लोपोन्मुख जेठोबुढो : पोहोर मूल्य तोकियो, अहिले लोगो बन्यो
पोखरा । पोखरेलीहरुको घरमा पाहुना आउँदा भान्सामा पाक्छ जेठोबुढोको भात । विशेषगरी पाहुनालाई कोसेलीको रुपमा पठाउने चलन पनि छ । मगमग बास्ना आउने, लामो सिता भएको र खाँदा नरम हुने भएकाले धेरै रुचाउँछन् । एक समय निकै परिचित पोखरेली रैथाने धान जेठोबुढो आजभोलि बजारमा खासै भेटिँदैन । त्यसमाथि अधिकांश धानमा मिसावट छ । ‘जेठोबुढोको ओरिजिनालिटी खस्केको छ । यो धान पाइन्छ तर पूरानो स्वाद पाइँदैन, बास्ना पाइँदैन,’ महानगरका कृषि महाशाखा प्रमुख मनहर कडरिया भन्छन्‚ ‘हामी यसको ओरिजिनालिटी जोगाउन कस्सिएका छौं ।’
पोखरा महानगरपालिकाले प्रतिकिलो ९० रुपैयाँ मूल्य तोकिदिएको छ । यो वर्ष धानको ब्रान्डिङ गर्न लोगो बनाइएको छ । विदेशमा बस्ने नेपालीहरुले पोखराबाट जाँदा जेठोबुढो लैजान्छन् । जेठोबुढोको नाममा गुणस्तरहीन धान बिक्री हुन थालेपछि पोखरा महानगरपालिकाले त्यसको ब्रान्डिङ सुरु गरेको छ ।
हालसम्म किसानले आफ्नै मूल्यमा बेच्दै आएका जेठोबुढोको न्यूनतम मूल्य महानगरले तोकिदिएको हो । प्रतिक्विन्टल ९ हजार रुपैयाँ मूल्य तोकिएको महानगरले जनाएको छ । खासगरी विदेश बस्ने नेपालीहरुमा यसको माग बढी छ । जेठोबुढो धानको माग बढेको र खेती प्रणाली व्यवस्थित नभएपछि नगरपालिकाले यसको संरक्षण र प्रवर्द्धनमा चासो देखाएको हो ।
अघिल्लो वर्ष धानको मूल्य तोकेको पोखराले यो वर्ष लोगो बनाइदिएको हो । अन्तर्राष्ट्रिय बजारमा सजिलै बिक्री हुनेगरी धानको ब्रान्डिङ गरिएको कडरिया बताउँछन् । ‘मार्केट बढ्दै गएको छ । उत्पादन घट्दै गएको छ । जुन पायो त्यहि धान ल्याएर जेठोबुढोको नाममा बेच्न थाले,’ कडरिया भन्छन्, ‘ब्रान्डिङ गरेपछि थोरै भएपनि उत्पादन बढ्छ । हामीले जेठोबुढो बाहेक अरु धानको बिउ अनुदान दिएका छैनौं ।’
रासायनिक मलको प्रयोग, मिसावट र सुधारिएका जातमा जोड दिएका कारण पुरानो स्वाद खुम्चिँदै गएको छ । हाल पोखराको ११ हजार २ सय हेक्टर जमिनमा धान खेती हुने तथ्यांक छ । त्यसको ४५ प्रतिशत भूमिमा जेठोबुढोको खेती गर्छन्, किसानले । जेठोबुढो धानको उत्पादन लागत निकै महंगो पर्छ । अन्य धानभन्दा यो आधा कम फल्छ । एक बाली उत्पादन हुन कम्तिमा ६ महिना लाग्छ । जग्गाको मूल्य आकासिएका कारण किसानलाई खेती गर्न झनै समस्या थपिएको छ ।
पोखरा र आसपासका किसानले परापूर्व कालदेखि लगाउँदै आएको जेठोबूढो बढ्दो सहरीकरणका कारण संकटमा परेको हो । पामे, लेखनाथ, कसेरी, ठूलाखेतलगायत ठाउँमा महानगरसहित विभिन्न संघ संस्थाको सहयोगमा यो धानको प्रवर्द्धन गरिएको छ । धेरै विदेशीले जेठोबुढो धानको बीउ लैजान खोज्छन् तर केन्द्रले हालसम्म कसैलाई बेचेको छैन ।
सूचना केन्द्रले ६३ प्रजातिका रैथाने धानको संरक्षणमा काम गरिरहेको सूचना केन्द्रकी सदस्य तथा जानकार प्रतीक्षा थापाले जानकारी दिइन् । प्लटिङका कारण धान उत्पादनको क्षेत्र घट्दै गएको छ भने हाईब्रिड धानहरुले जेठोबुढो विस्थापित हुन लागेको विज्ञहरू बताउँछन् ।
६ सयदेखि ९ सय मिटर उचाईमा यसको खेती बढी फस्टाउँछ । यो वर्ष पोखरा र आसपासमा १३ हजार ४ सय टन जेठोबुढो धान उत्पादन हुने अनुमान छ । जेठोबुढोसहित रैथाने जातको संरक्षणका लागि लेखनाथमा जैविक सूचना केन्द्र नै स्थापना गरिएको छ । यहाँ धानको खरिद बिक्री र संरक्षणका काम भइरहेका छन् । रैथाने जेठोबुढोको उत्पादन कम हुने र रोगकिराले सताउने भएपछि लिभर्डले सुधारिएको जेठोबुढोको बीउ किसानलाई बाँडेको छ । ५ वर्षअघि खुलेको यो केन्द्रमा हालसम्म ५० हजारभन्दा बढीले जेठोबुढोको अवलोकन गरिसकेका छन् ।