पुष्पलालको रोचक संयोग : दाजुको मृत्युको एक दशकमा आयो प्रजातन्त्र र बहुदल

काठमाडौं । बिहीबार नेपालका कम्युनिस्ट संस्थापक पुष्पलालको ४३ औँ स्मृति दिवस हो । २०३५ साल साउन ७ गते भारतको नयाँ दिल्लीको गोविन्द बल्लभ पन्त अस्पतालमा उपचार गराउने क्रममा उनको मृत्यु भएको थियो ।

१९८१ साल असार १५ गते रामेछापको भंगेरेमा जन्मिएका पुष्पलालले २००६ वैशाख १० मा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए ।

भारतीय शहर कलकत्तामा स्थापना गरेको पहिलो कम्युनिस्ट पार्टीमा पाँच सदस्य थिए । महासचिव पुष्पलाल थिए भने सदस्यहरुमा निरन्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य, मोदिदेवी श्रेष्ठ र नारायण विलाश जोशी थिए ।

पुष्पलालबारेमा रोचक संयोग यो छ कि उनका दाजु नेपालका शहीद थिए । जेठा दाजु गंगालाल श्रेष्ठ विसं १९९७ माघ १५ मा राणा शासकबाट मृत्युदण्ड दिएर मारिए । त्यो समयमा पुष्पलाल १६ वर्षे किशोर अवस्थामा थिए । गंगालालको मृत्यु भएको ठिक एक दशकपछि नेपालमा पहिलोपल्ट प्रजातन्त्र स्थापना भएको थियो । २००७ फागुन ७ मा प्रजातन्त्र स्थापना भएर राणाको जाहानीय शासन अन्त्य भयो ।

जेठा दाजु गंगालालको मृत्युको एक दशकपछि प्रजातन्त्र आएजस्तै पुष्पलालको मृत्युको एक दशकपछि नेपालमा बहुदल आयो । २०४६ चैत्र २६ मा राजा विरेन्द्रले बहुदल घोषणा गरेका थिए । २०१७ साल पुष १ गते निर्वाचित सरकार र संसदलाई अपदस्त गरेर राजा महेन्द्रले आफ्नो हातमा सत्ता लिएका थिए ।

त्यसविरुद्ध पुष्पलाल सक्रिय थिए । २०१५ को प्रथम आम निर्वाचनमा गणेशमानसँग काठमाडौंमा हारेका थिए पुष्पलाल । आफू संसद नभए पनि उनी संसद पुनःस्थापनाको पक्षमा थिए । भारत प्रवासबाटै उनको संघर्ष जारी थियो । पार्टी र नेताहरुलाई प्रतिबन्ध लाएको नेपालमा पुष्पलालको लाशसमेत ल्याउन दिइएन ।

पत्रकार युवराज घिमिरेले २०७३ सालमा अन्नपूर्ण पोस्टमा एक लेख लेख्दै पुष्पलालको दाहसंस्कार भारतको यमुना नदी किनारको निगमबोध घाटमा भएको थियो । तत्कालीन समयमा भारतमा अध्ययन गर्ने घिमिरे अन्त्येष्टीमा सहभागी थिए । उनका अनुसार अन्त्येष्टीमा पत्नी साहना प्रधान, छोरा उमेश श्रेष्ठ र बामनेता बलराम शर्मालगायत थिए ।

आजीवन कुनै सार्वजनिक पदमा नरहेका पुष्पलाल पत्नी साहना भने दुइपटक मन्त्री बनिन् । उनी उद्योग तथा परराष्ट्रमन्त्री बनेकी थिइन् ।

पुष्पलालका छोरा उमेश भने राजनीतिमा छैनन् । उनी नेपालका चिनिएका औषधि उत्पादक हुन् भने अहिले उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *