वंशावली र नागरिकतामा पुरुषनीति : आमा नअटाउने वंशावली

प्रतिनिधि सभाअन्तर्गतको राज्यव्यवस्था समितिको बैठकमा नागरिकता विधेयकमाथि छलफल चलिरहँदा एक सांसदले भने ‘पुरुषलाई जत्तिकै अधिकार महिलालाई पनि दिइयो भने समाजमा अराजकता फैलन्छ ।’ त्यसको प्रतिवादमा केही महिला सांसदले भने‚ ‘संविधानले दिएको अधिकार कुण्ठित गर्न पाइँदैन । अर्थात् संविधानको मर्मअनुसार आमा वा बुबाको नाममा नागरिकता दिने व्यवस्था गर्नुपर्छ ।’ तर नेपाली नागरिक महिला र पुरुषले जन्माउने बच्चालाई समान आँखाले हेर्न कि नहेर्ने भन्ने विषयमा सहमति हुन नसकेका कारण अझैपनि यो विधेयकमाथिको छलफल टुंगिएको छैन ।

जसलाई जनताले निर्वाचित बनाएर संसदमा पठाएका छन्, उनीहरूमध्ये अधिकांश एउटै अडानमा छन् – ‘भान्जाभाजी’ (नेपाली आमाबाट जन्मिएका छोराछोरी) लाई नागरिकता दिनुहुँदैन । कारण: ‘नेपाली पहिचान खतरामा पर्छ ।’

२०७२ सालमा जारी भएको नेपालको संविधानको धारा ३८ को उपधारा (१) मा प्रत्येक महिलालाई लैङ्गिक भेदभावबिना समान वंशीय हक हुनेछ भनी उल्लेख गरिएको छ । संविधानको धारा १२ मा ‘नेपालको नागरिकता प्राप्त गर्ने व्यक्तिले निजको आमा वा बाबुको नामबाट लैङ्गिक पहिचानसहितको नेपालको नागरिकताको प्रमाणपत्र पाउन सक्नेछ’ भन्ने उल्लेख छ । यसरी प्रष्ट रुपमा बाबु वा आमाको नामबाट नागरिकता जारी गर्न सक्ने भनेर लेखिएको संविधान जारी भएको ६ वर्षमा पनि नागरिकता ऐन बन्न सकेको छैन । अपवादबाहेक नेपाली आमाबाट जन्मिएका छोराछोरीले बाबुको नाम उल्लेख नगरी आमाको नामबाट मात्रै नागरिकता पाउन सकेका छैनन् ।

मैले यहाँ नागरिकताको विषय उठाएपनि अब म नागरिकताको जग वंशावलीतर्फ लाग्छु । नेपालमा अहिले अधिकांश थरको वंशावली बनिरहेको छ । केहीले सार्वजनिक गरिसके, केही बनाउने क्रममा छन् । नागरिकताले अब आउने नयाँ पुस्तालाई प्रत्यक्ष समेट्छ भने वंशावलीले पहिलेका र आउने दुवै पुस्तालाई समेट्दै लैजान्छ । पुर्खा पहिचानका लागि बनाउने गरिएको वंशावली र राष्ट्रियता पहिचानका लागि बनाइने नागरिकताको प्रमाणपत्रको सन्दर्भमा नेपालमा भने एउटा समानता देखिन्छ । त्यो हो ‘पुरुष प्रधानता’ ।

वंशावलीमा पनि पिता पुर्खाको पहिचान खोजिएको छ । पिता पुर्खा खोज्नेक्रममा काखमा खेलिरहेका छोरी, नातिनी, आफैँलाई जन्माउने आमा, तिनका वंश बढाउन छोराछोरी पाइदिने पत्नी, बुहारीको नाम राखिँदैन । अझ प्रष्ट भन्दा स्त्री लिङ्गीको नाम समावेश नगरी वंशावली बनाउने क्रम जारी छ । जसका कारण माता पूर्खाको बेवास्ता मात्र गरिएको छैन । वंशावलीमार्फत् नामेट पार्ने कोसिस गरिँदैछ ।

विश्वका जुनसुकै कुनामा बसेका पिता पुर्खाको सन्तान खोज्ने वंशावलीले माता पुर्खालाई किन समावेश गरेको छैन त ? धेरै वंशावली बनाउने अभियन्ताले दिने समान उत्तर ‘आमातिर जान थाल्यो भने अलि भद्दा हुने रहेछ ।’

अहिले नेपाल थरको वंशावली बनाउदै गरेका चुडामणि नेपालले वंशावली आमाहरूलाई समेट्दा किन भद्दा हुन्छ भनेर प्रष्ट्याउनुभयो‚ ‘पाँचौं पुस्तासम्मका पुर्खाको विचार गर्दा वर्तमान पुस्ताको ‘क’ भन्ने व्यक्तिका पाँचौं पुस्ताका हजुरबा र हजुरआमा १६ जना हुने रहेछन् । ‘क’ भन्ने व्यक्तिका आफूभन्दा पुराना पाँचौं पुस्तासम्मका बा-आमा तथा हजुरबा-हजुरआमा ३० जना हुने रहेछन् । अर्थात् पुरुषतर्फको मात्रै लहरोलाई आधार मानेर वंशावलीको विचार गर्दा एउटा मात्रै लहरो हुने अवस्था रहेछ भने पुरुष र महिला दुवैतर्फको लहरोलाई आधारका रुपमा हेर्दा वंशावलीका कैयौं लहराहरू हुने रहेछन् । यसैगरी ‘क’ भन्ने व्यक्तिका दशौं पुस्तासम्मका पुर्खाहरूको ५१२ वटा लहरा हुने रहेछन् । त्यसमा २५६ जना १० औं पुर्खाका हजुरआमा र २५६ जना १० औं पुर्खाका हजुरबाहरू हुने रहेछन् । ‘क’ भन्ने व्यक्तिका बाबु-आमासहित सबै हजुरबा हजुरआमाहरू १ हजार २२ जना हुने रहेछन् । यसरी पुर्खाको तह बढ्दै जाँदा हजुरबा हजुरआमाहरूको संख्या पनि ज्यामितीय अनुपातमा बढ्दै जाने रहेछ । यसको अर्थ वंशावलीमा विचार गर्दा बाबु र आमा अर्थात् पुरुष र महिला दुवैलाई आधार मानेर हेर्ने हो भने आफ्ना पुर्खा पत्ता लगाउने कुरा धेरै जटिल र असंभवप्रायः हुने रहेछ ।’

उहाँको ज्यामितीय अनुपात हेर्दा लाग्यो- वंशावली बनाउने काम सहज छैन । तर के सहज छैन भन्ने तर्ककै भरमा आफ्ना माता पुर्खा छोड्न न्यायसंगत हुन्छ त ? छोराछोरी जन्माउन‚ हुर्काउन सहज छैन भनेर आमा पुर्खाले नजन्माएको भए तपाईं हाम्रो अस्तित्व कहाँ रहन्थ्यो ?

हुन त केहीले वंशावलीमा आमा र छोरीको नाम पनि समावेश गरेको देखिन्छ । तर सबैको वंशावलीमा अनिवार्य रुपमा होइन‚ पहुँच र पहिचानका आधारमा मात्रै समावेश छन् । अनि छोरीपछिका सन्तान‍… ? उत्तर एउटै आउँछ- समेट्न गाह्रो छ ।

अझ सन्तान बराबर हुन् भनेर छोरीमात्र जन्माएका बाबु आमाको त तेस्रो पुस्तामा पुग्दा वंशावलीबाटै वंश लोप हुनपुग्छ । छोरीमात्रै जन्माउने बाबुको त वंशावलीले सन्तानको पहिचानसमेत नामेट पारिदिन्छ । मतलव ती छोरीहरूको अस्तित्व नै वंशावलीले अस्वीकारमात्र गरेन‚ बरू नामेटै गरिदियो । त्यस्तो वंशावली हेर्दा के लाग्दो हो छोरीहरुलाई र आमाहरुलाई ?

छोरीलाई नै आफ्नो सन्तान मानेर छोरा नजन्माएका तर वंशावलीप्रति लगाव हुनेहरूका लागि आफ्नो काखमा छोरी र छोरीपट्टीका नाती नातिनी खेलिरहेको बेला वंशावलीले नामेट पारिदिएको वंशावली चित्र हेर्दा मनमा के खेल्दो हो ?

दाहाल थरको वंशावली लेखिने क्रममा थियो । करिब ९ वर्षअघि मैले भाषाविद् बालकृष्ण पोखरेलाई वंशावलीबारे जिज्ञासा राख्दा उहाँले भन्नुभयो‚ ‘तपाईं दाहाल, दाहालको वंशावली खोज्दै जाँदा बुध ग्रहसँग जोडिन्छ, तपाईंहरूको स्वभाव बुध ग्रहसँग मिल्दोजुल्दो हुन्छ ।’

जातबारे पनि गहिरो अध्ययन गरेका भाषाविद् पोखरेलले अहिले नेपालमा हालीमुहाली गरिरहेका थर, जात जो छन्‚ उनीहरुको उत्पति नेपालबाट नभएको र उनीहरुका पिता पुर्खा नेपालमा मात्र नभएको जानकारी दिनुभयो । गहिरो गरी खोज्दै जाने हो भने भाषिक भिन्नताका आधारमा उनीहरूलाई गरिने सम्बोधन, थरमा केही फरक भएको होला (उहाँकै भाषामा जस्तै उही पिता पुर्खाबाट आएकामध्ये नेपालमा भएकाहरू दाहाल लेख्लान्, बेलायत वा अमेरिकामा ड्याहाल लेख्लान् ।) तर जो जहाँ भएपनि मानिसको उत्पतिको बिन्दु भने ग्रहहरूसँग पुगेर टुंगिने उहाँको दाबी छ ।

विद्वान पोखरेलको अध्ययनलाई मान्ने हो भने नेपालमा भएका कुनैपनि जातजाति र थरको उत्पति नेपालमा भएको होइन । हाम्रा पिता पुर्खा कहिँबाट आएका हुन् । आमातिरबाट वंशावली खोज्न ‘जटिल र अलि झन्झटिलो हुन्छ’ भन्ने कुरा मानौँला । अप्ठ्यारो होला । तर पिता पुर्खाको पहिचान खोजिरहेका अभियन्ताका लागि अध्येता पोखरेलले निकालेको निश्कर्षमा पुग्न कति सजिलो हुन्छ ?

नेपालमा नागरिकता र वंशावलीलाई अधिकांशले नेपालको सनातन ‘हिन्दू’ धर्मसँग पनि जोडेर कुरा गर्ने गरेका छन् । अर्थात् पितृत्वको कुरा । निर्णयसिन्धु (हिन्दू संस्कारहरू निर्णयसिन्धुमा उल्लेख भएअनुसार गरिन्छ ।)का अनुसार पितृ कर्मका लागि भने छोराका सन्तानभन्दा छोरीका सन्तानको जिम्मेवारी बढी तोकेको छ । छोराका छोराले हजुरबा र जिजुबालाई मात्र पिण्ड दान दिनुपर्ने नियम छ भने छोरीका सन्तानले हजुरबा, जिजुबा र जिजुबाका बालाई पनि पिण्ड र तर्पण दान गर्नुपर्ने उल्लेख छ । अर्थात् अहिले पनि छोरातर्फका भन्दा छोरीतर्फका सन्तानले पितृकर्म बढी गर्नुपर्ने उल्लेख छ । र व्यवहारमा पनि लागू छ ।

यसरी हेर्दा सनातन धर्मले छोरा या छोरीलाई कुनै भेद गरेको छैन । लिङ्गको पहिचानका आधारमा उनीहरूबाट जन्मिएका सन्तानको अधिकारमा पनि भेद छैन । बरू छोरीकै सन्तानलाई बढी जिम्मेवारी तोकेको देखिन्छ ।

तर त्यसैको हवाला दिँदै नेपालमा छोरा र छोरीप्रति गरिने व्यवहारमा भने निक्कै विभेद गरेको देखिन्छ । जसका कारण कतिपय अवस्थामा महिलालाई ‘घर र माइती’प्रति अपनत्व महसुस हुन सकिरहेको छैन । जस्तो कि‚ म, मेरी आमा, हजुरआमा, दिदी, भाउजु, छोरी कोही पनि कुनै पनि थरको, जातको वा गोत्रको वंशावलीमा अटाउँदैनौँ । अटाएका छैनौँ । वंशावलीमा नअटाउने हाम्रो हामी बसेकै घरमा के अस्तित्व छ होला ?

जसले हामीलाई आफ्नो हो भनेर महसुस नै गर्दैन, उनीहरुको समूहमा हाम्रो नाम अटाउँदैन । हामीले त्यही जात, थर, गोत्र र परिवारको हो भनेर किन गर्व गर्ने ?

मेरो श्रीमानको थरमा बनिरहेको वंशावलीमा मैले जन्माएको छोरोको नाम राखिन्छ । उही काखमा खेलिरहेकी छोरीको नाम राखिँदैन । मेरी छोरीले ‘आमा ! वंशावलीमा मेरो नाम किन नराखेको ?’ भनेर प्रश्न गरिन् भने मैले के उत्तर दिने ? कि ‘मेरो हजुरआमाले छोरी मान्छेले धेरै जान्न खोज्नु हुँदैन’ भनेर चुप लगाएकै तरिका अपनाउने ? या हामी छोरीहरूको जात, थर, गोत्र, धर्म हुँदैन‚ त्यसैले तिम्रो हजुरबा, मामाको नाम अटेको वंशावलीमा मेरो नाम राखिएन र तिम्रो दाइ र बाको नाम अटेको वंशावलीमा तिम्रो नाम नराखेको हो भनेर बुझाउने ?

एउटा अटाउने अर्को नअटाउने ? यस्तो विभेदमा छोरीहरूले कसरी आफ्नो कथित ‘वंश’मा विश्वास गर्न सक्छन् । जहाँ जन्मेको घरदेखि आफैँले सिर्जना गरेको (श्रीमानको) घरमा समेत उनीहरूको अस्तित्वलाई स्वीकार गरिँदैन ।

हो‚ यही कुरा नागरिकतामा पनि लागू हुन्छ । जन्माउने आमा, हुर्काउने आमा तर त्यही आमाले छोराछोरीलाई आफ्नो नामको नागरिकता दिन्छु भन्दा कानूनले किन स्वीकार नगर्ने ? भनिन्छ नि ‘छोराछोरीको बाबु त विश्वासमात्रै हो तर‚ आमा सत्य हो ।’ हो‚ त्यही सत्य स्वीकार गर्न ‘पुरुष (पुरुष मानसिकता भएका महिला समेत) प्रधान समाज वा हाम्रो नेपाली समाज किन तयार छैन ?’ किन नेपाली नागरिक महिलाका सन्तानलाई नागरिकता दिँदा नेपाली पहिचान नै संकटमा पर्छ भन्ने मान्यता राख्छ ?

हो‚ यही मान्यता राख्ने नेताज्यू, अध्येताका अनुसार तपाईँ पनि कहीँबाट आयातीत नै हुनुहुँदो रहेछ । तपाईँले नागरिकता पाउँदा संकटमा नपरेको राष्ट्रियता महिला नागरिकको सन्तानलाई नागरिकता दिँदा कसरी संकटमा पर्छ ?

प्रतिक्रिया

One thought on “वंशावली र नागरिकतामा पुरुषनीति : आमा नअटाउने वंशावली

  1. मैले २०४१ सालतिरै भट्टराईको वंशावलीका लागि नामनामेसी बटुल्ने टोलीलाई बालसुलभ जिज्ञासा राखेको थिएँ – आमा हजुरआमाको नाम किन लिनुहुन्न? झापाका चन्द्रप्रसाद भट्टराई हुनुहुन्थ्यो इलाम पुग्नुभएको मेरो यो प्रश्नले उहाँलाई निकै प्रभाव परेछ । नाति टाठो छस् टाठोपन कायम राख पछि थाहा पाउँछस् कुरा भन्नुभो । मैले उहाँलाई ठ्याक लगाइदिएँ – बाले श्राद्ध गर्दा त हजुरआमा जिजुहजुर र बडाजिजुहजुर आमाको नाम लिनुहुन्छ त? यता बुबाका मावलीतिर पनि हजुरआमाहरूको तीन तहको नाम आउँछ । उहाँ निरुत्तर हुनुभयो । पछि के भएछ अहिले निस्कन थालेका भट्टराई वंशावलीका पुस्तकमा चाहिँ भेटिएसम्मका आमाहरू र छोरीहरूको नाम लेखिएको पाएको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *