गण्डकीको प्रदेश मामिला सभापतिमा जनमोर्चाका शाही

पोखरा । सांसद कारबाहीमा परेपछि रिक्त रहेको गण्डकी प्रदेशसभाको प्रदेश मामिला समिति सभापतिमा जनमोर्चाकै खीमबिक्रम शाही निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचन प्रक्रियामा शाही सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् । सोमबार सत्तापक्षबाट शाही र विपक्षीबाट एमालेका इन्द्रधारा विष्टले सभापतिमा उम्मेदवारी दिएका थिए ।

तर अन्तिम समयमा विष्टले आफ्नो मनोनयन फिर्ता लिएर मतदान हुनबाट रोकेका थिए । १३ सदस्यीय यो समितिमा सत्तापक्षको ७ र विपक्षी एमालेको ६ मत छ । प्रदेशमा सत्तापक्ष र विपक्षीको सम्बन्ध राम्रो छ भन्ने देखाउनका लागि सर्वसम्मत हुन सहयोग गरेको विष्टले बताए ।

‘निर्वाचनमा लगेर मतदानको अवस्था आउन सक्थ्यो । तर मैले त्यसो गरिनँ । सत्तापक्ष र प्रतिपक्षीबीचको सम्बन्ध सुमधुर छ भन्ने सन्देश गएको छ नि,’ उनले भने, ‘माननीय शाहीज्यूलाई बधाई छ । तोकिएको काम सफलता पूर्वक सम्पन्न गर्न शुभकामना छ ।’

यसअघि जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापा यो समितिमा सभापति थिए । तर पार्टी ह्वीप उल्लंघन गरेको आरोपमा उनलाई पार्टीले साधारण सदस्य समेत नरहने गरि कारबाही गरिदियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *