उपेन्द्र पक्षले पायो आधिकारिकता, महन्थ पक्षलाई छुट्टै दल दर्ता गर्न आग्रह

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालको उपेन्द्र यादव पक्षलाई निर्वाचन आयोगलाई आधिकारिकता दिएको छ । यस्तै महन्थ ठाकुर पक्षलाई छुट्टै दल दर्ता गर्न आग्रह गरेको छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले घोषणा गर्दै भने— ‘निर्वाचन आयोगको इजलासले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ । किनकि, उपेन्द्र यादव पक्षमा बहुमत कार्यकारिणी सदस्यहरु देखिनुभएको छ । यस्तै महन्थ ठाकुर पक्षलाई अर्को छुट्टै दल दर्ता गर्न अवसर दिएको छ ।’

जसपाका अध्यक्षद्वय यादव र ठाकुर पक्षबीच आधिकारिकतासम्बन्धी विवाद भएपछि निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुलाई आयोगमै बोलाएर को कसको पक्षमा भनेर सनाखत गराएको थियो । जसमा यादवको पक्षमा ३४ जना सदस्यहरुले हस्ताक्षर गरे भने ठाकुरको पक्षमा १६ जना सदस्यहरुले हस्ताक्षर गरे । प्रवक्ता श्रेष्ठले भने— ‘उपेन्द्र यादवको पक्षमा ३४ जनाको हस्ताक्षर देखियो भने महन्थ ठाकुर पक्षमा १६ जनाको मात्रै हस्ताक्षर देखिएको छ ।’

हस्ताक्षर गर्न निर्वाचन आयोग पुगेका रेशम चौधरीले भने महन्थ ठाकुरसँगको छलफलपछि तटस्थ बस्ने निर्णय गरेका थिए । उनी हस्ताक्षर नगरीकनै आयोगबाट बाहिरिएका थिए । टीकापुर हत्या प्रकरणमा कारागार सजाय कटाइरहेका चौधरीले कारागारमै हस्ताक्षर गर्न अस्वीकार गरेपछि निर्वाचन आयोग नै ल्याइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *