आफ्नै देश बिरानो लाग्ने नेपाली बस्ती
सौच गर्न पनि भारतीय भूमिमा जानुपर्ने बाध्यता
धनगढी । धनगढी उपमहानगरपालिका भित्रै दुईवटा यस्ता बस्ती छन् जसबारे धनगढी कै धेरैजसोलाई थाहा छैन । धनगढीकै धेर बासिन्दाले यी बस्तीका नामधरि सुनेका छैनन् । नेपाल भारतको सीमा क्षेत्र हुँदै बग्ने मोहना नदी पारी पर्ने यी बस्तीका बासिन्दालाई पनि आफ्नो देश विरानो जस्तो लाग्छ । किनभने प्रशासनिक कामबाहेक उनीहरु नेपालतिर बिरलै आउँछन् । विद्यालय र अस्पताल मात्र होइन नुनदेखि सुनसम्मको बजारका लागि पनि भारतीय बजारमै भरपर्नुपर्ने अवस्था छ । अरु त के कुरा दिसापिसाव गर्न पनि भारतीय भूमिमा जानुपर्ने बाध्यता छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १९ मा पर्ने लग्गाभग्गा र आँखाफुटे बस्तीका बासिन्दा नामले मात्रै नेपाली नागरिक हुन् । उनीहरुले राज्यको आधारभूत सेवा सुविधाबाट पनि बञ्चित छन् । बरु राज्यबाटै उत्पीडनमा परेका छन् उनीहरु । दुवै वस्तीमा भर्खरै विजुली पुगेको छ । त्यसबाहेक कुनै सुविधा पुग्न सकेको छ्रैन ।
बर्खायाममा मोहना नदी पारीको यो गाउँ पुग्न डुङ्गा एकमात्र साधन हो । नदी बढ्ने भएकाले बर्खाका बेला नेपालसँग उनीहरुको सम्पर्क विच्छेद हुन्छ । २०५१ सालबाट बसोबास शुरु भएको बस्ती भारतीय दुधुवा नेशनल पार्कसंगै जोडिएको छ । वारिपट्टी हुलाकी राजमार्गको बौलिया गाउँ छ । लग्गाभग्गामा २२ र आँखाफुटेमा सात घरधुरी छन् ।
वर्षायामका चार महिना मोहना नदीमा आउने बाढीका कारण ती वस्तीका बासिन्दालाई सामान्य औषधीमुलोका लागि पनि भारतीय बजारमै धाउनुपर्छ । त्यहाँबाट भारतीय बजार चन्दनचौकी करिब तीन किलोमिटर टाढा पर्छ । यता आफ्नै नगरपालिकाको धनगढी बजारसम्म पुग्न भने उनीहरुलाई ३०-३५ किलोमिटरको दुरी पार गर्नुपर्छ । सामान्य रुघाखोकी, ज्वरोको कुनै प्रवाह नै गर्दैनौं, सहेरै बस्छौं,’ लग्गाभग्गाका रामबक्स रानाले भने- ‘बिरामले च्याप्यो वा ठूलै रोग लाग्यो भने भारतमै भारतीय बजार चन्दनचौकी जानुपर्छ ।’
राना थारु समुदायको बसोबास रहेको बस्तीलाई नेपालसँग जोड्न सरकारले कुनै पहल नगरेको गुनासो स्थानीयबासिन्दाको छ । पालिकाले नदी वारपार गर्न हिउँदमा काठको पुल र बर्खामा डुंङ्गा चलाउन ठेक्का दिँदै आएको छ । खोलामा काठको पुल र डुंङ्गा चलाएर बर्सेनि कर उठाइँदै आएपनि पुल निर्माणमा भने अहिलेसम्म कुनै पहल हुन नसकेको रामबक्सले बताए ।
मोहना नदीमा पुल बनाउने काम हुन्छ भनेर स्थानीयवासिन्दाले नेताबाट आश्वासन पाएको भने वर्षौं वितिसकेको छ । तर काम भएको छैन । ‘निर्वाचनका बेला भोट माग्न आउँदा नेताहरुले खानेपानी, स्वास्थ्य चौकी, पुललगायतको व्यवस्था गरिदिन्छु भन्छन््,’ रामबक्सले भने, ‘तर चुनाव सकिएपछि कोही पनि फर्केर आएका छैनन् । पुल बन्छ कि बन्दैन थाहा छैन ।’
अरु कामका लागि मोहना नदी वारी नेपालतिर आउन नपरेपनि उनीहरुलाई प्रशासनीक काममा भने नदीको जोखिमपूर्ण यात्रा गर्नैपर्छ । वर्षायामका चार महिना डुंगाको जोखिमपूर्ण यात्रा गर्नुपर्छ । उनीहरुलाई अरु बेला अस्थायी रुपमा बनाइएको काठे पुलको भर पर्नुपर्ने अवस्था रहेको मोहना नदीमा डुङ्गा चलाउँदै आएका रामकुमार चौधरीले बताए । उनले अहिले विद्यार्थीलाई निःशुल्क र अन्यबाट जनही ५० रुपैयाँ लिएर नदी वारपार गराउने गरेको जानकारी दिए । रामकुमार पनि धनगढी उपमहानगरपालिकाले आह्वान गरेको टेण्डरबाटै नदीमा डुङ्गा चलाइरहेका छन् ।
नदी पारीको बस्तीलाई नेपालसँग जोड्न वडाको बजेटले मात्रै नपुग्ने भएकाले पुल बनाउन केही गर्न नसकिएको वडा नम्बर १९ का वडा अध्यक्ष तिलुराम चौधरीले बताए । लग्गाभग्गा र आँखाफुटे बस्तीलाई जोड्न मोहना नदीमा पुल अपरिहार्य भएकोबारे पटक-पटक प्रतिनिधि सभा सदस्य नारदमुनि रानालाई आग्रह गरेको जानकारी दिए ।
सौच गर्न पनि भारतमा
प्रशासनिक कामबाहेक हरेक कुरामा भारतकै भरमा रहेका यी दुई नेपाली बस्तीका बासिन्दा सौच गर्न पनि भारतीय जंगलमै जानुपर्ने अवस्था छ । उनीहरु नजिकैको भारतीय दुधुवा नेशनल पार्कको घना जंगलमा सौच गर्न पुग्ने गरेका छन् ।
घरमा सौचालय बनाउन नसकेकै कारण भारतीय जंगलमै गएर दिसापिसाव गर्न बाध्य भइरहेको उनीहरु बताउँछन् । ‘घरमा सौचालय छैनन् । आर्थिक अभाव छ,’ लग्गाभग्गाका हंशराम रानाले भने, ‘मन त घर मै ट्वाइलेट बनाउने छ नि तर गरिबीका कारण दिशापिसाब गर्न पनि जंगल सम्म जानुपर्ने अवस्था छ ।’ जंगलमा दिसापिसाब गर्न जाँदा सर्प, बाघ र हात्तीको पनि उत्तिकै डर हुने तथा घना जंगल रहेकाले महिलालाई झन् असुरक्षा रहेको उनले बताए ।
नदी कटानको जोखिम
हरेक कुरामा पछाडि परेको सीमावर्ती बस्ती नदी कटानको जोखिममा पनि उत्तिकै छ । वारितिर पालिकाले नदी कटान रोक्नका लागि जैविक तटबन्धन र कतै बाँध बाँधेका कारण मोहना नदीले पारितिरको जमिन कटान गरिरहेको छ । पालिकाहरुले पनि आफ्नै भू-भाग भएपनि पारि भन्दा वारितिरको जमिन जोगाउन जोडबल गरिरहेका छन् ।
मोहना पारी रहेको जनआधारभुत विद्यालयको जग्गा लिजमा लिएर केराखेती गर्दै आएका धनगढी १९, आई गाउँका तिलक चौधरीले नदीले आफ्नो आधाभन्दा बढी नोक्सान गरेको दुखेसो पोखे । पछिल्लो समय मोहना नदीले धार परिवर्तन गरेर निरन्तर नदी पारीको जग्गा कटान गरिरहेको बताए । ‘तीन विघा जग्गामा केराखेती सुरु गरेको हुँ,’ उनले भने, ‘आधा जमिन नदीमै गइसक्यो । लगानी पनि उठाउन सकेको छैन ।’ अझै पनि नदीले निरन्तर जमिन काटिरहेकाले पुरै केराखेती नदीमै जान्छ कि भन्ने पीर परेको उनले बताए ।
उनले विद्यालयसँग वार्षिक एक लाख रुपैयाँमा जग्गा लिजमा लिएर आठ लाख रुपैयाँको लगानीमा केरा खेती सुरु गरेका थिए । नदीपारिनै १० कठ्ठा जग्गामा धान र मुगफली खेती गरेका बेहुलियाका जागुराम चौधरीलाई पनि अहिले जग्गा नजोगिने हो कि भन्ने चिन्ता छ । नदी निरन्तर लग्गाभग्गातिर कटानी गरिरहेको छ,’ उनले भने, ‘नदी छेउकै जमिन नजाला भन्न सकिन्न ।’ अहिले स्थानीय तहले नदीवारि कुश लगाएर जैविक तटबन्ध गरेको छ । जसले गर्दा अहिले मोहना नदी पारीतिरको जमिन कटान गरिरहेको छ ।