पालेको भरमा विराटनगर जुट मिल, स्थानीय भन्छन्- चोरेरै सके
विराटनगर । विराटनगर महानगरपालिका- १६ मा भएको विराटनगर जुट मिलको मुख्य प्रवेशद्वारमा पानी जमेको छ । भित्र प्रवेश गर्ने ठाउँ नै अस्तव्यस्त देखिन्छ ।
सडकबाट छिर्ने मुख्यद्वारमा गेट छ तर‚ नजिकमा कुनैपनि पर्खालहरू छैनन् । गेटभन्दा भित्रको भागमा ठुला पक्की संरचना निर्माण गरेर व्यक्तिका घरहरू निर्माण भएका छन् । त्यो जग्गा पहिला जुटमिलले उपभोग गर्दै आएकोमा पछि मुद्दा जितेपछि व्यक्तिको भएको स्थानीय बताउँदै थिए ।
मुख्यद्वारबाट अलिक अगाडि पुगेपछि देब्रेपट्टी एउटा अर्को गेट आउँछ‚ त्यहाँबाट भित्र छिरेपछि मात्र जुटमिलको मुख्य ठाउँमा मिलहरू भएको उद्योग र कार्यालय भएको स्थलमा पुग्न सकिन्छ । मंगलबार दिउँसो करिब १ बजेको थियो । त्यहाँको दोस्रो गेटबाट भित्र पस्दै गर्दा देखिए दुईजना व्यक्ति ।
उनीहरू मिल्सको संरक्षणको लागि बसेका पाले रहेछन् । त्यो गेटबाट भित्र कसैलाई पनि पस्न दिँदैनन् । कोही आइहाले पनि माथिको आदेश भन्दै गेटबाट बाहिरै निस्कन भन्छन् । त्यहाँ बसेको दुई जनामध्ये एकजना रोहित क्षेत्री हुन् भने अर्का अनुप लामा हुन् । यी दुईजना हरेक दिन बिहान आउँछन् । ८ घण्टा त्यही रुखमुनि आए बस्छन्‚ र आफ्नो काम गर्ने समय सकिएपछि फर्कन्छन् । उनीहरूको दैनिकी नै यस्तै छ ।
जुटमिल रुँग्न बसेका पालेहरू काम गर्न आउन थालेको ४ महिनामात्र भयो । त्योभन्दा अघि जुटमिलमा सेक्युरिटी गार्ड कम्पनीबाट ठेक्कामा सुरक्षा गार्ड राखेर काम गराइदै आएको थियो । विगत ४ महिनादेखि उनीहरुलाई राखेको त्यही भेटिएका मध्येका रोहित क्षेत्रीले बताए । ‘काम गर्न थालेको ४ महिना भयो,’ उनले भने‚ ‘पहिलो ४ महिना नियुक्ति दिएको थियो, अहिले करार थप भएको छैन तर पनि काम गरिरहेका छौँ ।’ चार महिनाअघि ८ जनालाई नियुक्त गरेपछि अहिले जुट मिलको सुरक्षामा ८ जना सुरक्षा गार्ड कार्यरत छन् ।
जुटमिलमा भेटिएका सुरक्षा गार्डमध्येका अर्का अनुप लामा यसअघि यही जुटमिलमा मिस्त्रीको रुपमा काम गर्थे । ‘शुरूमा मिस्रीमा काम गर्दै आएको थिएँ,’ उनले भने, ‘१५ वर्ष पहिला हिसाब लिएर निस्केको निस्किएको थिएँ, अहिले फेरि मान्छे खोजेको थाहा पाएपछि आएको हुँ ।’
आउँदैनन् कर्मचारी
जुटमिलमा अहिले पनि केही कर्मचारीहरू छन् । ४० जनाभन्दा बढी कर्मचारी रहेको दाबी गरेका सुरक्षागार्डले मंगलबार भने कोही नआएको बताए । नियमित जुटमिलको कार्यालयमा आउने भनिएकाहरू पनि मंगलबार आएका थिएनन् । ‘हिमाल सर, श्याम दाइ र विपिनलगायतका कर्मचारी लगातार आउनुहुन्छ,’ ती गार्डले भने, ‘उहाँहरू पनि कहिलेकाहिँ आउनुहुन्छ, त्यो भनेको महिनामा १५ दिनजस्तो हो ।’ मंगलबार दिउँसो सुनसान रहेको जुटमिलमा कोही कर्मचारी थिएनन् । कर्मचारी कोही नभएकाले कसैलाई पनि भित्र पस्न नदिनू भनिएको भन्दै कार्यालय र जुटमिल भएको क्षेत्रमा भने ती सुरक्षागार्डले कसैलाई पनि प्रवेश गर्न दिएनन् ।
स्थानीय भन्छन्- चोरीले सके
विराटनगर जुटमिलमा तलव खाने नै झण्डै ४० जना कर्मचारी छन् । तर कार्यालयमा कोही हुँदैनन् । एक सुरक्षागार्ड भन्छन्‚ ‘तलब खुवाउने भयो भनिएपछि सबैजना कर्मचारी आउँछन्‚ उनीहरुलाई त्योबाहेक अरू वास्तै हुँदैन ।’ सुरक्षा गार्डकै जस्तो कुरा स्थानीय पनि गर्छन् ।
जुटमिलको अगाडि पसल संचालन गरेर बसेकी शोभा गुरूङले जुट मिल सबै चोरेरै सकेको बताइन् । ‘प्रहरी प्रशासन कसैलाई मतलब छैन । चोरहरू दिनदहाडै जुटमिलभित्र पसेर विभिन्न सामान चोरेर लगेको देखिन्छ, झ्याल ढोका पनि बाँकी राखेका छैनन्‚’ उनले भनिन् । तलका झ्याल र ढोका चोरेर सकेपछि अहिले छानोको टिन पनि चोरी गर्न थालेको उनको गुनासो छ ।
‘सुरक्षागार्ड राखेको छ भन्छन् तर‚ जुटमिलको रेखदेख अहिलेसम्म देखिएको छैन‚’ उनले भनिन् । दैनिक ५ हजारभन्दा बढीले रोजगारी दिने जुटमिल‚ राज्यकै कारण भग्नावशेष हुँदै गएको छ । मूल गेटसँगै रहेको क्षेत्रका घरहरू त सकियो नै‚ मिल भएको भवन पनि माथिबाट पानी चुहुन थालेपछि मेसिन बिग्रने अवस्थामा पुगेको छ । ‘पहिला कस्तो राम्रो मेसिन थियो‚’ उनले भनिन्, ‘अहिले छैन, दैनिक चोरी भएको सुनिन्छ, संरक्षणमा कसैको चासो गएन । स्थानीयहरू यसको संरक्षणका लागि संग्राहालय, औद्योगिक ग्राम तथा सकिँदैन भने वरिपरि पार्क बनाएर भएपनि संरक्षण गर्नुपर्ने बताउँछन् ।