गगनले देउवालाई भने- विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्नु गैर कानूनी

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले कुनै पनि व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्नु गैरकानुनी भएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई सचेत गराएका छन् ।

मंगलबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवासबाट दिल्लीमा उपचाररत एमाले वरिष्ठ नेता खनाललाई फोन गरी उपचार खर्च राज्यले व्यहोर्ने प्रतिबद्धता जनाएको समचार आएपछि थापाले देउवालाई सचेत गराएका हुन् ।

‘सम्माननीय प्रधानमन्त्री कुनै पनि व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैरकानूनी हो‚’ उनले लेखेका छन्‚ ‘अघिल्लो सरकारले कानूनविपरीत गरेको निर्णयको भारी यो सरकारले बोक्ने छैन भन्ने कुरामा तपाईं सचेत हुनुहुन्छ र तपाईंको भनाइ उद्धृत गर्दै आएका समाचार गलत हुन् भन्ने विश्वास छ ।’

थापाले विदेशमा उपचार गराएको खर्च राज्यले व्यहोर्न नमिल्ने कानून २०७४ सालमै बनेको बताएका छन् ।

‘२०७४ सालमा बनेको जनस्वास्थ्य ऐनमा हाम्रै पहल र संशोधनमा प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सोको लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइनेछ भन्ने व्यवस्था छ र उक्त कानून २०७५ असोज २ गतेदेखि लागू भइसकेको छ,’ उनले भनेका छन्, ‘यो कानून कार्यान्वयनमा आइसकेको अहिलेको अवस्थामा नेपालको बहालवाला राष्ट्रपति, प्रधानमन्त्रीदेखि अन्य कसैको पनि विदेशमा भएको उपचारको खर्च नेपाल सरकारले व्यहोर्न पाउँदैन । कानूनको यो व्यवस्थाको सम्बन्धमा सम्मानीय प्रधानमन्त्री प्रष्ट हुनुहुन्छ भन्ने मलाई विश्वास छ ।’

थापाले पूर्वप्रधानमन्त्री खनालको उपचारको सन्दर्भमा सबैले शीघ्र स्वास्थ्य लाभको कामना गरिरहेको उल्लेख गरेका छन् । नेपालको लोकतान्त्रिक आन्दोलनमा अभूतपूर्व योगदान पुर्‍याएका खनालले पछिल्लो पटक निजी नाफा घाटाको हिसाब नगरी संविधान र लोकतन्त्रको पक्षमा आफूलाई उभ्याएको बताउँदै थापाले त्यसले उनको कद अझ बढेको बताएका छन् ।

खनालसमेतको अडान र नेतृत्वदायी भूमिकाका कारण जोगिएको संसदमा सँगै काम गर्न आफूहरू प्रतीक्षारत रहेको बताउँदै थापाले चाहना छिटै पूरा हुने विश्वाससमेत व्यक्त गरेका छन्।

‘उहाँको उपचारको लागि परिवार, स्वजन, पार्टी पङ्क्ति लागिरहेकै छ । उहाँलाई उपचार खर्च जुटाउनुपर्ने अवस्था नै आएमा त्यसका लागि देश विदेशमा रहेका हामी सबै नेपाली हरदम तयार छौं र रहन्छौं नै,’ थापाले भनेका छन्, ‘यस्तो बेलामा उहाँको विदेशमा गरेको उपचारको खर्च सरकारले व्यहोर्ने भन्ने विषय उठाई उहाँको बारेमा अनावश्यक टीकाटिप्पणी गर्ने वातावरण बनाएर उहाँ र उहाँको परिवारलाई दुःखी नबनाऊँ ।’

मंगलबारमात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले नेता खनालको उपचार खर्च सरकारले व्यहोर्ने बताएका थिए । स्वास्थ्यमा समस्या देखिएपछि एमाले नेता एवं पूर्वप्रधानमन्त्री खनाल भारतमा उपचारत छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *