जनताको तागतले प्रतिगामी तत्त्व परास्त भए : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगामी तत्वहरू परास्त भएको बताएका छन् । बकर इद पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले जनताको तागतका अगाडि प्रतिगामीहरू परास्त भएको बताएका हुन् ।

आजको दिन समुदायको कटौति भएको अधिकारको पुनर्बहालीको अवसरका रुपमा मनाउन उनले आग्रह गरे । ‘समाजका विभिन्न समुदायको बलिदानीपूर्ण संघर्षले हासिल गरेका उपलब्धीमाथि पछिल्लो चरणमा देशीविदेशी प्रतिक्रियावादीबाट हमला गर्ने काम भए,’ प्रचण्डले भनेका छन्, ‘समुदायले हासिल गरेका हक अधिकारहरुको कटौती हुन थाल्यो । तर, त्यस्ता प्रतिगामी तत्वहरु जनताको तागत अगाडि परास्त भए । त्यसकारण आजको दिन समुदायको कटौति भएको अधिकारको पुनर्बहालीको अवसरका रुपमा मनाउन आग्रह गर्दछु ।’

जनताले गरेको विकास र समृद्धिको आकांक्षा अनुरुप समाजवादी लक्ष्य हासिल गर्न सबै नेपाली जनसमुदायमा एकतावद्ध पहलकदमीका लागि उनले आव्हान समेत गरेका छन् । ‘वर्षौंदेखि नेपाली समाजले आफ्नो छुट्टै पहिचानका रुपमा अभ्यास गर्दै आएको सामाजिक व्यवस्था बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक हो,’ उनले भने, ‘नेपालीहरुको यही विशेषताका कारण नेपाल एक अविभाज्य र सार्वभौम राष्ट्र बन्न सफल भएको हो। नेपाली समाजको यही विशेषता र एकताको बलमा नेपालमा ठूलाठूला राजनैतिक र सामाजिक परिवर्तनहरु भए ।’

उनले मुस्लिम धर्मावलम्बीको चाड बकर इदमा स्वदेश तथा विदेशमा रहेकाहरूमा शुभकामना व्यक्त पनि गरे । ‘यस पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी मित्रता जगाई राष्ट्र निर्माणमा एकजुट हुन प्रेरणा मिल्ने विश्वास लिएको छु,’ उनले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *