कृष्ण थापाको भएन थमौती
पोखरा । पार्टीको ह्वीपविपरीत काम गरेको आरोपमा कारबाहीमा परेका राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशका पूर्वसांसद् कृष्ण थापाको पद थमौती नहुने भएको छ । उनले ह्वीपअनुसार नै आफूले काम गरेकोले कारबाही सही नभएको भन्दै पद थमौतीको लागि अन्तरिम आदेश माग्दै असार ६ गते सर्वोच्चमा रिट हालेका थिए । तर सर्वोच्चले ‘स्टे अर्डर’ दिनुपर्ने अवस्था नरहेको भन्दै रिट खारेज गरिदिएको हो ।
अन्तरिम आदेश मागेर रिट हालेका थापाको मुद्दामा ११ पटक पेसी सारेर निर्णय दिइएको हो । असार ७ गतेका लागि पहिलो पेसी तोकिएको थियो । त्यसपछि असार ११ गते, १४ गते, १६, २४, २७, २९ र ३१ गतेका लागि सारियो । असारमा फैसला नभएपछि साउन ७ गते र त्यसबाट पनि सारेर बुधबार पुर्याइएको थियो । अन्तरिम आदेशको माग निवेदन खारेज भएपनि कारबाही नै खारेज हुनुपर्ने मागको मुद्दा भने विचाराधीन छ ।
पार्टी ह्वीपअनुसार कांग्रेस नेतृत्वको सरकार गठनमा सहयोग नगरेको भन्दै थापा पार्टीबाटै निष्कासित भएका हुन् । उनले पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार ढाल्न नहुने अडानका साथ विपक्षी गठबन्धनलाई असहयोग गरेका थिए । जनमोर्चाले वैशाख १२ गते संसदीय दलको बैठक बसेर गुरुङको विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो । वैशाख २९ गते विपक्षी गठबन्धनलाई सरकार बनाउने पस्तावमा थापाले हस्ताक्षर गर्न मानेनन् ।
उनले आफ्नो समर्थन नरहेको पत्र प्रदेश प्रमुखलाई बुझाए । सोही पत्रका आधारमा विपक्षीले सरकार बनाउन नसकेको हो ।
ह्वीप उल्लंघन गरेको आरोपमा जनमोर्चाले थापालाई पार्टी सदस्यसमेत नरहनेगरी जेठ २० गते कारबाही गरेको थियो । कारबाही गर्न नपाइने भन्दै उनले २१ गते सर्वोच्च गुहारे । जेठ २३ गते न्यायाधीश चुडालको एकल इजलासले पुरानो निर्णयलाई नयाँ घटनासँग जोडेर सोही ह्वीप लागू हुन नसक्ने भन्दै थापाको कारबाही तत्कालका लागि फुकुवा गर्न र पुरानै पदीय काम गर्न दिन आदेश पठायो ।
जनमोर्चाले भ्याकेट दर्ता गरायो । भ्याकेट उपर सर्वोच्चले कारबाहीलाई सदर गरिदियो । उनलाई असार २९ गते दोश्रो पटक ह्वीप उल्लंघन गरेकै आरोपमा कारबाही गरियो । थापा तत्कालीन मुख्यमन्त्री गुरुङले विश्वासको मत लिँदा तटस्थ बसेका थिए । असार २९ गते विपक्षीले ३१ मत पुर्याएर सरकारको दावी पेस गर्यो । त्यसमा थापाको हस्ताक्षर थिएन ।
थापा पार्टीको ह्वीप उल्लंघन नगरेको तर आफू अन्यायमा परेको भन्दै असार ६ गते पुनः सर्वोच्च पुगेका हुन् । ‘सांसदको एउटा मुद्दामा ११ पटक पेसी सर्छ । सामान्य नागरिकले कसरी न्याय पाउँछन् ?,’ उनले भने, ‘यो अदालत सेटिङ्गमा छ । पार्टीको निर्देशनमा चल्छ । म पार्टी मै नभएको मान्छेले न्याय पाउन गाह्रो छ ।’
- यो पनि पढ्नुस्ः
पार्टीले घृणित चरित्र देखायो– कृष्ण थापा
सांसद पुनःबहाली गर्ने आदेशविरुद्ध विपक्षीको ‘भ्याकेट’
कृष्ण थापालाई पार्टीले फेरि कारबाही गर्छ, सर्वोच्चले कतिचोटी सांसद बनाउँछ हेरौँः चित्रबहादुर केसी
कांग्रेस जिताउन आफ्नो सांसद हटाउने कस्तो कम्युनिष्ट ?
सांसद थापालाई पुनःबहाली गर्न सर्वोच्चको आदेश
पुनः पद स्थापना गरिपाउँ भन्दै सर्वोच्च पुगे कृष्ण थापा