होमेर सिठा पड्काएको झैं पड्काउन मन थियो । यहाँ वर्षौंदेखि चलेको भ्रष्टाचारयुक्त खटिरोलाई सम्झेर एक अगुल्टोसँगै लुतो फाल्ने मन थियो ।

मिल्ने नै भए बिजुली ट्रिपिङ गर्ने प्राधिकरण र विद्युत उपभोत्ता संस्थाका नाममा लुतो फाल्ने मन थियो । आयल निगमलाई बोनस नबाँड‚ बरु जनतालाई सुलभ मूल्यमा तेल देऊ भनेर लुतो फाल्ने मन थियो । भर्खरै अदालतले फालेका र राजाले फालेका दुई आसुरी प्रवृत्ति जो देखियो, यस्ता चरित्रलाई साथ दिनेका विरुद्धमा एक अगुल्टो फाल्ने मन थियो ।

यस्तो लाग्छ कि मैले फालेको यो अगुल्टो सिंहदरबारको गेटमा पुगोस् अनि एक चेतनाको दियालोको रुपमा बलिरहोस् र खबरदारी गरोस् ।

यस्तो लाग्छ कि मैले फालेको यो अगुल्टो सिंहदरबारको गेटमा पुगोस् अनि एक चेतनाको दियालोको रुपमा बलिरहोस् र खबरदारी गरोस् ।

जसरी लुत्तो फालेको बेला भर्भराउँदो अगुल्टो फालिन्छ‚ त्यसरी नै जनतालाई बर्बराउँदै झुक्याउने नेतालाई टपक्क टिपेर कहिल्यै नफर्कने गरी फाल्न पाए त क्या मज्जा हुन्थ्यो होला है ? अनि फेरि यस्तो लाग्छ, यसरी झुक्याउने त केन्द्रदेखि वडासम्म नै छन्, यसरी लुतो फाल्दा देश नै सखाप त हुँदैन भनेर पनि सोच्छु । किनभने संघबाट पालिकासम्म‚ केन्द्रदेखि वडासम्म जनता झुक्याएर भ्रष्टाचार गर्नेहरुको जमात अहिले संस्थागत भएको छ ।

जसरी लुतो फालेपछि हातमा तिउरी (तिघ्रे, तिग्रे) फूलको पात पिसेर रंग लगाइन्छ नि‚ त्यसरी नै विजयोत्सव मनाउन र हातमै रंगिन तरिकाले ज्वलन्त इतिहास लेख्न असाध्यै मन छ । के तपाईं राष्ट्रलाई ठग्नेलाई सम्झेर एक अगुल्टो लुतो फाल्न सक्नुहुन्छ ? के तपाईं देशलाई भ्रष्टाचारीको स्वर्ग बनाउनेलाई सम्झेर लुतो फाल्न सक्नुहुन्छ ? आउनुहोस्‚ आज राष्ट्रिय लुतो फालौं । तारेमाम् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *