कांग्रेस सदस्यता विवाद : धनुषामा पनि अनशन

जनकपुरधाम । क्रियाशील सदस्यता वितरणमा एकलौटी तथा मनपरी भएको भन्दै काठमाडौं सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना सुरु भएको पाँच दिनपछि जनकपुरस्थित धनुषा जिल्ला पार्टी कार्यालयमा पनि रिले अनसन सुरु भएको छ । पूर्वराष्ट्रपति डा. रामवरण यादव पुत्र डा.चन्द्रमोहन यादव समर्थक नेता कार्यकर्ताहरूले बिहीबारदेखि रिले अनसन सुरु गरेका हुन् ।

पूर्वसांसद डा.यादवसहितका नेता कायकर्ताहरू पाँच दिनदेखि पार्टी केन्द्रीय कार्यालय काठमाडौंमा धर्नामा बसेका छन् । उनकै समर्थक कांग्रेसी नेता/कार्यकर्ताहरुले बिहीबारदेखि जनकपुरमा पनि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म बस्नेगरी रिले अनसन सुरु गरेका हुन् ।

कांग्रेस नेता नवलकिशोर यादवको अध्यक्षतामा अनशन सुरु गरेका उनीहरुले धनुषा क्षेत्र नम्बर १ र ४ मा पार्टीको विधान, नियमावली र केन्द्रीय परिपत्रविपरीत वितरण गरिएको क्रियाशील सदस्यता खारेज हुनुपर्ने माग गरेका छन् ।

धनुषामा करिब १२ हजारको हाराहारीमा कांग्रेस क्रियाशील सदस्यता रहेकोमा यस वर्षमात्रै सात हजारभन्दा बढी थपिएका छन् । जसमा हजारौं क्रियाशील सदस्यता पार्टी विधान, नियमावली र केन्द्रीय परिपत्रविपरीत रहेको अनशनकारी नेताहरुको दाबी छ । उनीहरूले धाँधली गरी बाँडिएको क्रियाशील सदस्यता खारेज नभएसम्म अनशन जारी रहने बताएका छन् ।

पार्टी कब्जा गर्ने गलत मानसिकता राखी क्रियाशील सदस्यता वितरणमा एकलौटी तथा मनपरी भएको कांग्रेस नेता संजिव यादवले आरोप लगाए । यसै विषयमा काठमाडौंमा धर्ना सुरु भएको पाँच दिन बितेपनि पार्टी नेतृत्वले बेवास्ता गरेकाले आफूहरुले बाध्य भएर अनशन सुरु गर्नुपरेको उनले बताए ।

तरुण दलका केन्द्रीय सदस्य नरेश यादवका अनुसार धनुषा निर्वाचन क्षेत्र नम्बर १ र ४ मा सदस्यता वितरणमा धाँधली भएको छ । जिल्लाबाट पठाएको प्रतिवेदनको अधारमा सदस्यता वितरण हुनुपर्नेमा प्रक्रियाविपरीत वितरण गरिएको सदस्यता रद्द हुनुपर्ने उनको माग छ । वडा सभापतिको जानकारीबिना अन्य पार्टीका आगन्तुकहरुलाई सदस्यता दिइएको उनको आरोप छ ।

पार्टीको आसन्न १४ औँ महाधिवेशनमा आफ्नो बर्चस्व कायम गर्न पार्टी विधानविपरीत कार्य गरेको कांग्रेसी नेताहरुले आरोप लगाएका छन् ।

धनुषामा १२ हजार कांग्रेस सदस्य रहेकोमा १२ हजार पुनः थप्ने पार्टीको संस्थागत निर्णय भएपनि सात हजारमात्रै थपिएको छ । सात हजार थपेपछि धनुषामा हाल करिब १९ हजार क्रियाशील सदस्य भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *