लौरो बिर्सियो (कविता)
भोको पेट यहाँ सहारा उही हो, लौरो बोकी हातमा
उसैको भरमा छिचोली बन जो, पारै भयौ रातमा
आयो जंघार भेलको ऊ गहिरो लौरो समाई तर्यौ
बिर्सियौ अहिले चटक्क लहुरो, मोटाई टाढा सर्यौ ॥१॥
पारीतिर महाँ पुगेर चटकी, पोषाक त्यो पैरियौ
भोटो बिर्सिदियौ र कोट मिलिगो, निजीतिरै वैरियौ
नुनको सोझो कता घुनै बनी रह्यो,सुनै थुपार्दो भयो
तरे जंघार पूर्ण भो सब कुरा, लौरो सहारा गयो ॥२॥
सुदामा दुनिया रुँदा पनि हरे, चिन्दै नचिन्ने भयो
आफू बन्न गयो, खुसी भई रह्यो, गुन् सुनले पो लग्यो
यन्त्रैमा उड्ने, उतै छ गुड्ने, स्वर्गै खोजी ऊ बढ्यो
जंघार पार भयो, हरे छोडी गयो, लौरोतिरैमा सड्यो ॥३॥
सहारा जसको बनेर ऊ हिजो, साथी बनी पार भो,
आवश्यक अहिले परेन लहुरो, तिम्रो वाहन कार भो,
नेतामा गनिए, सुगन्ध बनिए, सलामी खाँदा भए,
आवश्यक नदेखी चुनाव विजयी, लौरो सडाई गए ॥४॥
गाउँमा न त युवकै घर रह्यो, लाईसेन्स दियौ लिई गयो
लोक्तन्त्रै देखियो, प्रत्यक्ष देखियो , बस्ती ऊ नाङ्गो भयो
अभागी हुन गो, सडेर रहिगो, नाउँ त बाङ्गे रह्यो
झटारो जसमा बनाई रुखको, आँपै खसाउने भयो ॥५॥