देउवा-प्रचण्डबीच वार्ता, मन्त्रिपरिषद् विस्तार आजै हुनसक्ने

काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । बिहान १० बजेअघि सकिएको छलफलमा मन्त्रिपरिषद्लाई पूर्णता दिनेलगायतका विषयमा छलफल भएको थियो ।

यसपछि आजै मन्त्रिपरिषद् विस्तार हुनसक्ने एक माओवादी नेताले मकालुखबरलाई बताए । ‘दुई शीर्ष नेताहरुबीच मन्त्रिपरिषद् विस्तारको बारेमा कुराकानी भएको सुनेँ,’ ती नेताले भने— ‘सायद आजै पनि मन्त्रिपरिषद् विस्तार हुनसक्छ ।’

ती नेताले मन्त्रीहरुको नाम भने अन्तिम भइनसकेको बताए । ‘त्यो काम अध्यक्ष कमरेडले गरिरहनुभएको छ । केहीबेरमा अन्तिम होला,’ ती नेताले भनेका छन् ।

यसअघि बुधबार (हिजो) बसेको सत्तारुढ गठबन्धनको बैठकले मन्त्रीहरुको नाम छनौट गर्न दलका नेतालाई दिएको थियो । यसपछि देउवा–प्रचण्डले आपसमा सल्लाह गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने सल्लाह गरेका हुन् ।

माधवकुमार नेपाल समूहले आफूहरुलाई नपर्खिन र राष्ट्रिय जनमोर्चाले सरकारमा नजाने भनेपछि कांग्रेस, माओवादी र जसपाको साझेदारीबाट मन्त्रिपरिषद्लाई पूर्णता दिन लागिएको हो । प्रधानमन्त्री देउवाले माओवादी र जसपालाई मन्त्रीहरुको नाम दिन आग्रह गरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *