कांग्रेस मुख्यालयमा किन चलिरहेको छ कार्यकर्ताको आमरण अनसन र धर्ना ?

काठमाडौं । बाराका संविधानसभा सदस्यद्वय लालबाबु सिंह र रामअयोध्या यादवले दश दिनअघि कार्यकर्तासहित कांग्रेस मुख्यालयमा पुगेर धर्ना सुरु गरे । महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादव, कांग्रेस नेताहरू राजेश रौनियार, रामानन्द यादव र भैयाराम यादवलगायत दर्जनौं नेताहरु पनि उनीहरुसँगै छन् ।

ललितपुरको सानेपास्थित कांग्रेसको केन्द्रीय कार्यालय भवनको मूल ढोका अघिल्तिर चिसो भुइँमा कहिले उठ्छन्, कहिले बस्छन् । कोही चिसो भुइँमै पल्टिएका छन् । न गतिलो भोक छ, न निद्रा । कांग्रेसको राजनीतिमा मलिलो उमेर खर्चिएका यी नेता/कार्यकर्ता अहिले आफू कांग्रेस भएको परिचय जोगाउन धर्नारत छन् ।

१४ औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरणको फारम भरेपनि पूर्वसांसद लालबाबु सिंहको सदस्यता नवीकरण भएको छैन । त्यस्तै, पूर्वजिविस सभापति राजेन्द्र यादव, निजगढ नगरपालिकाका मेयर सुरेश खनाल, शिक्षक संघका पूर्वजिज्ला अध्यक्ष रामविलास यादव, नेपाल विद्यार्थी संघका निवर्तमान सहमहामन्त्री राजेश रौनियारसहित करिब तीन सयजना नेता कार्यकर्ताको सदस्यता नवीकरण भएको छैन ।

पार्टीका क्षेत्रीय सभापतिले क्रियाशील सदस्यताको नयाँ फारमसमेत दिएनन् । पूराना नेता कार्यकर्ताको नियतवश सदस्यता नवीकरण नगरेको संविधानसभा सदस्य रामअयोध्या यादवले बताए । ‘विधि र प्रक्रियाले यो पार्टी चल्नुपर्ने हो । बारा जिल्ला कार्यसमितिले न विधि र विधानलाई मानेको छ, न केन्द्रीय परिपत्रअनुसार काम गरेको छ, त्यस्तो भएन भने पार्टी कसरी चल्छ ?’ उनले भने ।

No description available.

वडा सभापतिको हस्ताक्षरबिना नै शतप्रतिशतमात्रै होइन कि चार सय प्रतिशतसम्म पनि नयाँ क्रियाशील सदस्यता थप गरिएको उनले बताए । ‘फर्जी गरिएको सबै क्रियाशील सदस्यता खारेज हुनुपर्छ । नत्र हामी पनि आमरण अनसन बस्न बाध्य हुन्छौँ,’ यादवले भने ।

उनीहरूले धेरै नेता र कार्यकर्ताहरूको राजनीतिक हत्या गर्ने नियतले नवीकरणको फारम बुझाएर पैसा तिरे पनि पूर्वाग्रह राखेर नवीकरण रोकिदिएकाको नवीकरण हुनुपर्ने, १३औँ महाधिवेशनको छुटेको एक सय ६६ जनाको नामावली र सो बराबरको नयाँ क्रियाशील सदस्यता अविलम्ब खारेज गर्नुपर्ने, क्रियाशील छानबिन समितिमा दिइएको निवेदनउपर अविलम्ब कारबाही हुनुपर्ने, वडा कार्यसमितिको सिफारिसबिनाको क्रियाशील सदस्यता खारेज गर्नुपर्ने, केन्द्रीय मापदण्डअनुरूप वडा कार्यसमितिले सिफारिस गरेको, तर जालसाजी गरी रोकिएका व्यक्तिहरूलाई तत्काल नयाँ क्रियाशील सदस्यता प्रदान गर्नुपर्नेलगायत माग राखेका छन् ।

‘विधान, नियमावली र केन्द्रीय परिपत्रविपरीत क्रियाशील सदस्यता वितरण गरिएको छ, वडा कार्यसमितिको निर्णयबिना, पालिका, प्रदेश र क्षेत्रको बैठकसमेत नबसी किर्ते जालसाजी षड्यन्त्र गरी पार्टी कब्जा गर्ने नियतले नयाँ क्रियाशील सदस्यता वितरण भएको छ,’ नेविसंघका निवर्तमान सहमहामन्त्री रौनियारले भने, ‘त्यस्तो सदस्यता खारेज गरेर विधिअनुसार नयाँ क्रियाशील सदस्यता वितरण नभएसम्म हाम्रो धर्ना निरन्तर रहन्छ ।’

बारा–२ मा क्षेत्रीय सभापति रामप्रवेश यादवले क्रियाशील फारम नै नदिई जाली हस्ताक्षर गरेर वडाको निर्णय र सिफारिसबिनै केन्द्रीय कार्यालयमा क्रियाशीलको विवरण सूचीकृत गराएको रौनियारले गुनासो गरे । क्षेत्रीय सभापति यादव संस्थापन समूहनिकट छन् । क्रियाशीलमा भएको धाँधलीमा पार्टीको संस्थापन पक्षको जालसाजी रहेको उनीहरूको आरोप छ ।

रौनियारका अनुसार क्षेत्रीय सभापति यादवले पचरौता नगरपालिकाका वडा नं। १, ६, ७, ८ र ९, महागढीमाई नगरपालिकाका वडा नं. १, २, ४, ६ र ७, सुवर्ण गाउँपालिका वडा नं. ४, करैयामाई गाउँपालिकाका वडा नं. २ र ५ गरी १३ वडामा क्रियाशील सदस्यताको फारम नै दिएका छैनन् । ती वडालाई क्रियाशील सदस्यताको फारम नै नपठाई यादवले आफूअनुकूलका व्यक्तिहरूको नाम भरेर पठाएका पाइएको रौनियारले बताए ।

धनुषाका नेता आमरण अनशनमा
बाराकै जस्तै समस्या छ, धनुषामा पनि । तर, धनुषाका नेताहरुले धर्नामात्रै दिइरहेका छैनन्, आमरण अनशनमै बसेका छन् । संविधानसभा सदस्य डा.चन्द्रमोहन यादव, महाधिवेशन प्रतिनिधि रामपल्टन साह र तरुण दलका सदस्य दिनेश नायक क्रियाशील सदस्यतामा धाँदलीविरुद्ध आइतबारदेखि कांग्रेसको केन्द्रीय कार्यालयमा आमरण अनशनमा बसेका छन् ।

No description available.

उनीहरुको माग छ, पार्टीको विधान, नियमावली र केन्द्रीय परिपत्रविपरीत नयाँ क्रियाशील सदस्यता वितरण खारेज हुनुपर्ने र धनुषा कांग्रेसले गरेका संस्थागत निर्णयहरू कार्यान्वयन गर्नुपर्ने । संविधानसभा सदस्य डा. यादव पूर्वराष्ट्रपति डा.रामवरण यादवका छोरासमेत हुन् । उनले कांग्रेसको विधानभन्दा केन्द्रमा चार जना नेताहरू बसेर गरेको सहमति ठूलो नहुने बताए । ‘जहाँबाट यो देशले पहिलो राष्ट्रपति पायो, त्यहाँ पार्टीको विधि र पद्धतिबमोजिम भए गरेका निर्णयहरू केन्द्रले कसरी उल्ट्याउन पाउँछ ? विधानबमोजिम जिल्लाले संस्थागत गरेका निर्णयहरु मान्य हुनुपर्छ,’ उनले भने ।

डा. यादवले जिल्लामा बनेको छानविन समितिले दिएको प्रतिवेदन र केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिमा गरिएको उजुरीमाथि कुनै हेरविचार नै नभएको गुनासो गरे । उनले जिल्ला छानविन समितिले अध्ययन गरेर केन्द्रमा बुझाएको प्रतिवेदनउपर समेत कुनै कारवाही नभएको बताए ।

अनशन बसेका नेताहरुका अनुसार धनुषा क्षेत्र नं. १ मा धेरै विवाद छ । सबैलाई नगरपालिकाका १३ वटै वडाका साथै धनुषाधाम नगरपालिकाको ३ र ४ नम्बर वडामा नगर सभापति र प्रदेशसभा संयोजकको दस्तखतबिना नै क्रियाशील सदस्यता वितरण गरिएको छ । त्यस्तै, धनुषाधाम नगरपालिका १, २, ५, ६, ७ र ९ नम्बर वडामा पनि नगर सभापतिको दस्तखत नभएको, धनुषाधाम नगरपालिका- ८ मा वडा र नगर सभापतिको दस्तखत नभएको, गणेशमान चारनाथ नगरपालिकाका ११ वडामा प्रदेशसभा संयोजकको दस्तखत नभएको उनीहरुको भनाइ छ ।

यस्तै, हंसपुर नगरपालिका–८ मा वडाको निर्णय एवं सभापतिको दस्तखतबिना ५१ जनालाई क्रियाशील सदस्यता वितरण गरेको र वडाको सूचीबाट २० जनालाई हटाएको आन्दोलनरत नेताहरुले बताएका छन् । प्रक्रिया मिचेर बुझाइएको क्रियाशील सदस्यता बदर हुनुपर्ने उनीहरुको माग छ ।

धनुषा क्षेत्र नं. १ मा क्षेत्रीय सभापतिले प्रदेश क्षेत्र, पालिका र वडाका सभापतिलाई नयाँ क्रियाशील सदस्यताका लागि फारम नै नदिई एकपक्षीय रुपमा सदस्यता थप गर्ने प्रयत्न गरिएको नेताहरुले बताएका छन् ।

‘यी सबै विषयहरुमा जिल्लास्तरीय छानविन समितिले अध्ययन गरेर केन्द्रमा बुझाएको छ । तर, यहाँ त्यसबारेमा समेत कुनै छलफल समेत भएको छैन । त्यसलाई बेवास्ता गरेर क्षेत्रीय सभापतिको मनोमानीबाट भएको क्रियाशील सदस्यता थपघट गर्ने निर्णय हामीले कसरी मान्ने ?,’ डा. यादवले भने ।

No description available.

डा. यादवेले कांग्रेसले नै यो देशमा लोकतन्त्रलाई परिभाषित गरेको भएपनि कांग्रेसको आन्तरिक राजनीतिमा भने लोकतन्त्र मासिने भय बढेको बताए । ‘आज पार्टीभित्रको विकृतिले गर्दा खेरि जब जब महाधिवेशनको कुरा आउँछ, विधानअनुसार चार वर्षमा हुनुपर्ने हो । तर, व्यवहारमा चार वर्षमा कहिल्यै पनि महाधिवेशन भएको छैन । क्रियाशील सदस्य भनेको कांग्रेसको मेरूदण्ड हो । क्रियाशील सदस्यता भनेको कांग्रेसको चुनाव चिह्न रुखको जरो हो । तर, त्यो जरो नै रोगी भएर गएको अवस्था छ । हामी त्यही जरोलाई बलियो बनाउनुपर्छ, र जरोमा लागेको रोगको निदान गर्नुपर्छ भनेर अनशनमा बस्न बाध्य भएका छौँ,’ उनले थपे ।

सर्लाहीका नेता पनि धर्नामा
क्रियाशील सदस्यताकै विवादलाई लिएर सर्लाहीका नेता कार्यकर्ता पनि धर्नामा बसेको छ । पूर्वजिल्ला सभापति एवं पूर्वसांसद लक्ष्मण रायसहित नेताहरु ६ बुँदे मागसहित धर्नामा छन् । वडामा आफूखुशी क्रियाशील वितरण गरिएकाले विरोधमा उत्रिनुपरेको नेता रायले बताए । उनले कतिपय वडामा आफू पक्षीय वडा कमिटी बनाएर क्रियाशील सदस्यता बाँड्ने काम भएको बताए । जिल्ला सभापतिले पार्टी कब्जा गर्ने नीति लिएर सदस्यता वितरण गरेको उनको भनाइ छ । ‘पार्टीलाई व्यापारी, ठेकेदार र दलालहरुको पार्टी बनाउने हो कि ? इमान्दार कार्यकर्ताहरुको पार्टी बनाउने हो ? त्यसबारे अहिले नै सोच्नुपर्ने बेला आएको छ,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *