सार्वजनिक पदमा बस्नेहरुको हाजिरी स्वःअडिट
सरकारले हरेक वर्ष राजपत्रमा सूचना निकालेर सार्वजनिक बिदाहरू तोक्ने गर्दछ । सार्बजनिक बिदा तोक्दा सरकारले दुईवटा कुरा सूचनामा थप खुलाएको हुन्छ । गत चैतमा राजपत्रमा प्रकाशित सूचनामा कार्यालय खुल्ला रहने समय बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म हुने र कार्यालयको सेवा प्रवाहमा बाधा नपर्ने गरी आलोपालो गरी कर्मचारीहरुको खाजा खाने समय कार्यालयले मिलाउनुपर्ने भनिएको छ । यसरी कार्यालय समय तोक्नु भनेको कर्मचारीहरू भौतिक रुपमा कार्यालय समयमा बसेर सेवाग्राहीलाई सेवा दिनु भन्ने नै हो । तर अधिकांश कार्यालयमा कर्मचारी उपस्थित हुने र ‘हाटा’ अर्थात् हाजिर गरेर टाप कस्ने रोग व्याप्त छ । सरकारी कार्यालयहरुमा समयमा कर्मचारी नभेटिने र समयमा काम नहुने भन्ने जनगुनासो अत्यन्त ठुलो र व्यापक छ ।
विगतलाई सम्झने हो भने हामीले पनि धेरै कार्यालयहमा अफिस टाइम अनुगमन गर्दा यो प्रत्यक्ष अनुभव गरेका थियौं । सुशासनको खबरदारी अभियानअन्तर्गत वि.सं. २०६२-२०६६ चार वर्षको अवधिमा धनकुटा जिल्लामा ‘असल शासनका लागि अफिस टाइम’ अनुगमन अभियान सञ्चालनको अगुवाई गर्दाको याद मलाई झल्झली आइरहेको छ । नागरिकको हैसियतमा अफिस टाइम अनुगमन र हाजिरी निगरानी गर्दा धेरै सरकारी कार्यालयमा कर्मचारीलाई निकै नै पीडा भएको थियो ।
समाजमा रहेको विकृति, विसंगति, अनियमितता, भ्रष्टाचारविरुद्ध गैरसरकारी क्षेत्रमार्फत् बाह्र वर्ष सुशासनको क्षेत्रमा कलम चलाएर त्रिवि सेवामार्फत् सरकारी सेवामा प्रवेश गर्दा मलाई निकै नै नौलो अनुभूति भयो । सेवा प्रवेशसँगै काठमाडौंभन्दा निकै टाढा अति दुर्गम क्षेत्रबाट कार्य अनुभव लिने निर्णय गरेको थिएँ ।
जान मन त जुम्ला थियो, तर भोजपुर जाने अवसर मिल्यो । सेवा प्रवेश गर्दै गर्दा मैले तीनवटा अठोट गरेको थिएँ – सुशासन, पारदर्शीता र जवाफदेहिताका लागि सदैव कर्तव्यनिष्ठ भएर काम गर्ने, भ्रष्टाचार नगर्ने र सेवाग्राहीमैत्री सेवा प्रवाहको वातावरण निर्माणमा निरन्तर अभियान चलाउने । त्यसको जग भनेको कार्यालयमा भौतिक रुपमा नियमित उपस्थित रहने, ठिक समयमा कार्यालयमा पुग्ने र पूरा कार्यालय समयको पालना गर्दै कार्यालयमा धैर्यधारणका साथ बस्ने ।
शुरुवात आफैंबाट गर्नुपर्छ भन्ने कुरालाई आत्मसात गरेर नै मेरो त्यो अठोटलाई मैले आफैं अडिट गर्ने गरेको छु ।
त्यो हो मेरो कार्यालयमा उपस्थितिको स्वयम् हाजिरी अडिट । म जुन दिन कार्यालयमा हाजिर हुन्छु, कार्यकक्षमा पुरा समय बसेर आफ्नो जिम्माको काम सक्दो गरेर मात्र फर्कने गरेको छु । मेरो व्यस्तता अर्काको आदेश, निर्देशन र दबाबका कारण नभएर स्वतःस्फुर्त सक्रियता हो ।
मैले कुर्सीमा बसेर धैर्यताका साथ पूरा दिन काम गर्ने कर्मचारी निकै नै कममात्र पाएको छु । कतिपयलाई बानी नभएर होला, कार्यकक्षमा भेटिनुपर्ने कर्मचारीहरु पनि घण्टौं कार्यकक्षमा नभेटिँदा सेवाग्राही लामो समय कुर्नुपर्ने बाध्यता अझै हटिसकेको छैन ।
यसमा मैंले आफूलाई अलिक फरक भूमिकामा प्रस्तुत गर्ने प्रयत्न गरिरहेको छु । मैले आफूलाई कार्यकक्षभित्रको जिम्मेवारीमा स्वयम् रमाउने र रचनात्मक कामप्रति आफूले आफैँलाई झुम्याउने प्रयत्न गरिरहेको छु । सेवाग्राहीको सहजताका लागि कागजी प्रक्रियालाई क्रमशः कागजरहित अर्थात् न्यून कागजसहितको सेवामा रुपान्तरण गर्दै जानुपर्छ भन्ने मान्यताको वकालत पनि गरिरहेको छु । जसले मलाई कुनै पनि कार्यालयमा काम गर्दा काम नभएर अल्छी महशुस भएको दिन छैन । हरेक दिन नयाँ नयाँ अनुभवका कारण मलाई दिन, महिना र वर्षहरु बित्दैछन् भन्ने पत्तै भइरहेको छैन ।
मैले त्रिवि सेवा प्रवेशसँगै दुर्गम मानिएको भोजपुर बहुमुखी क्याम्पसमा रहँदा समेत हाजिरी अडिट गरेको थिएँ । हाजिरी अडिटबाट मैले कार्यालयमा आफ्नो उपस्थितिको समिक्षा गर्ने गरेको छु । त्यसपछि म त्रिविको केन्द्रीय कार्यालय, सूचना तथा जनसम्पर्क महाशाखामा सरुवा भई आएँ । केन्द्रीय कार्यालयमा आएर हाजिर भएको एक वर्ष बितेपछि त्रिवि केन्द्रीय कार्यालयको एक वर्षको उपस्थितिलाई समेत मेरो हाजिरी अडिट गरी सार्वजनिक गरेको थिएँ । त्यसपछि सूचना तथा जनसम्पर्क महाशाखाबाट हाल पाठ्यक्रम विकास केन्द्रमा सरुवा भई कार्यरत हुँदा समेत मैंले नियमित हाजिरी अडिट गर्दै आएको छु ।
हरेक वर्ष मैले कार्यालयमा स्वयम्को उपस्थितिको आधारमा आफूलाई वर्षभरिमा उत्तीर्ण अवस्थामा पाएको छु ।
सरकारले तोकेको सार्वजनिक बिदाहरू कटाएर कार्यालय खुलेको दिन संख्याबाट मेरो उपस्थिति संख्या हिसाब गर्दा मेरो उपस्थिति प्रतिशत अझै बढ्छ, तर मैले पुरा वर्षभरिको कति प्रतिशत समय कार्यालयमा बिताएको छु भनेर दिनगिन्ती गर्ने गरेको छु । यो कसैका लागि भन्दा पनि आफ्नै आत्मसन्तुष्टिको लागि गरिएको स्वःमूल्यांकन हो भन्ने मलाई लागेको छ ।
कुन कुन महिना मैले कार्यालयमा कति दिन हाजिर भएर सेवा गर्ने अवसर पाएँ भनेर कमसेकम आफू स्वयम् सुसूचित हुनुपर्दछ भन्ने मान्यताका साथ पहिलो वर्षदेखि नै नियमित रुपमा हाजिरी अभिलेख अनुसार मेरो हाजिरीको स्वयम् अडिट गर्दै आएको छु । यसबाट मलाई आत्मसन्तुष्टि मिलेको छ भने अरु साथीहरुलाई इच्छा भएमा आफ्नो क्रियाकलापको स्वयम् अडिट गर्न सकिन्छ भन्ने सन्देश दिन खोजेको छु । यसमा मेरो अन्य कुनै स्वार्थ छैन ।
अहिलेसम्म मैले मेरो पनि हाजिरीको स्वयम् अडिट गरेँ भनेर कसैले भनेको चाहिँ सुनेको छैन । त्यसैले मेरो यो कार्य राम्रो/नराम्रो जे भए पनि यस्तो कार्य अरु कर्मचारीहरुबाट भइरहेको थाहा छैन । निजी क्षेत्रमा भने कर्मचारीहरुको मूल्यांकनको प्रमुख आधार हाजिरी उपस्थितिलाई बनाउने गरिन्छ र महिनाभरको टाइम सिट भरेर संस्थाहरुमा पेश गर्नुपर्ने व्यवस्था गरिएको हुन्छ ।
आशा छ, भविष्यमा भने हाजिरी स्वःअडिटको अवधारणाले सरकारी निकायहरुमा पनि क्रमशः प्रवेश पाउनेछ । यसको लागि म निरन्तर वकालत गर्नेछु । भौतिक रुपमा कार्यालयमा उपस्थिति पहिलो, अनि सेवा दोस्रो हुने हुँदा सुशासनका लागि कर्मचारीको कार्यालयमा भौतिक उपस्थितिले महत्वपूर्ण योगदान गर्दछ भन्ने मेरो विश्वास छ ।
(त्रिताल त्रिविको पाठ्यक्रम विकास केन्द्रमा शाखा अधिकृत छन्)
sir तपाई जस्तो dynamic,Energetic पदीय पूर्ण दायित्तो भयको रास्ट्र सेवक सबै कर्मचारी भैदिय,आज कर्मचारी प्रतिको जनबिस्वासको उचाइ कति चुलिदो हो !!!