ओलीलाई संसदीय दलको नेताबाट हटाउने कसरत !

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) आन्तरिक विवाद व्यवस्थापनमा तल्लीन छ । यसका लागि अनेकन विकल्पहरूमाथि छलफल भइरहेको छ । तर दुवै पक्षले मान्ने विकल्प अझै तयार हुन सकेको छैन ।

यहिबीचमा संसदीय दलको नेता परिवर्तनको विषयले पनि आन्तरिक छलफलमा प्रवेश पाएको छ ।

वरिष्ठ नेता माधवकुमार नेपाल केपी ओलीलाई जसरी पनि नेतृत्वबाट हटाउन लागि परेका छन् । नेपाल ओलीलाई हटाएर आफू पनि नेतृत्वमा नगई नयाँ पुस्तालाई नेतृत्व सुम्पन तयार भएको उनी निकटका नेताहरू बताउँछन् । यसका लागि उनले अध्यक्ष मण्डल नै बनाउन र त्यसमा आफू नबस्न पनि तयार रहेको नेताहरू बताउँछन् । यसैक्रममा ओलीलाई संसदीय दलको नेताबाट हटाउने विकल्पमा नेपाल पक्ष पनि छलफलमा रहेको एक नेताले बताए । ‘जसरी हुन्छ केपी ओलीलाई नेतृत्वबाट हटाउनुपर्छ । त्यसपछि एमाले एकताको वातावरण बन्छ भन्नेमा वरिष्ठ नेता नेपाल हुनुहुन्छ‚’ उनीनिकट एक नेताले भने ।

बाहिरी दबाब बढाउने
ओलीलाई संसदीय दलको नेताबाट हटाउन बाहिरी दबाबलाई थप बढाउने र आन्तरिक छलफलमा दह्रिलो रुपमा प्रस्तुत हुने वरिष्ठ नेता नेपालले तयारी गरेका छन् ।

ओलीले आफू संकटमा परेपछि एकताको हतारो गरिरहेको मुल्याङ्कन गरेर नेता नेपालले ओलीविरुद्ध दबाब बढाउने र अडानमा दह्रो गरी अडिने बताउने गरेका छन् । ‘ओलीको ‘आममाफी जिब्रो चिप्लिएर निस्किएको होइन, त्यहाँ अहंकार झल्कन्छ,’ नेता नेपाललाई उद्धृत गर्दै ती नेता भन्छन्‚ ‘त्यो अहंकारमा हारको मानसिकता पनि छ र त्यो मानसिकतालाई ठेगान लगाएपछि मात्रै पार्टी एकता हुन्छ । अर्थात्, केपी ओली नेतृत्वबाट हट्नुपर्छ ।’

अध्यक्ष ओलीले वरिष्ठ नेता नेपाललाई पार्टीभित्र पेलेको मात्र नभई व्यक्तिगत रुपमा ओलीले पटकपटक मानमर्दन गरेको, सार्वजनिक ठाउँमै अपमान र लाञ्छना लगाएको तर अहिले आफू अप्ठ्यारोमा परेपछि दोस्रो अध्यक्ष दिन्छु भन्न बाध्य भएको भएपनि एकतापछि आफू बलियो भएर फेरि पेलान शुरु गर्ने भएकाले ओलीको प्रस्तावमा मख्ख परिहाल्नु नहुने नेपाल पक्षको अडान छ ।

‘२८ फागुनमा केपी ओलीले हामी सबैलाई सामूहिक रुपमा निष्कासन गर्ने निर्णय गरेको हो । तर हामीले अर्धविद्रोह मात्रै गर्‍यौँ, अलग पार्टी बनाएनौँ,’ नेता नेपालले भन्ने गरेको उनी निकट ती नेताले सुनाए ।

चुनावअघि ओलीको ठाउँमा अर्कै व्यक्ति
केपी ओलीलाई नेतृत्वबाट हटाउनैपर्ने वरिष्ठ नेता नेपालको जिकिरको अर्को कारण– आगामी चुनाव हो । यहि वर्षको अन्त्यतिरबाट पालिकाको चुनाव सुरु गर्नुपर्नेछ । यदि ओली नै नेतृत्वमा रहिरहे र उनकै हालीमुहाली चलिरहे आफू विरोधी अर्थात् नेपाल पक्षलाई टिकट दिने विषयमा मात्र होइन‚ हराउने/जिताउने कुरामा पनि ओलीले पेल्ने निष्कर्ष नेपाल पक्षको छ । ‘उहाँ (ओली) अति नै इगो लिने व्यक्ति हो, त्यसैले अहिले अलि झुकेको जस्तो देखाएपनि अलि सजिलो पर्नासाथ कठोर भएर पेल्ने निश्चित छ‚ त्यहि भएर पनि गम्भीरतापूर्वक निर्णय लिनुपर्ने अवस्था छ‚’ उनले भने ।

यहि कारण पनि वरिष्ठ नेता नेपालले ओलीको बर्हिगमनलाई पार्टी एकताको पहिलो खुड्किलो भनिरहेका छन् । बरु आफू पनि नेतृत्वमा नरहने र अध्यक्ष ओलीलाई पनि हटाउने उनको रणनीति हो ।

त्यहि भएर नेपालले ‘सहमतिमै ओलीले संसदीय दलको नेतृत्व छाड्ने र नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने’ उपायबारे छलफल थालेका हुन् । आफू पनि दलको नेतामा दाबी नगर्ने उनले बताउने गरेका छन् ।

लगातार आफ्नो समूहका नेताहरुसँग छलफल गरिरहेका नेता नेपालले नेतृत्वबारे छलफल गर्न आफू तयार रहेको बताउने गरेका छन् । साथै ओलीसँगै आफू अध्यक्ष नबन्ने पनि उनले बताएका छन् ।

यदि दुई अध्यक्षमा सहमति भए वरिष्ठ नेता झलनाथ खनाल अर्को अध्यक्ष हुने उनको प्रस्ताव छ । उनको अर्को प्रस्ताव अध्यक्ष मण्डल नै बनाउने भन्ने पनि छ । त्यस्तो अध्यक्ष मण्डलमा ओली, खनाल र वामदेव गौतम रहने नेता नेपालले आफूनिकट स्थायी कमिटी सदस्यहरूसँग बताएका छन् ।

ओली–नेपाल गतिविधि कायमै
एमाले एकताको प्रयास भइरहेपनि अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल पक्षका समानान्तर गतिविधि भने रोकिएका छैनन् । ओली–नेपाल पक्षका छुट्टाछुट्टै गतिविधि कायमै छन् । त्यस्ता कार्यक्रमहरूमा उनीहरू अर्को पक्षका नेतालाई तल्लो स्तरका गालीगलौच गरिरहेका देखिन्छन् ।

एमाले एकताका लागि कार्यदल स्तरमा १० बुँदे सहमति भएको छ । सहमति जुटाएको एमाले वार्ता कार्यदलमा रहेका नेपाल पक्षका नेताहरूले पनि ओली र नेता नेपाल नरहेर एमाले एकता प्रक्रियाले पूर्णता नपाउने तर्क गरिरहेका छन् ।
गएको २७ असारमा दुवै पक्षका दोस्रो तहका नेताहरू सम्मिलित १० सदस्यीय कार्यदलले १० बुँदे सहमति गरे पनि एमाले विवाद भने हल हुन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *