आजदेखि जोन्सन एण्ड जोन्सनको खोप लगाइँदै, क-कसले पाउँछन् ?

काठमाडौं । अमेरिकाबाट कोभ्याक्स कार्यक्रम अन्तर्गत आएको जोन्सन एन्ड जोन्सनको कोरोनाविरुद्धको खोप काठमाडौंमा आजदेखि लगाइँदैछ । आजदेखि ६ गते (बुधबार)सम्म निश्चित उमेर समूह र वर्गमा नागरिकलाई खोप दिइने भएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीको संयोजकत्वमा बसेको कोभिड-१९ खोप कार्यक्रमलाई थप प्रभावकारी गर्न गठित समन्वय तथा अनुगमन समितिको बैठकले काठमाडौंका ४४ वटा खोप केन्द्रबाट आजदेखि ६ गतेसम्म जोन्सनको खोप लगाउने निर्णय गरेको थियो । अमेरिकाबाट अघिल्लो सोमबार जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप नेपाल आइपुगेको हो ।

एक डोज मात्र लगाए पुग्ने यो खोप ५० देखि ५४ वर्ष उमेर समूहलाई लगाइनेछ । यस्तै पूर्ण र अति अशक्त अपाङ्ग‍ता (वर्ग क र ख) भएका नागरिकहरु, नेपालमा बसोबास गरिरहेका शरणार्थीहरु र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरुलाई समेत खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

ढुक्क भएर खोप लगाउन आग्रह
अमेरिकी कम्पनी जोन्सन एण्ड जोन्सनको कोरोनाविरुद्धको खोप लगाएकामध्ये केही अमेरिकीमा स्नायु प्रणालीसम्बन्धी समस्या देखिएको बताइएपछि यसलाई लिएर विभिन्न आशंकाहरु उत्पन्न भइरहेका छन् ।

तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले एउटा मात्रा मात्रै लगाए पुग्ने जोन्सन खोपलाई विश्व स्वास्थ्य संगठनले नै ५५ देशमा आपत्कालीन प्रयोगको अनुमति दिएकाले ढुक्क भएर खोप लगाउन आग्रह गरे ।

बाहिर हल्ला भएजस्तो यो खोप लगाउँदा ठूलो जोखिम नभएको सहप्रवक्ता डा. अधिकारी बताउँछन् । ‘सबै खोपका केही न केही जोखिमहरु सार्वजनिक हुन्छन् तर, जोखिमभन्दा लाभ कयौँ गुणा बढी हुने भएकाले ढुक भएर खोप लगाउँदा हुन्छ’, उनले आग्रह गरे ।

स्वास्थ्य मन्त्रालयले यसबारे अझ स्पष्ट पारेको छ ।
खोप सुरक्षित छ । अमेरिकाको औषधि नियामक निकाय (एफडिए)ले जोन्सन एन्ड जोन्सनको खोपले स्नायू प्रणाली सम्बन्धी गीयान बार्रे सिन्ड्रोमको जोखिम बढाउन सक्ने जानकारी दिएपछि यो खोप सुरक्षित नभएको हल्ला फैलिएको छ । तर अहिलेसम्म उपलब्ध प्रमाणले खोप र गीयान बार्रे सिन्ड्रोमको जोखिमबीच प्रत्यक्ष सम्बन्ध रहेको देखिएको छैन ।

अमेरिकाको औषधि नियामक निकायले यो रोग एकदमै बिरलै देखिने र यसको जोखिम भन्दा यो खोप लगाउँदा हुने फाइदा बढी हुने कुरामा जोड दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पनि यस बारेमा जानकार छ र आगामी दिनमा निगरानी अघि बढाउनेछ । जोन्सन एन्ड जोन्सनको खोप लगाउँदा हुने सम्भावित जोखिमभन्दा यसले कोभिड-१९ विरुद्ध दिने लाभ बढी रहेको छ । त्यसैले यस्ता हल्लाहरुको प्रभावमा नपरि नि:सङ्कोच तोकिएको मिति र स्थानमा गई आफ्नो पालो अनुसार खोप लगाऔं ।

खोप अभियान सञ्चालनका लागि काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा खोप केन्द्र तोकिइसकेका छन् । खोप पुग्न बाँकी कतिपय दुर्गम जिल्लाबाहेक देशका धेरैजसो जिल्लामा आजदेखि नै जोन्सन एण्ड जोन्सन अभियान सञ्चालन गरिने सहप्रवक्ता डा। अधिकारीले जानकारी दिए ।

यी हुन् काठमाडौं‌का खोप केन्द्र :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *