४ पूर्वमाओवादी नेताको मुद्दामा सुनुवाइ स्थगित

काठमाडौं । सर्वोच्च अदालतमा चारजना ‘पूर्वसांसद’ले पद पुनःबहालीको माग गर्दै दायर गरेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । रिट निवेदकको निवेदन परेपछि शुक्रबार न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा तोकिएको पेसी स्थगित गरिएको हो । रिट निवेदक प्रभु साहका वारेश वीरेन्द्रप्रताप साहले सुनुवाइ स्थगित गर्न निवेदन दिएका थिए ।

उक्त रिट निवेदनको अर्को पेसी आइतबार तोकिने सर्वोच्च अदालतले जनाएको छ । यसअघि उक्त रिट निवेदन न्यायाधीश दीपककुमार कार्कीको इजलासमा बिहीबारका लागि पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ मा राखिएको थियो ।

एमाले स्थायी कमिटीमा रहेका लेखराज भट्ट र टोपबहादुर रायमाझी, केन्द्रीय सदस्य प्रभु साह र गौरीशंकर चौधरीले माओवादी दलमा रहँदा निर्वाचित भएको सांसद पद पुनःबहाली माग गर्दै सर्वोच्च बुधबार रिट दायर गरेका थिए । उनीहरूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, संघीय संसद् सचिवालय, निर्वाचन आयोगलगायतलाई विपक्षी बनाएर मुद्दा दायर गरेका थिए ।

सांसद पदबाट मुक्त गराउने विपक्षीका निर्णय बदरको माग गर्दै उनीहरूले रिट दायर गरेका थिए । माओवादी संसदीय दलका नेता दाहालले ०७७ चैत २४ गते संघीय संसद्का महासचिवलाई पत्र लेखेर चार सांसदलाई पार्टीले कारबाही गरेको र दल त्याग गरेको जानकारी दिएका थिए ।
त्यसको दुई दिनपछि सभामुखले उनीहरूको पद रिक्त भएको जानकारी सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *