बाढी पीडितका पीडा: आफैँ घर भत्काएर भाग्यौँ
धनगढी । कैलालीको भजनी नगरपालिकाका वडा नम्बर ५ का आशाराम चौधरी र उनका भाइ बुधराम चौधरीको घर स्थानीय कान्द्रा नदी छेउमै थियो । केही वर्षयता नदी बस्तीतिर सर्दै थियो । घर नदीमा जाने हो कि भन्ने चिन्ता लागिरहेकै थियो उनीहरुलाई । नभन्दै यस वर्षको वर्षामा कान्द्रा नदी दाइभाइकै घरमा आयो । तर नदी पुग्नुभन्दा अगाडि उनीहरुले घर भत्काए ।
घरमा भएको केही खाद्यान्न, घरको काठ, छानोमा लगाएको टिनलगायतका सामग्री जोगाए । तर आफ्नो घर भएको जमीन भने जोगाउन सकेनन् । आशारामको भन्दा अगाडि नदीतर्फ भाइ बुधरामको घर थियो । नदी घर नजिकै आइरहको थियो । तर घरमा भाइ थिएनन् । उनी कामको सिलसिलामा सुर्खेतमा थिए । नदी घरतर्फ तेर्सिएपछि उनले भाइबुहारी गीतासँग सल्लाह गरेर घर भत्काए । घर भत्काएपछि भाइको परिवारलाई त्यो दिन आफ्नै घरमा राखे आशारामले । घर भत्काएकै दिन नदीले भाइको घर भएको जमीन पनि बगायो । उनको घर भएको जमीन अहिले नदीमा पर्छ । घरको अगाडिको नल्का हालेको ठाउँ अहिले नदीको बीचमै पर्छ ।
‘हाम्रो नल्का ऊ त्यहिँ थियो,’ औँलाले देखाउँदै बुधरामकी श्रीमती गीता भन्छिन्, ‘धन्न आफू बाच्यौँ, तर जमिन गयो ।’ अहिले गीताको पाँच जनाको परिवार उनकै माइतीको शरणमा छ । भाइको घर भत्काए पनि आफ्नो घर त जोगिएला कि भन्ने आशा थियो आशारामलाई तर‚ भर थिएन । भाइको घर भत्काएको पछिल्लो दिन नै उनले आफ्नो घर पनि भत्काउनुपर्यो । हेर्दाहेर्दै उनको घर भएको जमीन पनि नदीले लगिछाड्यो । भाइको घर लागेको पूरै जमीन नदीमा छ भने आशारामको चार/पाँच धुर जमीनमात्रै बँचेको छ । बाँकी जमीन पनि नदीले बिस्तारै काटिरहेको छ । उनले ५ गते भाइको घर भत्काएका थिए भने आफ्नो घर ६ गते भत्काए । दुई भाइको गरेर दुई कट्ठा जमीन नदीमै गयो ।
घडेरी नै नदीमा गएपछि अहिले उनीहरू बिचल्लीमा परेका छन् । बाढीले गर्दा घर भत्काउनुपरेपछि अहिले उनीहरू आफन्त र छिमेकीको शरणमा छन् । आशारामका श्रीमती, छोराबुहारी, नातीलगायतको ६ जनाको परिवार नै मामा घरमा बस्न बाध्य छ । घरमा बचेको खाद्यान्न ओल्लो/पल्लो घरमा राखेका छन् भने घरका काठ, टीनलगायतका सामग्री सडकमै फालेका छन् । उनको भाइ बुधराम अझै घर फर्किएका छैनन् भने गीता छोराछोरीसहित माइतीकै शरणमा छिन् । कान्द्रा नदीको बाढीले गर्दा आशारामको परिवार नै बिचल्लीमा परेको छ ।
फेरि सुकुम्बासी
आशाराम र बुधरामका बाजेले २०३९ सालमै सुकुम्बासी आयोगबाट आठ कट्ठा ऐलानी र दुई कट्ठा नम्बरी जमीन पाएका थिए । पछि उनका बुबाका दुई भाइलाई भाग हाल्दा एक/एक कट्ठा नम्बरी जमीन र चार/चार कट्ठा ऐलानी जमीन भाग पर्यो । बुबालाई भाग परेको त्यही जग्गा दुई भाइलाई भाग हाल्दा आधा/आधा कट्टा नम्बरी र दुई/दुई कट्ठा ऐलानी जमीन भाग परेको थियो ।
दुवै भाइले नम्बरी जग्गामा घर लगाए । त्यहाँ बस्ती र केही उच्चो जग्गा भएकाले त्यहाँ बस्ती बसेको थियो । तर यस वर्षको नदीले दुवै भाइको जमीन बगाइदिएपछि उनीहरू घरबारविहीन बन्न पुगेका छन् ।
उब्जनीका लागि दिएको जग्गा पनि खल्लामा पर्छ । त्यहाँ जहिल्यै डुबान हुन्छ । सुकुम्बासी आयोगले अधिकांशलाई खल्ला भएकै ठाउँमा उब्जनी गर्ने जग्गा वितरण गरेको थियो त्यतिबेला । बचेको खेत गरिखाने दुई/दुई कट्ठा जमीनमा पनि घर लगाएर बस्ने अवस्था छैन । उनीहरू अब सडकमा आएका छन् । ‘अर्काको घरमा कतिञ्जेल बस्न सकिन्छ र,’ मलीन अनुहार बनाउँदै उनी दुखेसो गर्छन्, ‘सरकारले न नदी कटान रोक्न पहिले हेर्यो, न अब घरबास नै नरहेपछि हेर्छ ।’
दुई परिवार विस्थापित भइसकेको र त्यहाँ रहेका अन्य परिवार पनि विस्थापित हुने अवस्था आइपुगेका छन् । ‘हामी घरबारविहीन हुँदासम्म नगरपालिकाले कम्तीमा पाल, झुलसम्म त दिनसक्नुपर्थ्यो‚’ आशाराम भन्छन् । नदीले बस्ती नै उजाडिने अवस्था आइसक्दा पनि यस वर्ष कोही पनि गाउँको अवस्था बुझ्न नआएको उनीलगायत स्थानीयको गुनासो छ । ‘मेयरले आफ्नो ठाउँ हेर्छन्, वडाध्यक्षले आफ्नो,’ आशारामकै छिमेकी लक्ष्मण चौधरी भने, ‘हामीलाई कसले हेरोस्, हेरिदिनुहोस् भन्दा पनि हेर्दैनन् ।’ लक्ष्मणको घर पनि नदी किनारमै छ । फेरि केही दिन पानी पर्यो भने उनीलगायत त्यहाँ रहेका अन्यको घर पनि रहने अवस्था छैन । त्यहाँ नदी छेउमा रहेका आठ घर नदी कटानको उच्च जोखिममा छन् ।
रातभर जाग्राम
यस वर्ष साउन महिना सुरु भएसँगै सुदूरपश्चिम प्रदेशमा एक हप्तासम्म लगातार वर्षा भयो । जसले गर्दा कैलालीका पनि विभिन्न ठाउँ डुबानमा परे । कैलाली जिल्लामै सबैभन्दा बढी डुबान र कटानको जोखिममा पर्ने क्षेत्र हो भजनी । गतवर्ष धनजनको क्षति व्यहोरेको ठाउँ पनि हो भजनी । कान्द्रा नदीले यहाँ यस वर्ष पनि कटान गर्न बाँकी राखेन । यद्यपि गतवर्ष जस्तो बाढी र डुबान भने अझै भएको छैन भजनीमा । तर पनि बर्सेनि धार परिवर्तन गर्दै आएको कान्द्रा नदीले बस्ती कटानलाई भने तीव्र पार्दै आएको छ । यसकै चपेटामा परेका हुन् आशारामका दुई भाईसँगै त्यहाँका बासिन्दा । आशारामका दुई भाइले घर नै भत्काउनुपर्ने अवस्था आयो भने अन्यलाई अहिले हो कि पछि जस्तै भएको छ ।
नदी किनारमा अझै २० घरजति कटानको जोखिममा छन् । त्यसमध्ये पनि अहिले तीव्र कटान पारिरहेको स्थानमा भने ८ घर नदीमै जाने अवस्थामा पुगिसकेका छन् । उनीहरूलगायत त्यहाँका बासिन्दा बर्खा लाग्यो भने रातभरि सुत्दैनन् । उनीहरूका आँखा ओभानै रहन्छन् हिजोआज । ‘राति पानी परेपछि रातभर सुत्दैनौँ,’ स्थानीय लक्ष्मी चौधरीले भनिन्, ‘बच्चाहरूलाई सुताएर रातभर जागराम बस्छौँ । नदीले भएको घरबास पनि बगर भयो भने २० जनाको परिवार कहाँ गएर बस्ने भन्ने चिन्ता छ ।’
उनीहरूको पनि दुई कट्ठा घरबासबाहेक अरु जग्गा छैन । अरुको खेत अदिया बनाएर जीवन गुजारा गरिरहेका छन् उनीहरू । स्थानीय सत्तु चौधरीको घर पनि नदीछेउमै छ । ‘नदी घर आँगनमै आइसक्यो,’ उनले भनिन्, ‘घर जोगिएला भन्ने आशा छैन । न सरकारले हेर्छ ।’ कान्द्रा नदीले बस्तीभन्दा माथिबाटै पश्चिमतिर कटान तीव्र पारिसकेको छ । बलौटे माटो भएको सो स्थानमा नदीले सजिलै बस्ती कटान गरिरहेको छ ।
सडक पुरै नदीमा गइसकेको छ । पहिले हालेको तटबन्ध पनि अहिले नदीको बीचमा परेको छ । ढुंगासहितको तारजाली नदीमा देख्न सकिन्छ ।