‘पार्टीमा धर्ना, अनशन र आमरण अनसन बस्नुपर्ने बाध्यता अन्त्य गरौं’

काठमाडौं । नेपाली कांग्रेसका दश जना केन्द्रीय सदस्यहरुले कांग्रेसलाई विश्वास गरेर अन्य राजनीतिक दलले नै देशको अभिभारा सुम्पेका बेला पार्टीभित्रै आफ्नै नेतृत्वबाट असुरक्षित हुने अवस्थाको अन्त्य हुनुपर्ने माग गरेका छन् ।

केन्द्रीय सदस्यहरू डा चन्द्र भण्डारी, धनराज गरुङ, कमला पन्त, रत्ना शेरचन, गगन थापा, बद्री पाण्डे, गुरुराज घिमिरे, सरिता प्रसाईं, रामकृष्ण यादव र किरण यादवले संयुक्त विज्ञप्ति जारी गर्दै पार्टीमा धर्ना, अनशन बस्नुपर्ने बाध्यताको सधैंका लागि अन्त्य हुनुपर्ने बताएका छन् ।

‘राष्ट्रिय राजनीति संकटउन्मुख भएको, नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त राजनीतिक उपलब्धि समाप्त हुन लागेको जटिल घडीमा अन्य राजनीतिक दलहरुले समेत नेपाली कांग्रेसलाई विश्वास गरी देशको अभिभारा सुम्पेको बेला पार्टीका साथीहरूले आफ्नै नेतृत्वबाट असुरक्षित हुने अवस्थाको अन्त्य गर्नुपर्छ,’ उनीहरुले भनेका छन् । नेताहरूले पार्टीको लोकतान्त्रिक प्रतिष्ठा र छविको जगेर्ना गर्दै उत्पन्न समस्याहरुको विधिसंगत र तार्किक समाधान गर्न आग्रह गरेका छन् ।

पार्टी महाधिवेशनका प्रारम्भिक मतदाताको रुपमा रहेका कृयाशील सदस्यहरूको विवादले निर्धारित समयमा महाधिवेशन हुने कुरामा संशय बढाएको उनीहरुको भनाइ छ । ‘हामीसँग समयको सुविधा छैन र उपलब्ध समयसमेत साघुरिँदै गएको छ । यस्तो बेलामा कृयाशील सदस्यको विवादलाई कायम राख्नु र बढाउनु युक्तिसंगत हुँदैन,’ विज्ञप्तिमा भनिएको छ, ‘पार्टी विधानले निर्दिष्ट गरेको प्रक्रिया, मापदण्ड र केन्द्रीय समितिको निर्णयविपरीत गरिने कार्यले कसैको भलो गर्दैन ।’ कृयाशील सदस्यसम्बन्धी विवाद पार्टी केन्द्रीय कार्यालयसम्म आइपुगेर धर्ना र आमरण अनशनसम्म पुगेको भन्दै नेताहरूले विधि र प्रक्रिया नाघेर जथाभावी वितरण गरिएका कृयाशील सदस्यताले पार्टीलाई बलियो नबनाउने दाबी गरेका छन् ।

‘समायोजनका नाममा पार्टी संरचना कब्जा गर्ने उद्देश्यले निर्धारित प्रक्रिया बाहिरबाट वितरण गरिएका कृयाशील सदस्यताले पार्टीको मर्ममाथि नै प्रहार गरेको छ । आफ्नो सर्वस्व सुम्पेका साथीहरुको आत्मसम्मानमा प्रहार गरेको छ । यसलाई तुरुन्त रोक्नुपर्दछ । हामीलाई थाहा छ, पार्टीमा नयाँ सदस्यको आगमनले संगठनात्मक शक्ति बढ्छ र यो आवश्यक पनि छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नयाँ सदस्यको उपयुक्त व्यवस्थापन पार्टीको दायित्व हो । तर एकैचोटी पुराना साथीहरूको विस्थापन हुनेगरी जथाभावी गर्नुहुँदैन ।’

नेताहरूले समय र परिस्थितिले पार्टीको काँधमा आएको राष्ट्रिय अभिभारा पुरा गर्नु कांग्रेसको प्रमुख कर्तव्य भएको भन्दै बितेका साढे तीन वर्षयता ओली सरकारको निरंकुश व्यवहारले नेपाली जनतामा बढाएको निराशा अन्त्य गर्दै सरकारप्रति जनतालाई आस्वस्त तुल्याउनु नयाँ सरकारको दायित्व भएको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *