कांग्रेसमा क्रियाशील सदस्य आठ लाख ५२ हजार, महिला २२ प्रतिशतमात्रै

काठमाडौं । कांग्रेसका क्रियाशील सदस्यको संख्या साढे आठ लाख नाघेको छ । कांग्रेसले १४ औँ महाधिवेशनका लागि गएको महाधिवेशनमा भएको क्रियाशील सदस्यको संख्यालाई दोब्बर बनाउने निर्णय गरेको थियो । केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले आसन्न महाधिवेशनका लागि आठ लाख ५२ हजार सात सय ११ सदस्यहरूको नामावली सभापति शेरबहादुर देउवालाई बुझाएको हो ।

यसअघि १३ औँ महाधिवेशनमा चार लाख ७० हजार सदस्यमात्रै थिए ।

जसमध्ये पुराना सदस्यको संख्या चार लाख नौ हजार ३३ जनाको नवीकरण भएको छ भने यसपटक चार लाख ४३ हजार
६ सय ७८ जनालाई नयाँ सदस्यता दिइएको छ । तीमध्ये ७४.२६% अर्थात् ६ लाख ५३ हजार छ सय ७८ जना पुरुष सदस्य छन् भने महिलाको संख्या २२.६२% अर्थात् एक लाख ९९ हजार ९७ मात्रै छ । अन्य १७६ जना सदस्य छन् ।

केन्द्रीय सदस्य रमेश लेखकको सयोजकत्वको छानविन समितिले सप्तरी, बारा, रसुवा र सिन्धुपाल्चोकका नयाँ सदस्यतालाई आगामी महाधिवेशनका लागि स्थगित गरेर ७३ जिल्लाको विवरण बुझाएको हो । तर, छानविनका लागि आवश्यक पर्ने सक्कल कागजात प्राप्त नभएको र छानविनको काम पूर्ण नभएको भन्दै सदस्य कल्याणकुमार गुरुङले भने फरक मत राखेका छन् । समितिले सबै निर्णयहरू सर्वसम्मत रुपमा निर्णय गर्ने र सर्वसम्मत नभए त्यस्ता विवादलाई अर्को महाधिवेशनका लागि स्थगित गर्ने मापदण्ड बनाएको थियो ।

यो पनि
क्रियाशील सदस्य छानबिन समितिमा जुटेन सहमति, गुरुङको ‘नोट अफ डिसेन्ट’

गुरुङको नोट अफ डिसेन्टका बीच समितिले सभापतिसमक्ष प्रतिवेदन बुझाएको हो । अब पदाधिकारी र पूर्वपदाधिकारीहरुले समितिले बुझाएका विवादका विषयहरुमा थप छलफल गरेर सदस्यता अर्थात् पार्टीको अधिवेशनका मतदाताको टुंगो लगाउनेछ ।

यसपटक १६ देखि २५ वर्ष उमेर समूहका ४० हजार ४२७ जना, २६ देखि ४० वर्ष उमेर समूहका २ लाख ४९ हजार ७७४ जना, ४१ देखि ६० वर्ष उमेर समूहका ३ लाख २८ हजार २३४ जना र ६१ देखि ७५ वर्ष उमेर समूहका ८३ हजार १० जना क्रियाशील सदस्य छन् ।

यस्तै, कुल क्रियाशील सदस्यमध्ये दलित ५.१८, खस आर्य ४१.७८, जनजाति २३.६५, पिछडिएको क्षेत्र १.६९, अपाङ्गता भएका ०.०२२, थारु ३.१६, मुस्लिम १.९२, मधेशी १०.८१ र अल्पसंख्यक ०.७७ प्रतिशत रहेका छन् ।

यो पनि
कांग्रेसको क्रियाशील छानबिन पूरा, चार जिल्लाको नयाँ सदस्यता रोकियो

यस्तै, प्रदेशगत रुपमा प्रदेश १ मा एक लाख ७४ हजार ७८२, प्रदेश २ मा एक लाख १२ हजार ९४६, बाग्मती प्रदेशमा एक लाख ८६ हजार १४३, गण्डकी प्रदेशमा एक लाख १८ हजार ६६३, लुम्बिनी प्रदेशमा एक लाख ३० हजार ८८५, कर्णाली प्रदेशमा ५४ हजार ५६६ र सुदुरपश्चिम प्रदेशमा ७४ हजार ७५६ जना क्रियाशील सदस्य छन् ।

क्रियाशील सदस्य नै कांग्रेसको तल्लो तहको अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यमध्येबाट छनौट भएका क्षेत्रीय अधिवेशन प्रतिनिधिले केन्द्रीय महाधिवेशन प्रतिनिधिको चयन गरेर पठाउँछन् । हरेक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट केन्द्रीय महाधिवेशनका लागि सभापतिसहित २५ जना महाधिवेशन प्रतिनिधि चयन हुने व्यवस्था छ । ती महाधिवेशन प्रतिनिधिले नै केन्द्रको नेतृत्व चयन गर्छन् । त्यही कारण नेताहरुले आफ्नो पक्षमा धेरै क्रियाशील सदस्यहरु थप गर्ने प्रयास गर्ने गर्दछन् ।

जसका कारण विभिन्न जिल्लामा विवादहरु उत्पन्न हुँदै आएको छ । महाधिवेशनको मुखमा क्रियाशील सदस्यताको विवाद महिनौँसम्म उठ्ने गरेको छ । यसपटक पनि क्रियाशील सदस्यताकै विषयमा केन्द्रीय कार्यालयमा धनुषा र सर्लाहीका चार जना नेताले आमरण अनशन गरिरहेका छन् भने बारालगायत जिल्लाका नेता कार्यकर्ताहरुले धर्ना दिइरहेका छन् ।

क्रियाशील सदस्यताकै कारण मंगलबारबाट सुरु हुने तल्लो तहको अधिवेशन रोकिएको छ । अब छानविन समितिले प्रतिवेदन बुझाइसकेकाले नयाँ कार्यतालिकाका विषयमा छलफल गर्न बुधबार पुनः पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक बस्ने भएको छ ।

भदौमा महाधिवेशन नगरे कांग्रेस वैधानिक संकटमा पर्नेछ । कांग्रेसले १६ देखि १९ भदौमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *