सन्दर्भ : गुरु पूर्णिमा

गुरुको सीपमाथि पलाएको ‘सपना’

काठमाडौं । एक कक्षामा हुँदो हुँ, चुपचाप मलाई एक शिक्षक (गुरु) आएर चड्कन लगाउनुहुन्छ । साथीको ‘सर दिक्षाले हल्ला गरेको होइन’ भन्ने वचनपछि उहाँ फर्केर सम्सुम्याउनुहुन्छ अनि भन्नुहुन्छ स्नेहिलो भाषामा– ‘सरी’ ।

शिक्षकहरुप्रति सायद मेरो जीवनकै पहिलो धारणा हुनसक्छ, सरहरु साँच्चै नै राम्रो हुँदारहेछन् । गल्ती गरेपछि माफी माग्ने ।

०००
पाँच कक्षामा पुगेको थिएँ, एकजना महिला शिक्षक हुनुहुन्थ्यो— जसले अंग्रेजी विषयको अध्यापन गराउनुहुन्थ्यो । उहाँले व्याकरणअन्तर्गतको आर्टिकल (ए, एन र द) को प्रयोगबारे बताउनुभएको थियो । आजसम्म पनि यी ए, एन र दले मलाई उनै शिक्षकको ऐना देखाइदिन्छ । जो कदमा सानी, तर शिक्षण कलामा भीमकाय लाग्नुहुन्छ अझैपनि । शारीरिक हाउभाउको समेत ‘फ्यान’ मलाई शिक्षण कलाले त आकर्षित गर्ने नै भयो ।

समय बित्दै गयो, उहाँको सरुवाको कुरा भयो । चिटिक्क उहाँको सरुवासँग मलाई पिटिक्कै चित्त बुझेको नहुँदो हो । जसै उहाँ सरुवा भएर जानुभयो । त्यसपछिका दिनहरुमा म कुनै पनि स्कूलमा कुनै विषयका शिक्षकप्रति आकर्षण हुन सकिनँ ।

समय आफ्नै गतिमा दगुर्दै गयो । म सात कक्षामा पुगिसकेको थिएँ । कालखण्डले पुनः उही शिक्षकसँग भेट गरायो । मनमा पलाएको अंग्रेजी विषयको भ्रूणले थप मलजल पायो । मनले आफैंसँग भन्यो– अब अंग्रेजी सुध्रिने भयो ।

फगत छोडिएका भावनाहरु भन्दा कुनै न कुनै माध्यमबाट उतारिएका भावनाहरु अमरअजर रहन्छन् ।

तर, अवस्था अप्ठ्यारो थियो । सशस्त्र द्वन्द्वको समय । सेना, प्रहरी अनि भूमिगतहरुको आतंक उस्तै । कहिले झडप, कहिले फायरिङ्ग त कहिले मारपिट । यी शृङ्खलाहरुका कारण म केही दिन स्कूल जान सकिनँ । लाग्थ्यो– उहाँ आउनुभएपछि नछुटाइ स्कूल जान्छु, राम्रो पढ्छु अनि उहाँजस्तै बन्छु । तर, बाह्य अवस्थाले मलाई यो सब गर्न दिएन । ‘तिमी किन स्कूल आएनौ, धेरै महत्त्वपूर्ण टपिक पढाएँ ।’ दोस्रो दिनको मेरो कक्षामा उहाँले भन्नुभयो ।

म बोल्न सक्दिनथेँ । तै पनि खुसी यो मानेमा लाग्यो कि, कमसेकम म पनि उहाँको नजरमा पर्ने रहेछु । मनको शान्तिको लागि कहाँ ठूलै कुराबाट खुसी मिल्नुपर्छ भन्ने नै पनि भएन । अनि मनमा बढ्दै गरेको अंग्रेजी विषयको विरुवा अब झनै झ्यामिँदै गयो । लाग्यो, अंग्रेजी विषयमा स्नाकोत्तर गर्छु ।

०००
आज पनि समय उही गतिमा हिँडिरहेको छ । एसएलसी दिएँ । अंग्रेजी विषयको भूत चढेको मलाई अंग्रेजी नै पढनु थियो । आफ्नै सुरमा अडिग मैले अन्ततोगत्वाः अंग्रेजी साहित्य रोजेँ । यसैबाट स्नाकोत्तरसम्म पनि गरेँ ।

यसरी एक शिक्षकको प्रभावबाट म यहाँसम्म आएँ । आज म अंग्रेजी साहित्यको एकजना विद्यार्थी हुँ । ‘किन अंग्रेजी साहित्य पढिस्’ भन्ने साथीहरुको प्रश्नमा मैले शानका साथ भन्ने गरेको छु— ‘एक शिक्षकको प्रभावले । जसले मलाई अंग्रेजी विषयको प्रभाव छोडिजानुभयो ।’

०००
अहिले आएर अंग्रेजी विषयसँगको केही क्रेज स्थिर छ । यसै लाग्छ– अंग्रेजी विषयसँग केही समय खेलियो, अब अंग्रैजी विषयसँग जस्तै क्यामेरासँग खेलौँ । भलै स्नाकोत्तर नगरौँला तर, रहरको अध्ययन भने पूरा गरौँला ।

त्यसो त जीवनमा अंग्रेजी विषयजस्तो कोही गुरु छैनन् क्यामेराको । तर, कमसेकम आफूसँग रहेका क्यामेराका लेन्सहरु हमेशा तस्बिरहरु तान्न प्रयासरत भइरहन्छन् । क्यामेरा जो, अगाडि देखिएका कतिपय दृश्य, वस्तु अनि आकृतिहरुलाई आफ्नो बसमा ल्याउँछ र नियाल्छ ।

कमसेकम ममा अंग्रेजी र क्यामेराको आकर्षण उस्तै हुँदो हो । बस फरक यही रह्यो, अंग्रेजी केही गुरुहरुले सिकाउनुभयो र निश्चित एउटा बिन्दुसम्म तानिएँ । मनमा धोको छ– अब क्यामेराको सन्दर्भबाट पनि कुनै निश्चित बिन्दुमा चढौँ ।

यसो भनौँ— मैले क्यामेराको सन्दर्भमा न कसैको जुत्ति अपनाएँ, न कसैको चालमा चलाएँ । जे खिचेँ, जे चलाएँ आफ्नै तरिकाबाट सबै सबै । अब क्यामेरासँग जीवन दाँज्न मन लागेको छ । अब क्यामेराको गुरुको खोजीमा छु, जसले अंग्रेजी विषयको जस्तै मनमा उम्रैको भ्रूणलाई ह्वात्तै बढाइदेओस् ।

०००
मनको अनकन्टारमा भएका यी शब्दहरुलाई उतार्दै गर्दा सिर्फ गुरु पूर्णिमालाई सार्थक बनाउन खोजेकी हुँ अनि त्यसलाई आफ्नो रहरसँग जोडेकी हुँ । लाग्छ, फगत छोडिएका भावनाहरु भन्दा कुनै न कुनै माध्यमबाट उतारिएका भावनाहरु अमरअजर रहन्छन् । ध्येय यत्ति ।

०००
अतः स्कूल, कलेज अनि कुनै पनि शैक्षिक क्षेत्रमा भेटिने गुरुवर्गबाट धेरै कुरा सिकियो । सिकिएका कुराहरु आज दर्बिलो बनेर जीवनमाझ उभिएकै छन् । सँगै बाह्य पाटामा भेटिएका गुरुवर्गबाट सिक्ने क्रम चलिरहेकै छ ।

सबै सबै खाले ज्ञान, सीप र अनुभव बाँड्ने गुरुहरु आज मथिङ्गलमा आइरहेका छन् । गुरु तिनै हुन्, जसले जीवनमा सधैं सकारात्मकतासँग जोडे र जोडन् सिकाए । सबैलाई गुरु पूर्णिमाको शुभकामना ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *